नेपालमा कोभिड १९ ब्यवस्थापनमा विचारणीय पक्षहरु

डा. पुरुषोत्तम पौडेल

विश्व महामारीको रुप लिएको नोबल कोरोना (nCovid 19) बाट सन्सारका सबै देश र समुदायहरु प्रभावित भएकाछन् । यो सुक्ष्म भाईरस SARS (Severe Acute Respiratory Syndrome) समूहमा पर्दछ । मुख्य त यस समूहको भाईरसले स्वासप्रस्वासमा कठिनाई उत्पन्न गर्दछन् । यो नोवल कोरोना पशुपन्छीबाट मानिसमा र मानिसबाट मानिसमा सरेको यो पहिलो पटक हो भनिएको छ । यो कसरी मानिसमा सर्यो र शरीरमा के कस्तो थप परिवर्तन र असर ल्याउँछ भन्ने विषय अझै अनुसन्धानको क्रममा छ ।
वल्डोमिटरको अनुसार यो भाईरसका कारण अहिले सम्ममा विश्वभरमा ६३ लाख मानिसहरुमा संक्रमित भएको र ३.७ लाख यही रोगका कारण बितेका छन् । तर यी तथ्यांकहरु भरपर्दा भने देखिंदैनन् । बेलायतकै कुरा गरौ । सरकारले दैनिक संक्रमित र मृत्यु हुनेहरुको तथ्यांक प्रस्तुत गर्दै आयो । तर पछि थाहा हुन आयो कि नर्सिङ र केयर क्षेत्रहरुको तथ्यांकहरु दैनिक प्रस्तुतिमा परेको रहेनछ । मुलुकहरुमा संक्रमित हुनेहरुको तथ्यांक अझै यकिन भने हुन सकेको छैन । परीक्षण गरिएका मानिसहरु मात्र त्यस तथ्यांकमा परेका छन् । संक्रमित भएर सामान्य लक्षणबाट नै निको भएकाहरु तथ्यांकहरुमा परेका छैनन् ।
यो भाईरस संक्रमण मानवीय कनेक्सनको आधारमा द्रुत वा सुस्त भएको देखिन्छ । यो तुलनात्मकरुपमा मानवीय कनेक्सन कम भएका देशहरुमा सुस्त गतिमा फैलिएको छ । नेपाल पनि यो भाईरस संक्रमणबाट पृथक रहेन । हुन त नेपाल चीनसंगै सिमाना जोडिएको छ तर वुहानबाट नेपाल सिधा हवाई र स्थलगत यातायात नजोडिएको र पश्चिमी देशहरुको जस्तो चीनसंग ठूल‍ो ब्यापारिक सम्बन्ध नभएको कारण अरु देशहरुमा जसरी तुरुन्त भाईरस संक्रमण नेपालमा हुन पाएन । अहिले नेपाल तेस्रो मुलुकहरुबाट आवतजावत गर्नेहरुको माध्यमबाट संक्रमित भैरहेको छ ।
गत १३ जनवरीमा चीनको वुहानबाट अन्य ट्रान्जिटहरु हुँदै काठमाण्डौ आएका एक विध्यार्थीमा पहिलो पटक शुरु भएको यो भाईरस आजसम्म आई पुग्दा वल्डोमिटरले जनाएअनुसार नेपालमा १५७२ जनामा संक्रमित भै ८ जनाको मृत्यु भैसकेको छ । यो हिसाबमा भाईरस संक्रमण तुलनात्मकरुमा शुरुमा सुस्त रहेको भए पनि गत एक हप्तादेखि संक्रमण द्रुत गतिमा बढेको देखिन्छ । हाल भैरहेको परीक्षणलाई आधार मानेर  सरकारले संक्रमितको तथ्यांक प्रस्तुत गरिरहेको देखिन्छ । तर समुदायमा संक्रमण भने बढी हुन सक्दछ । अहिले सरकारी तथ्यांकहरु अनुसार पनि सबै प्रदेशहरु र धेरै जसो जिल्लाहरुमा यो भाईरस फैलिसकेको देखिन्छ । अब यो संक्रमण ब्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने भैसकेको छ ।
मार्च २४ मा लकडाउन भएपछि शुरु शुरुमा संक्रमण सुस्त रहेकै आधारमा सरकारले नेपाल कोरोना महामारी ब्यवस्थापनमा सक्षम भएकोले यो रोग नियन्त्रणमा छ भनेको थियो । संक्रमित संख्या कम देखिनुमा मानवीय कनेक्सन तुलनात्मकरुपमा कम र समयमा नै लकडाउन नै हुन् । अब कुरामा हैन ब्यवहारमा कोरोना संक्रमण ब्यवस्थापन गर्न जरुरी छ ।  भित्र लकडाउनको पूर्ण पालना, जनतालाई आवस्यक वस्तु तथा सेवाको ब्यवस्था, ब्यक्तिगत सुरक्षा ओैजारहरुको ब्यवस्था, रोगको विश्वसनिय परीक्षण र बिरामीलाई एकान्त (isolation) र प्रभावकारी अस्पताल सेवा यो भाईरस रोकथाम ब्यवस्थापनमा  पर्दछन् ।
कोरोना भाईरसले युरोपभित्र शुरु शुरुको अपर्झट अवस्था एउटा बाढी आए जसरी फैलियो । भाईरसको संक्रमणमा के गर्ने, कसो गर्ने, मेलो  मेसो नभएको र पूर्व तैयारी गर्न नपाएकाले संक्रमण ब्यवस्थापनमा अलमल भयो । जसका कारण अस्पतालहरु भाईरस बिरामीले खचाखच भए र धेरै मानिसहरुको छोटो समयमा नै ज्यान गयो । करिब २/३ हप्ता पछि सरकारले लकडाउनको घोषणा गर्यो । युरोपमा मानिसहरु द्रुत गतिमा संक्रमण भएर मानिसहरु मृत्यु हुन थाले पछि लक डाउन शुरु गरे तर त्यतिन्जेल भाईरस समुदायमा फैलिईसकेको थियो । अकल्पनीयरुपमा बेलायतमा पनि ईटली संगसंगै संक्रमण शुरु भएको थियो । जसका कारण ६५ नेपाली सहित ३८ हजारको ज्यान गैसकेको छ । विदेशमा अहिलेसम्म १२१ नेपालीहरुको ज्यान गएको भनिएको छ ।
नेपालमा पनि अहिले विभिन्न देशहरुबाट हवाई र स्थल मार्ग हुँदै आएकाहरुबाट संक्रमण भएको भनिएको छ । नेपालबाट पनि दैनिक हजारौं मानिसहरु रोजगारी, ब्यापार, अध्ययन, तीर्थ व्रत, उपचार, छुट्टी मनाउन र परिवार भेटघाट कारणहरु विभिन्न देशहरु र मुलुकभित्र आवतजावत गर्दछन् । नेपालमा असंगठित रोजगारीको सिलसिलामा घरबाट टाढा रहेका र भारतका विभिन्न शहरहरुमा काम गरिरहेका नेपालीहरु कोरोना कहरका कारण घर फर्कने क्रम अत्यधिक रुपमा बढ्यो । विरोध पछि सिमा क्षेत्रमा अलपत्र परेकाहरुलाई ढिलै भएपनि सरकारको निगरानीमा प्रवेश गराउन थालेको देखियो ।
संक्रमित संख्या भारतमा निकै बढेको छ । कान्तिपर न्युजका अनुसार विभिन्न स्थल नाका भएर एक हजारको हाराहारी मानिसहरु अहिले भारतबाट नेपाल फर्किने गरेका छन् । ती मानिसहरु सबै १४ दिन क्वारेन्टाईन् र पोजेटिभ भएका संक्रमितहरु ७ दिन आईसोलेसनमा बस्नु वा बसाउनु अनिवार्य छ । नेपाल भित्रिएका मानिसहरु १४ दिन लक्षण देखिने समय क्वारेन्टाईन र सामाजिक दुरी कडाईका साथ पालना नहुँदा लकडाउनका बाबजुद नेपालका बिभिन्न गांउ र शहरी क्षेत्रहरुमा संक्रमण देखिन थालेको छ । अझै पनि यसमा कडाई नहुने हो भने भाईरस अनियन्त्रित रुपमा फैलिने सम्भावना हुुन्छ । त्यसैले अब उनीहरुलाई क्वारेन्टाईनमा राखेर उष्मायन समय (incubation period) सम्म अनुगमन गर्न पर्दछ  । तर एकले अर्कोमा संक्रमित हुन सक्नेमा सजगता अपनाउन आवस्यक छ ।
अर्कोतर्फ यो कोरोना कहरमा अरु देशहरुमा रहेका नेपालीहरु पनि आफ्नो देश फर्कन आतुर अवस्य छन्  । यसमा प्राथमिकता तोकी सरकारले ब्यवस्थापन गर्न  कदम चाल्नु पर्दछ ।  एकातिर उनीहरुबाट रोगको प्रकोप बढ्ने खतरा हुन्छ भने अर्कोतिर उनिहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने अन्योलता सरकारी पक्षमा बढेको देखिन्छ । हुन त यो महामारीमा जो, जुन देशमा छन्, त्यही बिना भेदभाव सबैलाई खान बस्न र आवस्यकता अनुसार ओैषधी उपचार गर्ने जिम्मेवारी सोही देशको सरकारले लिएको हुन्छ र लिन पर्दछ । यो ब्यक्ति विशेष र समुदायको समस्या होईन, यो महामारी हो । लकडाउनको मूल मर्म पनि जो जहाँ छ यो महामारी भरी त्यही रहने भन्ने हो । यसबाट नै रोग नियन्त्रण गर्न सजिलो हुन्छ भनिन्छ ।
अहिले विदेशमा मुख्यतया श्रम स्वीकृती सकिएर वा कुनै कारणले काम नगरी बसेका, बिध्यार्थी, बिरामी र भिजिटरहरु बढी समस्यामा परेका हुन सक्दछन् । ती मानिसहरुको ब्यवस्था गर्नु सरकारको कर्तब्य हुन आउँछ । यसमा प्राथमिकता तोकी सरकारले उद्दार गर्न र उनीहरुलाई १४ दिन आईसोलेसनमा राख्न पर्ने हुन्छ । यसमा सरकारले राजनैतिक नाफा वा घाटाका को हिसाब भने गर्न हुँदैन । जनताले तिरेको करले सरकार र यसका संयन्त्र चल्दछन् । जनतालाई पर्दा सरकारको आवस्यक सहयोग अपेक्षित हुन्छ । यो राज्यको अहम् कर्तब्यमा पर्दछ । राज्यले ऋण लिएर भनेपनि जनताको संकटमा सुरक्षा, उद्दार, खानपिनको प्रबन्ध र ओषधी उपचार ब्यवस्था गर्नु पर्दछ । जनता जीवित र स्वस्थ्य रहे फेरि उनीहरुको देश निर्माणमा योगदान हुन्छ नै ।
यदि अन्य कारणले राज्यले उद्दार गर्न नसक्ने अवस्थामा सम्बन्धित देशका राजदुताबास, एनआरएनए वा स्थानिय नेपाली सामुदायिक संस्थामार्फत समन्वय गरेर परिस्थिति र समस्या बुझी सहयोगको आवस्यकता पहिचान  र सोही अनुसार सहयोगको लागि समन्वय गर्नु उपयुक्त हुन्छ । सम्बन्धित देशका नेपाली सामुदायिक संघसंस्थाहरुले पनि यथार्थ परक भएर सूचना संकलन र सहयोग संकलन गरेर हस्तान्तरण गर्न तदारुकता देखाउन पर्दछ ।
सरकारले दैनिक मजदुरी गरेर खानेहरुको ब्यवस्थापन गर्न अति जरुरी छ । यो वर्गमा आफै मात्र नभै घरमा दुखी, असहाय, बिरामी र केटाकेटीहरु आश्रित हुन सक्दछन् । त्यसमा पनि सरकारको ध्यान पुग्न जरुरी देखिन्छ । दैनिक ज्यालादारी गर्नेका लागि सरकारले सम्बन्धित स्थानीय निकायहरुले विकास निर्माणका काम लगाएर ज्याला दिने वा काम गर्न नचाहाने वा नसक्नेलाई दैनिक ज्यालाको २५% रकम उपलब्ध गराउन स्थानिय स्तरमा नै प्रदेश र केन्द्रीय सरकार समेतको सहयोग कोषको ब्यवस्था पनि गरेको देखिन्छ । यस ब्यवस्थाले सबै मजदुरी गरेर खाने लाई काम मिलेको, नमिलेको र तिनका परिवारलाई राहत पुग्न सकेको छ कि छैन यकिन गर्न र आवस्यक परे र लामो समय लकडाउन जाने अवस्था भएमा राहत ब्यवस्थालाई पुनरावलोकन गर्न जरुरी छ । यसबाट भाईरस नियन्त्रण गर्न र लोक कल्याणकारितामा सहयोग पुग्दछ ।
लकडाउन भन्नाले आफू जहाँ बसोवास गरिरहेको छ त्यही घरमा बस्ने र आफ्नो बासस्थानबाट जरुरीबाहेक बाहिर ननिस्कनु नै हो । यदि जो कोही लकडाउनको समयमा बाहिर निस्कन्छ, नीजि वा कुनै बाहन प्रयोग गरी एक ठाउँबाट अर्को ठांउमा गएमा, यो लकडाउनको बर्खिलाप हो । लकडाउनमा असक्तहरुलाई आवस्यक सेवाहरु राज्यले उपलब्ध गराउन पर्दछ । अहिले लकडाउनको राम्रो पालना नभएको कारणले नै नेपालमा संक्रमण फैलन थालेको देखिन्छ । यस अवस्थामा अनुमती प्राप्त आकस्मिक सेवा बाहेक यात्रा गर्न हुँदैन । यसमा शक्तिको नजिक वा टाढा भनेर फरक सुविधा दिन वा पाउन हुँदैन ।
जुनसुकै देश वा ठाउँबाट आएको होस् जबसम्म यात्रा गर्ने वा संक्रमण भएको ब्यक्तिको प्रतक्ष्यरुपमा बुंद (droplets) सार्ने मनसाय राखेर ब्यवहार गर्दैन यसमा उसको कुनै कसुर हुँदैन । अहिले समाजमा त्यस्ता संक्रमित ब्यक्तिहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेको पनि देखिन्छ । कतिपय आदत र प्रवृत्तिको कारण पनि ब्यक्तिले रोग अरुलाई संक्रमित गरिरहेको हुन्छ तर उसलाई थाहा हुँदैन । लकडाउन र संक्रमण माध्यमको अवरोध, एकान्तवास र स्वासप्रस्वास समस्यामा समयमा नै उपचार सहयोग नै यस भाईरसबाट बच्ने महत्वपूर्ण उपायहरु हुन् ।  यो भाईरसले एम्युनटी शक्ति कम भएका वर्ग: दीर्घ रोगी र बृद्धबृद्धाहरुमा द्रुत संक्रमण र बढी असर गरेको देखिन्छ । यस्ता मानिसहरुसंग सम्पर्कमा आउने स्वास्थ्यकर्मी र केयरकर्ताले अनिवार्यरुपमा उपयुक्त पिपिई प्रयोग गर्न र थप सजगता अपनाउन पर्दछ । यसबाट मृत्युदर घटाउन मद्दत गर्दछ । नियमित पिपिईको उपलब्धताको जिम्मेवारी सरकारले लिन पर्दछ ।
नेपालमा पिपिई खरिद सम्बन्धी विवाद, निर्णयमा ढिलासुस्ती र पैसाको खेलको आसंकाका कारण समयमा आवस्यक पर्ने पिपिई आपूर्ति कमजोर भयो । जसका कारण शुरु शुरुमा स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर हुन गयो। अहिले सरकारले यो जिम्मा सैनिकलाई  दिएपछि अस्थाईरुपमा हल भएको देखिन्छ । अहिले सुरक्षित कोरोना परीक्षण र आकस्मिक सेवा र राष्ट्रिय सुरक्षामा खटिनु पर्ने सेना पिपिई किन्नमा ब्यस्त रहनु त्यति उचित भने देखिंदैन । सरकारले यस्ता वस्तुहरु छिटो र छरितो रुपमा गुणस्तरीय वस्तु ब्यापारिक माध्यमबाट नै खरिद गर्ने गर्नु पर्दछ भने यस्ता नियमित चाहिने अत्यावस्यक वस्तुहरु आफ्नै देशमा उत्पादन गर्ने ब्यवस्था मिलाउँदै जान जरुरी हुन्छ ।
कोरोना ब्यबस्थापनमा सूचना र संचारको भूमिका ठूलो हुन्छ । सरकारले केन्द्रीय हेल्पलाईनको ब्यवस्था गरेको छ । जसमा कोरोना सहयोगको लागि १११५ वा ११३३ र एम्बुलेन्स सेवाको लागि १०२ मा डायल गर्नु पर्दछ । यसबाट धेरै परामर्श लिन सकिन्छ तर यो हेल्प सेन्टरको क्षमता, प्राबिधिकहरुको ब्यवस्था र सूचना संकलन ब्यवस्था सुदृढ पारिनु पर्दछ भने यसमा ईमर्जेन्सीका लागि एकीकृत सेवाहरु यसैमा समन्वय गराउन पर्दछ । देश भरिमा हवाई र स्थल दुवै एम्वुलेन्स सेवाहरुलाई तैनाथ गर्नु पर्दछ । कुनै कन्फ्युजन नरहने गरी एउटै हेल्पलाईनबाट आवस्यक सेवाहरु पाउने ब्यवस्था गर्न जरुरी छ । ठाउँ ठाउँमा तैयारी खाना बनाएर वरपर लकडाउनका कारण समस्यामा परेका र क्वारेन्टाइनमा वा आईसोलेसनमा बसेकाहरुलाई उपलब्ध गराउन युवा युवती रहेको भोलेन्टियर सेवाका लागि ब्यवस्था र प्रोत्साहन गर्न पर्दछ । छरछिमेकमा Covid 19 का बिरामीलाई थप संक्रमण हुन नदिई सहयोग गर्न र आवस्यक परे अस्पताल पुर्याउन स्थानीय युवाहरुलाई तालिमको आयोजना गर्न पर्ने देखिन्छ ।
यो भाईरस नयाँ भएकाले धेरै कुराहरुमा अन्योलता नै छ तर पनि अरु देशहरुले कसरी ब्यवस्थापन गरिरहेका छन् भन्ने हेर्न पर्ने हुन्छ र त्यही आधारमा साधन स्रोत दुरुपयोग नहुने गरी काम गर्नु पर्दछ । नेपालले यो भाईरस टेष्टको लागि शुरु शुरुमा आरडिटी (Rapid Diagnostic Test Kit) र पिसिआर दुवैअपनायो । छिटो र सरल हुने भएकाले र्यापिड टेष्टलाई प्रयोग गर्यो । यसको विश्वस्नियतामाथी धेरै प्रतिकृया र विरोध पछि भने पिसिआर (Polymer Chain Reaction) लाई जोड दिन थालेको देखिन्छ । Covid 19 भए नभएको जाँच्न पिसिआर पद्दति बढी विश्वस्निय छ भन्ने देखिएकोले यसैलाई मात्र प्रयोगमा ल्याउन पर्दछ । यसबाट श्रोत दुरुपयोग पनि रोकिने र रिपोर्टमा पनि विश्वशनीयता हुन्छ । यसबाट संक्रमण नियन्त्रणमा सहयोग पुग्दछ । यो टेष्ट संकलन गर्न स्वास्थ्यकर्मीहरुबाट यदि कठिन हुँदै गएमा बेलायतमा जस्तै युवा सैनिकहरुलाई प्रयोग गर्न सकिन्छ । यो टेष्टको सैम्पल लिँदा साबधानी र उचित तरिका दुवै कुरालाई ध्यान दिन जरुरी छ । साबधानी नभए आफैँ संक्रमित हुने डर हुन्छ भने उचित तरिका प्रयोग नभए सैम्पलमा प्रदुषित हुन सक्ने र सही रिपोर्ट नआउन सक्दछ । यसबाट हुने परिणाम झन डरलाग्दो हुन जान्छ ।
अर्को पक्ष, मानिसहरु एकान्तमा बस्न पर्ने भएकाले बरु कसैलाई नभन्ने वा परीक्षण गर्न पनि नजाने हुन्छन् । लक्षण देखिए पनि सजगता नअपनाउनु सामाजिक अपराध हो जसमा कारण कसैको ज्यान जान सक्छ भन्ने जानकारी सबैमा पुग्न जरुरी छ । यस अवस्थामा सरकारले पैसा तिरेर प्राईभेटरुपमा टेष्ट गर्न सक्ने भनेको कुरा पनि बाहिर आए । यो रोगको उपचार नै नभैरहेको अवस्थामा सर्वसाधारण पैसा तिरेर टेष्ट गर्न जान्छन् भन्ने आशा गर्नु भाईरस नियन्त्रण गर्ने उचित रणनीति हैन । यो भाईरस नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो र यसमा सहयोग पुर्याउनु जनताको कर्तब्य हो । लक्षण देखिएका, कुनै कारणबस बाहिर निस्केका र संक्रमितसंग सम्पर्कमा आएका सबै मानिसहरुलाई खोजेर टेष्ट गर्न र यदि सम्पर्क भए एकान्तमा बस्न सल्लाह दिनु पर्दछ ।
साधारणरुपमा जब बिरामी हस्पिटल वा नर्सिङ होममा भर्ना हुन्छ, त्यहाँ covid 19 टेष्ट गर्नु पर्दछ भने हस्पिटल बाहिर पनि माथि भनिएझैँ टेष्ट हुन पर्दछ । यदि टेष्ट गरिएका मानिसहरुमा नेगेटिभ आएमा त केही भएन यदि पोजेटिभ आएमा ती मानिसहरुलाई ७ दिनसम्म आईसोलेसनमा राख्न वा बस्न पर्दछ । यदि स्वास्थ्य स्थिति बिग्रेमा हस्पिटल सेवामा पुर्याउन पर्दछ । सामान्य असर देखिएकाहरुमा संक्रमण भएको ७ दिन पछि शरीरले एन्टिबडी बनाउने भएकोले अरुमा संक्रमित हुँदैन भनिन्छ । त्यसैले बेलायतमा त्यस्तो मानिस शारिरिकरुपमा सक्षम भए ७ दिनपछि  काममा फर्कन सक्दछन् भनिएको छ । तर संक्रमितसंग सम्पर्कमा आएका मानिसमा लक्षण नदेखाए पनि १४ दिनसम्म एकान्तमा बस्न पर्दछ ।
नेपालमा कोरिन्टाईन वा एकान्तमा बसेका मध्येका मानिसहरुको मृत्यु हुन पुगेको भनिएको छ । अन्य मुलुकमा बृद्धबृद्धा र दीर्घ रोगी भएकाहरुको मृत्यु संख्या बढी भएकोमा नेपालमा त्यो स्थितिभन्दा फरक अहिलेसम्म मृत्यु भएकाहरु युवा अवस्थाका रहेका बुझिएको छ । यसमा फरक हुनुको कारण पत्ता लगाएर त्यसमा सजग हुन जरुरी छ । उनीहरुको एम्युनिटी क्षमता कम भएको, रोग लागि सकेपछिको खानपान, वातावरण र समयमा स्वास्थ्य सेवाको अभावकै कारण भएको हो कि अरु कुनै कारणले हो थाहा पाउन जरुरी छ । कोरोना बिरामीले प्रसस्त खानेकुराहरु, शुद्ध खानेपानी र सुष्क वातावरणमा सफा कपडाहरु प्रयोग गर्नु पर्दछ । खानपानको कमीले शरीरमा रोगविरुद्ध लड्ने शक्ति कमजोर हुने र अँध्यारो, चिसो, ढुसी लागेको ठाउँमा बस्दा, ढुसीयुक्त कपडा लगाउँदा वा ओड्दा यो छातीको रोग भएकोले झन् बढी असर गर्ने हुन सक्दछ । त्यसकारण टेष्ट रिपोर्ट पोजिटिभ देखिएका र क्वारेन्टाइनमा बसेकाहरुको अवस्थाको नियमित अनुगमन गर्नु र आवस्यकता बमोजिम सेवा उपलब्ध गराउन जरुरी छ ।
सरकारले १११ वटा अस्पतालहरुलाई कोरोना उपचारको लागि पहिचान गरेको छ । यी अस्पतालहरुमा भैरहेको उपचार र बेड उपलब्धता सम्बन्धी केन्द्रीय कोरोना कल सेन्टरसंग समन्वय हुन जरुरी छ अन्यथा हस्पिटल खोज्दाखोज्दै बिरामीको मृत्यु हुन सक्दछ । अर्को पक्ष अहिले त बिरामीको संख्या कम छ संक्रमण नियन्त्रणभन्दा बाहिर गएमा हस्पिटलहरुमा बिरामीको चाप बढ्ने र पछिल्ला बिरामीहरुले सेवा नपाउने हुन सक्ने डर हुन्छ । ईटलीमा त्यस्तै भएको कारण धेरै मानिसहरुले छोटो समयमा ज्यान गुमाए । हस्पिटलमा चाप कम गर्न पोजेटिभ बिरामीलाई पनि एकान्तमा बस्न लगाउने र स्वास्थ्य स्थिति अनुगमन गरिरहने गर्नु पर्दछ ।  सिबियर केसहरु द्रुत गतिमा स्वास्थ्य बिग्रने भएकाले तुरुन्त आईसियु सेवा जरुरत हुन सक्दछ । यदि समयमा उचित सेवा नपाएमा मानिसको मृत्यु हुन सक्दछ । जब स्वासप्रस्वासमा समस्या आउँछ उनीहरुलाई तत्काल हस्पिटल सेवाको आवस्यकता पर्दछ । बढीमा १-२ घण्टा भित्र नै उक्त स्वस्थ्य सेवा केन्द्रमा पुर्याउने ब्यबस्था गर्नु पर्दछ । कोरोना बिरामीहरुलाई भेन्टिलेटर सहितको आईसियु सेवा जरुरत पर्न सक्दछ । त्यो सेवा त्यही नजिकको हस्पिटलमा उपलब्ध हुन जरुरी छ ।
नेपालमा ढिलो संक्रमण भएको कारण सरकारसंग यी सेवाको तैयारी गर्ने प्रसस्त समय थियो । यी कुराहरुमा अझै तैयारी आवस्यक छ भने यथासीघ्र गर्न जरुरी छ । संक्रमितहरुको संख्या बृद्धि भैरहेको संख्या बुझ्दा भ्यानटिलेटर सहितको हस्पिटल बेडहरुको थप प्रबन्ध जरुरत हुन सक्दछ । मानिसहरु भ्यान्टिलेटर सुविधाको अभावको कारण मृत्यु हुन हुँदैन । हस्पिटल र एम्बुलेन्स सेवाका स्वास्थ्यकर्मीहरु आफैं संक्रमित हुन सक्ने र अरुलाई पनि सार्न सक्ने सम्भावना बढी भएकाले सेवामा संलग्न स्वास्थ्यकर्मीहरुलाई पिपिई कमी हुन दिन हुँदैन र लक्षण देखिएमा स्वास्थ्यकर्मी ७ दिन एकान्तमा बस्न जरुरी छ । हस्पिटल बेडमा चाप बढ्ने अवस्थामा अर्जेन्ट नभएका अन्य स्वास्थ्य सेवाहरु बन्द गरेर भए पनि यो महामारी संक्रमितहरुको ओषधी उपचार गर्ने ब्यवस्था गर्नु पर्दछ ।
यसरी नेपालमा दिनानुदिन बढ्दै गईरहेको कोरोना संक्रमणले मुलुकभित्र र बाहिर बस्ने सबैलाई चासो र चिन्ता बढाएको छ । लकडाउनको पूर्ण पालना, न्यून आय भएका श्रमिकहरुलाई जीविका धान्ने ब्यवस्था, क्वारेन्टाइन र एकान्त बस्ने प्रकृयालाई पूर्ण पालना, प्रभावकारी अनुगमन प्रकृया, पिपिईको उचित ब्यवस्था, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी र भोलेन्टियरहरुलाई अनलाईन तालिम र हौसला, तथ्य सूचनाको प्रवाह र हस्पिटलमा आवस्यकता अनुसार समन्वयात्मक र सुरक्षित आईसियु सेवा प्रदान गरेमा यो महामारीबाट कम मानवीय क्षति हुने देखिन्छ ।

डा.पुरुषोत्तम पौडेल

पुरुषोत्तम पौडेल समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री