कोरोनाविरुद्ध अमेरिकी कम्पनीको खोपको मानव परीक्षण शुरु

एजेन्सी। अमेरिकी ओैषधि उत्पादन कम्पनी नोभाभाक्सले कोरोना भाइरसविरुद्ध बनाएको खोपको मानव परीक्षण शुरु गरेको छ ।

कम्पनीले यसै वर्षको अन्त्यसम्ममा खोप तयार गर्ने उद्देश्यका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।

परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिइनेछ र यसको प्रभावकारिता संकेतहरूको मापन गरिने कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले बताए ।

कोरोनाभाइरस विरुद्ध विश्वभर एक दर्जन खोपहरू अहिले परीक्षणका क्रममा छन् । प्रायः यी खोपहरू चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् ।

ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै, “हामी समानान्तर डोज बनाउँदैछौं र हामीले यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौं”, भने । पशुहरूमा गरिएको परीक्षणमा यो खोपको नतीजा प्रभावकारी देखिएको छ । नोभाभाक्सले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा साढे एक अर्ब डोज उत्पादन गर्न सकिने बताइएको छ ।

एनभिएक्स–कोभ२३७३ नाम दिइएको यस खोपको उत्पादन गर्न गत मार्चयता नर्वेस्थित एक संस्थाले ३८ करोड ८० लाख डलर लगानी गरेको छ । मेलबोर्न र ब्रिस्बेनमा भइरहेको परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा प्राप्त हुने अपेक्षा गरिएको छ । धेरैवटा मुलुकका अरु हजारौं व्यक्तिलाई दोस्रो चरणमा समावेश गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री