प्रहरी स्मारक नजिक पिसाब फेर्ने युवकलाई १४ दिन थुनामा राख्न आदेश

लण्डन । प्रहरी किथ पाल्मरको स्मारक नजिक पिसाब फेरेको अभियोगमा बेलायतमा एक युवालाई १४ दिन थुनामा राख्ने सजायँ भएको छ ।

स्टानस्टिड निवासी २८ वर्षीय आन्ड्रयू ब्याङ्क्सले गत शनिबार लण्डनको केन्द्रीय भागमा भएको प्रदर्शनको क्रममा पाल्मरको स्मारकसँगैको खम्बामा आड लागेर पिसाब गरिरहेको तस्वीर सार्वजनिक भएको थियो ।

आज बिहान वेष्टमिन्स्टर म्याजिष्ट्रेट कोर्टमा भएको सुनुवाइमा उनले आफ्नो गल्ती स्वीकार गरेका थिए । अदालतले उनलाई सार्वजनिक शिष्टता भंग गरेको कसुरमा १४ दिन थुनामा राख्न आदेश दिएको छ ।

शनिबार लण्डनमा आयोजित र्यालीबाट लण्डनका स्मारकहरुमा तोडफोड हुनसक्ने भएकाले सोको सुरक्षार्थ स्वयंसेवीरुपमा आएका श्वेत युवाहरुको टोलीको उनी सदस्य थिए । अदालतमा बयानका क्रममा उनले त्यहाँ स्मारक रहेको थाहा नपाएको बयान दिएका थिए ।

प्रहरी पाल्मरको कर्तब्यपालनकै क्रममा बेलायती संसद भवन बाहिर आत‌ंककारी आक्रमणमा परी २२ मार्च २०१७ मा निधन भएको थियो । उनीसँगै अन्य पाँच जनाले सो आक्रमणमा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री