फलमाउथका स्थानीयलाई निःशुल्क खाना खुवाउँदै सेढाइँ दम्पति

तस्विर : फेसवुकबाट हेमकान्त र सीता सेढाई

फालमाउथ (कर्नवल) । बेलायतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि गत मार्चको अन्तिम साता बेलायत लकडाउन गर्ने प्रधानमन्त्री बोरिस जोनसनले घोषणा गरे । कोरोना भाइरस (कोभिड १९)को महामारीबाट प्रभावित हुने डर र त्रासमा यहाँस्थित मानिसहरु आत्तिए । सबैतिर लकडाउन भएर मानिसहरु आत्तिएका बेला एक जना नेपालीले अंग्रेजलाई दुःखमा साथ दिने निर्णय गरे । आफ्नी जीवन संगिनी सीता सेढाईसँग परिवारिक सल्लाह गरे । जीवनसाथी सीताको साथ र सहयोगले आफ्नो रेस्टुरेन्ट बाल्टी करीको व्यवसायलाई केही समय खोली स्वास्थ्य क्षेत्रमार्फत मानव सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीहरुलाई निःशुल्क खाना बाँड्न थाले । जसमा स्वास्थ्यकर्मीहरुसहित होमलेस र आर्थिक रुपमा कमजोर व्यक्तिहरु थपिए ।
अहिले उनी हरेक आइतबार सित्तैमा खाना बाँड्छन् ।
हरेक शनिबार बिहान १० बजेसम्म रेस्टुरेन्टको आधिकारिक फेसवुक पेजमा जति जनाले टेक वे लिन आउने निश्चित गर्छन् । ती सबैलाई भोलिपल्ट अर्थात आइतबार साढे १२ देखि तीन बजेसम्म एक व्यक्ति एक टेक वे का दरले निशुल्क खाना दिन्छन् । जसमा भेज वा ननभेज खाना दुवै समावेस छन् । त्यसका लागि हेमकान्त आफैँ किचनमा आएर खाना बनाउँछन । त्यो खानालाई फालमाउथकै स्थानीय कर्मचारीले प्याकिङ गरेर बाँड्छन् । उनले वीनेपालीसँग भने, ”फ्रि टेक वेका लागि अहिलेसम्म एकैदिनमा ६८ जनासम्म आएका छन्।” यसबाहेक फालमाउथ क्षेत्रमा खटिएका प्रहरी र फायर ब्रिगेडका कर्मचारीहरुले पनि उनको रेस्टुरेन्टबाट सित्तैमा खाना लान पाउँछन् ।

उनलाई निशुल्क खाना बाँड्ने सोच कसरी आयो त ? केही साताअघि कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट भाइहरु अनिल र होमराज सेढाई तथा बुहारी मीरा सेढाई संक्रमित भएर अस्पताल भर्ना भएपछि उनको मन आत्तियो । ”कोरोना उपचारमा बेलायतका स्थानीय मानिस बाहेक जातीय अल्पसंख्यकमध्ये खासगरी एसियनलाई अस्पतालमा वास्तै गर्दैनन् रे” भन्ने हल्ला सुनेका उनलाघ लाग्यो, ”कतै उपचार नपाएरै दुई भाइ र बुहारीको निधन त हुने होइन ?” उनले भने, ”घरको जेठो छोरो भाइहरु र बुहारीको जिम्मेवारी लिएको म । यिनीहरुलाई के भयो भने ?” यतिबेलै उनको मनमा सोच पलायो समाजमा एउटा एसियन मूलको मानिसले यहाँका स्थानीय मानिसहरुको मन कसरी जित्न सकिन्छ भन्ने । अनि उनले सोचे आफूसित जे छ त्यहीबाट शुरु गर्ने । आफूहरुको जस्तै सोच अरुको पनि भैदिए समाजबाट जातीय भेदभाव हटाउन सकिन्छ भन्ने सन्देश दिन उनी निशुल्क खाना बाँडिरहेका छन् ।

आखिर उनले सोचे जस्तो भैदियो । दुई भाइ र वुहारी निको भएर फर्के । उनी दंग परे । चितवनको सामान्य परिवारबाट बेलायत आएर यहाँका स्थानीयवासीहरुलाई दुःखमा थोरै भए पनि साथ दिए पाएकोमा उनी खुसी छन् । त्यो भन्दा बढी आफ्ना सन्तान कोरोनाबाट जोगिएकोमा पारिवारिक सुख अनुभूति गरिरहेका छन् ।
सेढाइँ लगायत बेलायतमा अरु पनि नेपाली मूलका क्याटरिङ व्यवसायीहरुले यहाँका स्थानीय बासिन्दाहरुलाई निशुल्क भोजन गराइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री