बन्दाबन्दीमा पारिवारिक आनन्द

रिता डोटेल

“बर्मा गए कर्मसंगै नेपाल गए कपालसंगै”। आफ्नो दैनिक जीवनयापनको लागि काम त जहाँ गए नि गर्नै पर्छ। विदेशको ठाऊँमा त झन् काम नगरी जीवन निर्बाहको कल्पना नै नगरे हुन्छ। परिवारमा एक जनाले मात्र काम गरेर पनि विदेशको ठाऊँमा परिवार पाल्न मुस्किल पर्छ। नेपाल (आफ्नै घर परिवेश) मा केही न केही बाह्य स्रोतको सहयोगले पनि जीविका मात्र चलाउन चाहिँ त्यति मुस्किल नहोला जति विदेशमा हुन्छ। विदेशको बसाई अनि परिवारमा बच्चा भैसकेपछिको अवस्था अनि बाबु आमा दुवैको काम।

रिले दौडमा हातको लठ्ठी आफ्नो टीमको अघिल्लो साथीलाई पास गर्न हतारिँदै दगुरेजस्तै बच्चाको लागि बाबा काममा गए आमा आउने, आमा गए बाबा आउने गर्दै लुकामारी खेलिरहेका बेला यो विश्वब्यापी बन्दाबन्दीले परिवारसंग समय बिताउनको लागि राम्रो मौका दिएकोछ। यसलाई अवसरको रुपमा लिदै रोगसंग कसरी जोगिने सोचाइले दिएको पीडाभन्दा परिवार तथा बालबच्चासंग रमाउन पाएको सम्झेर खुशी हुनुपर्छ।

यसरी बच्चाको स्कुल, आमा बाबाको काम एकैचोटी छुट्टी एकादेशको कथाजस्तै अथवा भनौँ कतै बिदामा जानको लागि वर्ष या दुईवर्षमा मात्र आउँछ। त्यो पनि निश्चित कामको लागि तोकिएको हुनाले राम्रोसंग परिवारलाई समय दिन भ्याइँदैन। अहिलेको समय त न कुनै हतार न कुनै चिन्ता न कुनै बोझ । परवारकै सदस्य मात्रै बसेर बिताउन पाइएको यो साँच्चिकै मानव जगतले खोजेको र परिस्थितिले दिएको अवसर हो भन्ने मलाई लाग्छ। घरमै परिवारसंग बसेर फर्लो (भत्ता) बुझ्दै गर्दा आफ्नो कार्यकाल सकेपछि सेवा गरेबापत कामबाट दिएको सुविधा भत्ता खाएको जस्तो आनन्द महशुस भएको बताउँछन् मेरा धेरै साथीहरु।

एकजना साथी संगको फोन वार्तालाप जस्ताको तस्तै ।

“मलाई त कति मजा आको छ, बच्चासंग समय बिताउन नपाएर कस्तो आत्तिएकी थिएँ, ऐले त पूरै समय दिन पाको छु, पैसा पनि काम गर्दा जतिकै आको छ। जुलाईदेखि खुल्छ रे भन्दा काममा जानुपर्ने पिरले ज्वरो आको छ।”

अर्की साथीको पनि उस्तै उत्साह । ”हेर्नु त म कत्ति फ्रेस भाको छु, बीस वर्ष भएछ काम गर्न थालेको । कैले यसरी ढुक्कसंग बस्न पाको थिएन, ऐले त परिवारसंग समय बिताउँन पाउँदा कति खुशी लागेको छ । पैसा पनि उत्तिकै आको छ । यस्तो दिन फेरि कैले आउँछ र भनेर म त भरपूर आनन्द लिएको छु ।”

हामी आमाहरु बच्चा जन्मेको केही महिना पछि नै काम गर्न जानुपर्दा बच्चा हुर्किदै जाॅदा उसका हरेक क्रियाकलाप तथा बोलीमा आउने परिवर्तनसंग अनभिज्ञ रहन पुग्छौ‌ र ती कुराहरु पछि थाहा पाउँदा खुशीले आँशु झर्छ आफ्नो अनुपस्थिति मै बच्चाले नयां कुरा सिकेको देखेर । हामी यहाँ जति सुकिलो भएर हिँडेको देखिए पनि वास्तविकता उतिकै कठिन छ। नेपालमा हुने आमाहरुको सन्दर्भमा यो त्यति लागू हुँदैन किनकी नेपालमा काम गर्ने समय भनेको जम्मा ६ घन्टा । त्यो बीचमा पनि बच्चासंग भेट सम्भव हुन्छ। अझ बच्चा स्कुल जाने भएपछि त उस्को स्कुल समयमै आफ्नो पनि काम सकिन्छ।

यहाँ कामको लागि छुट्टयाइएको समय न्यूनतम ८ घन्टा तर यो त कार्यालय समय भयो । हामीहरु सबैको लागि यही समय उपलब्ध हुँदैन अथवा कम्पनी अनुसार धेरै थौरै हुन्छ। दिनमा १२ घन्टा काम अनि अन्तर्वार्तामामै तोकिएका सर्त (बच्चाको बहाना ल्याउन नपाउने) को पालना नियममै रहेर गर्नुपर्यो । अति अप्ठेरो पर्दा बाहेक।

हुन त यो समय यसरी खुशी हुने समय होइन तर ‘हुने हार दैव नटार’ भनेझैँ आइसकेको यस्तो परिस्थितिलाई यसरी पनि सहज लिन सकिन्छ। सकरात्मक सौचौँ र आशा गरौँ यो परिस्थिति छिट्टै सामान्य बनोस्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री