आजदेखि इङल्याण्डमा सार्वजनिक यातायात र अस्पतालमा मास्क अनिवार्य

लण्डन । इ‌ङ्ल्याण्डमा आजदेखि सार्वजनिक यातायातमा हिँडडुल गर्दा अनिवार्यरुपमा मास्क लाउनुपर्ने (अनुहार ढाक्नुपर्ने) नियम लागू हुँदैछ।

यस्तै, अस्पतालका कर्मचारीले, बहिरंगका बिरामीहरुले र अस्पतालमा बिरामी भेट्न आउनेहरुले पनि मास्क लाउनु पर्ने छ ।

विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा मास्क लगाउनु उचित हुन्छ ।

सार्वजनिक यातायात

आजदेखि बस,रेल, फेरी, हवाइजहाजबाट इङल्याण्डमा यात्रा गर्दा कोरोना भाइरस संक्रमणकाे जाेखिम घटाउन मुख ढाक्नैपर्ने हुन्छ । सरकारको नीति अनुसार ११ वर्षमुनीका बालबालिका, अपाङ्गता भएका मानिसहरु, श्वास फेर्न गाह्रो हुुनेहरु र ओठबाट कुराकानी गर्ने मानिससित हिँड्नेहरुलाई यो नियम लागूहुने छैन ।

मुख ढाक्नुपर्ने नियम यात्रा गर्दा मात्र लागू हुने बताइएको छ तर पर्खँदा भने मुख ढाक्नैपर्छ भन्ने छैन । मास्क नलाएको व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न नदिइने र  जरिवाना समेत हुनसक्ने बताइएको छ ।

यस्तै क्रुजमा यात्रा गर्दा, ट्याक्सी वा भाडाका सवारीसाधनमा यात्रा गर्दा वा उबरमा यात्रा गर्दा पनि मास्क लगाउन अनिवार्य गरिएको छ ।

उता बेलायतका अन्य भाग वेल्समा सामाजिक दुरी कायम गर्न सम्भव नहुने ठाउँमा मास्क लगाउन अनुरोध गरिएको छ । तर अनिवार्य भने गरिएको छैन । यसैगरी उत्तरी आयरल्याण्ड र स्कटल्याण्डमा पनि मास्क लगाउन सल्लाह दिइएको छ र अनिवार्य गराइएको छैन ।

सरकारले मास्क मात्र नभई अनुहार ढाक्न जुनसुकै वस्तु प्रयोग गर्न भनेको छ । यस्ता वस्तु घरमै बनाउन सकिने पनि बताइएको छ ।

अस्पताल

इङ्ल्याण्डमा आजदेखि अस्पतालमा बिरामी भेट्न जाने तथा बहिर‌ंग सेवाका बिरामीहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ । तर अनुहार नढाकेकै कारण सेवाबाट वंचित भने नगराइने बताइएकाे छ । यदि कसैसित मास्क वा अनुहार छोप्ने वस्तु नभएमा अस्पतालले उपलब्ध गराउने छ ।

एनएचएस इङ्ल्याण्डले आजदेखि बिरामी भेट्न दिने भएको हो । यसअघि बिरामी भेट्न बन्देज गरिएको थियो । तर विभिन्न ट्रष्टहरुले यसबारेमा आफैँले निर्णय गर्ने बताइएको छ ।

यसैगरी, अस्पतालका कर्मचारीले आजदेखि सर्जिकल मास्क अस्पतालका सबैठाउँमा सबै बेला लगाउनुपर्ने छ ।

विश्व स्वास्थ्य संगठन के भन्छ ?

विश्व स्वास्थ्य संगठनको नयाँ निर्देशनअनुसार ६० वर्षमुनीका सबैले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क लगाउनु वा अनुहार ढाक्नु पर्दछ । यस्तैगरी साँघुरो ठाउँमा काम गर्दा पनि यसो गर्नुपर्दछ ।

मास्क लगाउँदा वा अनुहार ढाक्दा त्यसले मुखबाट निस्कने छिटाहरुलाई अवरोध गर्ने गर्दछ ।

विश्व स्वास्थ्य संगठनले ६० वर्षमाथिका वा गम्भीर स्वास्थ्यावस्थाका मानिसका लागि चिकित्सकीय मास्क लगाउन सुझाव दिएको छ । यस्तै कोभिडका संकेत देखिएका र उनीहरुका रेखदेखकर्तालाई पनि यस्ता मास्क लगाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री