युकेका कोरोना प्रभावित नेपाली विद्यार्थीहरुलाई २५ हजार पाउण्डभन्दा बढीको सहयोग

Photo by Andreas Rentz/Getty Images

लण्डन । बेलायतमा विश्वविद्यालयमा अध्ययनमा आएका कोरोना प्रभावित नेपाली विद्यार्थीहरुलाई यहाँस्थित विभिन्न नेपाली  समुदायले २५ हजारभन्दा बढी सहयोग गरेका छन् ।

यसरी प्राप्त सहयोगलाई संस्थागत रुपमा मर्जिङ नेप्सक्सले १४ हजार पाउण्ड राहत वितरण गरेको छ भने गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले झण्डै ५ हजार बढीको राहत वितरण गरेको छ । यद्यपि एनआरएनए युकेले विद्यार्थहरुलाई आर्थिक सहयोग गरेको तथ्यांक उपलव्ध गराएको छैन।

एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले विद्यार्थीहरुलाई संस्थाले प्रत्यक्ष रुपमा आर्थिक सहयोग नगरी खाद्यान्न उपलव्ध गराएको बताइन् । त्यसबाहेक अन्य संघसंस्थाले पनि विद्यार्थीहरुका लागि खाद्य सामग्री वितरण गरिरहेका छन् ।
एनआरएनए युकेले विश्वविद्यालयका नेपाली विद्यार्थीहरुलाई सहयोग गरिरहेको मर्जिङ नेप्सक्सलाई गत साता आर्थिक सहयोग गरेको छ । १५ जना विद्यार्थीहरुका लागि १२ सय पाउण्ड आर्थिक सहयोग गरेको थियो । लण्डनस्थित नेपाली दूतावासले कोरोना प्रभावित विद्यार्थीहरुलाई राहत वितरणको जिम्मा मर्जिङ नेप्सक्स दिएपछि एनआरएनए युकेको बैठकले आफ्नै ढंगले सहयोग अघि बढाउने निर्णय गर्दै सहयोग वितरण गरेकोमा गत साता नेप्सक्सलाई सहयोग गरेको थियो । एनआरएनए युके बैठकले कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुका लागि खाद्यान्न तथा उद्धार अभियान २०२०, नाममा एक समिति गठन समेत गरेको थियो ।

जसमा उपाध्यक्ष रोजिना प्रधान राई संयोजक, उपाध्यक्ष सुनिलबाबु खड्का संयुक्त संयोजक र इंग्ल्याण्ड राज्य परिषद्का सचिव गोविन्द  खरेल सदस्य सचिव छन् । तीन जनालाई कोरोनाका कारण संकटमा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने जिम्मा दिइएको थियो । संयोजक राईका अनुसार १ सय एक जना विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको छ । ती मध्ये २९ जनालाई जागिर समेत लगाई दिइएको दावी उनले गरिन् । सचिव खरेलले वीनेपालीलाई उपलव्ध गराएको तथ्यांकमा आर्थिक सहयोगका बारेमा उल्लेख गरिए पनि रकमका बारेमा बताइएको छैन । एनआरएनए युकेले २ सय विद्यार्थीहरुलाई काउन्सिलिङ समेत गरेको राईले बताइन् । उनले ती व्यक्तिका बारेमा गोपनियताका कारण जनाउँदै विस्तृत सूचना दिन भने अस्वीकार गरिन् ।
यता, मर्जिङ नेप्सक्सले ३३२ जना विद्यार्थीहरुलाई राहत सहयोग गरेको छ । राहत वितरणका क्रममा अपुग भएपछि एनआरएनए युकेलाई १५ जना विद्यार्थीहरुका लागि आर्थिक सहयोग उपलव्ध गराउन अनुरोध गरिएको मर्जिङ नेप्सक्सका अध्यक्ष पवन कंडेलले बताए । उक्त अनुरोधलाई एनआरएनए युकेले स्वीकार गर्दै १५ जना विद्यार्थीहरुका लागि गरेपछि १२ सय पाउण्ड सहयोग गरेको थियो । उनले नेप्सक्सले मंगलबारदेखि तेस्रो चरणको राहत वितरण गरेको जानकारी दिए । उक्त चरणका लागि ४ हजार ९ सय २२ पाउण्ड नेप्सक्सको खातामा छ । त्यसबाहेक पनि राहत कोषमा रकम जम्मा गर्ने कार्य जारी छ ।

मंगलबारसम्म १ सय ९० जना विद्यार्थीहरुलाई आर्थिक सहयोग, ३४ जना विद्यार्थीहरुलाई फुड प्याकेज र ८ जनालाई काउन्सिलिङसहितको स्वास्थ्य उपचार गरी ३३२ जना विद्यार्थीहरुलाई सहयोग गरिसकेको छ । नेप्सक्सले मंगलबारसम्म झण्डै १९ हजार आर्थिक संकलन गरिसकेको छ । उक्त रकम मध्ये १४ हजार पाउण्ड विद्यार्थीहरुलाई नै खर्च गरिसकेको कंडेलले जानकारी दिए । नेप्सक्सले विद्यार्थीहरुलाई परिस्थिति अनुसार कम्तिमा ५० पाउण्डदेखि तीन सय ५० पाउण्डसम्म आर्थिक सहयोग र राहत वितरण गरेको कंडेलले बताए । पहिलो चरणमा ६ हजार २८ पाउण्ड र दोस्रो चरणमा ७ हजार ९ सय ८० पाउण्ड खर्च गरेको छ ।
छलफल नै नगरी मनलाग्दी काम
विद्यार्थीहरु समस्या समाधानका लागि जिम्मा पाएका तीन जना मध्येका एक जना उपाध्यक्ष सुनिल खडकालाई थाहै नदिई नेप्सक्सलाई आर्थिक सहयोग दिइएको छ । ‘कोरोनाबाट प्रभावित विद्यार्थीहरुले सहयोग पाउने कुरा राम्रो भएपनि यस निर्णयका बारेमा आफू अनभिज्ञ छु,’ उपाध्यक्ष खडकाले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री