नेपाल सरकारको विरोधमा उत्रियो एनआरएनए

nrn banar
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकार भ्रष्टाचार र कमिशनको प्रभावमा परेको आरोप लगाएको छ । गैरआवासीय नेपालीहरुले स्वेदश फर्काउने कार्यमा जुटिरहेको प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकार माथि एनआरएनएका जिम्मेवार पदाधिकारीहरुले विज्ञप्ति नै जारी गरी सरकारमाथि सो आरोप लगाएका हुन् ।
‘ढिला र  सुस्त गतिमा काम गर्ने सरकारी नीति र कोरोनाको महामारीलाई आफ्नो द्रब्य आर्जन गर्ने अवसरको रुपमा लिने केही अमुक व्यक्तिहरूको प्रभावमा सरकार परेर थप आहत बनाएको छ।’ संघका चार क्षेत्रीय पदाधिकारीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ । जसमा अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठी, यूरोप क्षेत्रका संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्रका संयोजक प्रबिण गुरुङ र अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापा छन् ।

संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका ती पदाधिकारीहरुले भनेका छन्, ‘बैदेशिक रोजगारमा जानु अगाडि श्रमिकले जम्मा गरेको कल्याणकारी कोषमा छ अर्ब भन्दा बढी रुपियॉं थन्किएर बसेको छ। उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यबस्था अनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारको लागि प्रयोग गर्नु पर्दछ।’ विज्ञपतिमा भनिएकाे छ, ‘मध्यपूर्व यूरोप, अफ्रिका र विश्वका अन्य विभिन्न देशहरुमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बेला आफु निटकका ट्राभल्स एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर फ्लाईटमा महंगो भाडादर तिर्नुपर्ने वातावरण बन्नु अत्यन्त दुखदायी विषय हो।’

वैदेशिक रोजगार ऐन २०६४ लाई उद्धृत गर्दै एनआरएनएले सरकार विरुद्ध खनिएको छ । जसमा बैदेशिक रोजगारमा अलपत्र परेका नेपालीहरुलाई कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन व्यवस्था छ । ऐनको ७५ मा कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्थाको (२)मा नेपाल कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक विपत्ति परी कामदारलाई तत्काल फिर्ता गर्नु पर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारी मार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउने उल्लेख छ । बैदेशिक रोजगार ऐन २०६४ अनुसार एनआरएनएले नेपाल सरकारसँग श्रमिक कोषको रकम चलाउन विभिन्न प्रयास गरे पनि असफल भएको थियो । जसका कारण नेपाल सरकारसँग एनआरएनए रुष्ट छ ।

विज्ञप्ति
नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस्
समय, परिस्थिति र बाध्यताले बिदेशिएका नेपालीहरु कोरोनाको कहरसंगै बिदेशमा भएको आफ्नो रोजगारीका अवसरहरु गुमाएर पुन स्वदेश मै फर्कनु पर्ने अवस्था आएको छ। तीन महिना लामो लकडाउन साथै बिना कमाईको बिदेश बसाईले बिहान बेलुकाको खानाको खर्च धान्न समेत मुश्किल भएर यतिखेर हजारौ हजार नेपालीहरु दोहोरो तेहोरो पिडामा बॉंच्न बिवश छन्। ढिलासुस्त गतिमा काम गर्ने सरकारी नीति र कोरोनाको महामारीलाई आफ्नो द्रब्य आर्जन गर्ने अवसरको रुपमा लिने केही अमुक व्यक्तिहरूको प्रभावमा सरकार परेर थप आहत बनाएको छ।
मध्यपूर्व यूरोप, अफ्रिका र विश्वका अन्य विभिन्न देशहरुमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेबेला आफु निकटका ट्राभल्स एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर फ्लाईटमा महंगो भाडादर तिर्नुपर्ने वातावरण बन्नु अत्यन्त दुखदायी विषय हो। कठिनतामा आफ्ना नागरिकहरुलाई सहजता दिनुको सट्टा नेपाल सरकारले महंगो जहाज भाडा कायम गरी विदेशमा रहेका पीडित आफ्ना नागरिकहरुलाई विदेश मै कष्टकर जीवन बिताउन बाध्य पार्न खोजेको हामीलाई महशुस भएको छ। विदेशमा कामगर्ने नेपालीहरूले नै पठाएको रेमिट्यान्सको ताकतमा उभिएको सरकारले बिपतको घडीमा यसरी गैर जिम्मेवार बन्नु बिदेशिएका हामी नेपालीहरूका लागी अत्यन्त दःखद कुरा हो।
अन्तमा, नेपाल सरकारले आफ्ना नागरिकहरुको उद्धारमा गर्ने कुनैपनि बहानाबाजी हाम्रा निम्ति स्विकार्य छैन। आफ्नै पैसा तिरेर स्वदेश फर्कन चाहने र हवाई खर्च जुटाउन नसक्नेहरुको लागी पनि संगसंगै उद्धार ब्यबस्थापन गर्नुपर्दछ। देशको अर्थतन्त्रको लगभग एक तिहाई योगदान पुर्याउने बैदेशिक रोजगारमा रहेका धेरै श्रमिकहरु कोरोनाको महामारीको कारणले बिपतमा छन्। बैदेशिक रोजगारमा जानु अगाडी श्रमिकले जम्मा गरेको कल्याणकारी कोषमा छ अर्ब भन्दाबढी रुपियॉं थन्किएर बसेको छ। उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यबस्था अनुसार विदेशमा महामारीको अवस्थामा उद्दारको लागि प्रयोग गर्नु पर्दछ। यसै विषयमा गैर आबासीय नेपाली संघले सरकारलाई बुझाएको RELIEF, REPATRIATION and REHABILITATION progran मा सो रकम प्रयोग गरेर राहत तथा उद्दार गर्नुपर्ने माग राखेपनि सरकार चाँही महँगो भाडा तोक्नमै व्यस्त छ। हामी यथासक्य चाँडो अलपत्र परेका नेपालीहरूलाई नेपाल फर्काउने उचित प्रबन्ध मिलाउन नेपाल सरकार र सरोकारवाला सबैमा यसै बिज्ञप्ति मार्फत जोडदार माग गर्दछौँ।
राजन त्रिपाठी संयोजक अमेरिका क्षेत्र
नारायण आचार्य संयोजक यूरोप क्षेत्र
प्रबिण गुरुङ्ग संयोजक मध्य पूर्व क्षेत्र
रोशन थापा क्षेत्रीय संयोजक अफ्रिका
गैर आवासीय नेपाली संघ,
अन्तर्राष्ट्रिय समन्वय परिषद

प्रतिक्रिया

सम्बन्धित सामाग्री