तमू धिं यूकेद्वारा नेपाल र बेलायतमा राहत वितरण

गत बर्ष (२०१९) नेपाली मेलाको तस्विर

लण्डन । तमूधिं यूकेले कोरोना (कोभिड -१९)को संक्रमणबाट प्रभावित नेपाली समुदायहरुमा १३ लाख ३६ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

नेपालको गण्डकी प्रदेशमा रहेका कोरोना प्रभावित व्यक्तिहरुलाई सो आर्थिक सहयोग वितरण गरेको अध्यक्ष नन्दजंग गुरुङले बताए । समाजसेवी तथा सामाजिक अभियन्ताहरु पूर्वमेजरद्वय लक्ष्मीप्रसाद गुरुङ तथा डमर घले र एनआरएनए तथा तमुधिँ यूकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङको सकृय संयोजनमा शनिवार पोखरामा राहत वितरण गरिएको छ । 

तमूधिं यूकेले गण्डकी प्रदेश मूख्यमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ, एन९५ माक्सका लागि २ लाख  हजार, स्वास्थ्यकर्मीलाई पिपिईका लागि १ लाख ५० हजार, गण्डकी प्रदेशका पत्रकारका जीवन विमाका लागि १ लाख ८० हजार, तमू कलाकारलाई १ लाख रुपैयाँलगायतका राहत वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
उनकाअनुसार त्यसबाहेक यूकेस्थित फ्रिम्ली पार्क अस्पतालस्थित नेल्सनल हेल्थ सर्भिस (एनएचएस)लाई १ हजार पाउण्ड हस्तान्तरण गरिएको थियो । अध्यक्ष गुरुङकाअनुसार कोरोना महामारीमा स्वास्थ्यकर्मी कार्यलाई सम्मान गर्दै ऐक्यवद्धता जनाइएको हो । त्यस्तै, एनआरएनए यूकेलाई १ हजार ४०१ पाउण्ड कोरोना प्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।

गुरुङहरुको जातीय संस्थाका रुपमा रहेको तमूधिं यूकेले बेलायतस्थित नेपालीहरुलाई साँस्कृतिक माध्यमबाट जोड्दै आएको छ । करीब एक लाखको संख्यामा रहेका नेपालीलाई एकै ठाउँमा जम्मा गरी सास्कृतिक आदान प्रदानका लागि नेपाली मेला र गोर्खा कप जस्ता कार्यक्रम हरेक वर्ष गर्दै आएको छ । कोरोनाका कारण यस वर्षको गोर्खा कप स्थगित भएको थियो । नेपाली मेला पनि बेलायत सरकारको स्वास्थ्य गाइडलाइन अनुसार स्थगित गर्नुपर्ने बाध्यता छ ।

मानवीय कार्यमा हामी समुदायसँगै छौ : तमू धिं यूके अध्यक्ष नन्दजंग गुरुङ


कोभिड-१९ को महामारीबाट नेपाली समुदायलाई बचाउन तमू धिं यूकेको भूमिका कस्तो रह्यो ?
कोरोना संक्रमणबाट नेपाली समुदायलाई जोगाउनु पर्छ भनेर हामीले सचेतना जगाउने काम गरेका थियौं । जो हाम्रा सदस्यहरु पनि हुनुहुन्छ उहाँहरु अलि बृद्धबृद्धाहरु भएकाले बेलायत सरकारको नीति निर्देशन बमोजिम घरमा बस्न आग्रह गर्यौ । तमू धिंका साथीहरुले स्वयंसेवीका रुपमा एक अर्कालाई सहयोग गरिरहनु भएको छ । यो क्रम अहिले पनि जारी छ ।हाम्रा साथीहरुले यो महामारीमा हार्दिकताका यो चन्दा संकलनमा सहयोग गर्नु भएको छ । म उहाँहरुलाई धन्यवाद पनि दिन चाहन्छु ।
तमू धिं यूकेले राहत वितरण कार्य गरेको छ, छैन ?
हामी सामाजिक संस्था भएकाले समुदायलाई सेवा गर्नु नै हाम्रो पहिलो कर्तव्य हो । हामीले साथीभाईहरुबीच आर्थिक संकलन गर्याै‌ं । अनि एनआरएनए यूकेलाई १हजार ४०१ पाउण्ड आर्थिक सहयोग दियौं । एनएचएसको कामप्रति ऐक्यवद्धता जनाउँदै १ हजार पाउण्ड हस्तान्तरण गरेका छौं । यसबाहेक तमु धिं कै तर्फबाट स्थानीय तहमा सहयोग आदान प्रदान जारी राखेका छौं ।
कोरोना संक्रमितको संख्या दिनानूदिन नेपालमा पनि बढिरहेको छ । यस्तो अवस्थामा नेपालमा सहयोग गर्नु हुन्छ ?
हाम्रो जन्मभूमिप्रति सधैं सम्मान छ । उहाँहरुको दुःख हाम्रो पनि दुःख हो । बेलायतमा सरकारले आफ्ना जनतालाई सहयोग गरिरहेको छ । नेपालीमा दैनिक काम गरेर खाने जनताहरु भोकभोकै परेको खबरले हामीलाई राम्रोसँग निद्रा समेत लागेन । त्यसैले साथीहरुबीच सल्लाह गरेर असहायहरुलाई दैनिक खानाका लागि ३ लाख ५० हजार पठाएका छौं ।
बेलायतमा एनएचएसलाई सहयोग गर्दा नेपालका स्वास्थ्यकर्मीलाई पनि सहयोग गर्नु भयो कि ?
हामीले गण्डकी प्रदेश अन्तर्गतका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि १ लाख ५० हजारको पिपिई, २ लाख ५ हजारको एन९५ माक्स, गण्डकी प्रदेशका मूख्यमन्त्रीको राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छौं । त्यसबाहेक तमू कलाकारका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छौं ।

कोरोनाको समाचार संकलन गर्ने पत्रकारहरुको लागि पनि राहतको व्यवस्था गर्नु भएको छ कि ?

गण्डकी प्रदेशका पत्रकारलाई पनि हामीले पहिलो पटक महामारीबाट सुरक्षित महशुस होस भनेर जीवन वीमाको व्यवस्था गरेका छौं । त्यसका लागि एक लाख ८० हजार छुट्याएका छौं ।अन्य प्रदेशमा पनि यसले सकारात्मक प्रभाव पार्छ भन्ने हामीलाई विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री