कहाँ पुग्यो कोरोना भाइरस विरुद्ध खोपको परीक्षण ?

लण्डन । कोरोना भाइरसविरुद्ध खोप बनाउन सारा विश्व लागि रहेको छ ।  हाल १३५ वटा खोपको अनुसन्धान चलिरहेको छ । खोप बनाउन वर्षौँको अनुसन्धान चाहिन्छ तर वैज्ञानिकहरु रातोदिन अर्को सालसम्ममा खोप ल्याउन लागि रहेका छन् ।

गत जनवरीमा शुरु भएको खोप विकासको चरणमध्ये गत मार्चमा मानव परीक्षण शुरु भएकाे थियो । तथापि त्यसले आगामी दिनमा कस्तो बाटो लेला अनिश्चित छ । कुनै अनुसन्धान असफल होलान्, कोही प्रष्ट नतीजा बिना ट‌ुंगिएलान् । केहीले भारइसविरुद्ध शरीरमा प्रतिरोधात्मक क्षमता बनाउनमा सफलता पाउलान् ।

खोप विकासका चरणहरु

खोप विकासमा पाँच वटा चरणहरु हुन्छन् ।

क) प्रिक्लिनिकल – यस चरणमा वैज्ञानिकहरुले खोपको परीक्षण जनावरमा गर्ने गर्छन् । जस्तै मुसा, बाँदरमा । उनीहरुमा प्रतिरोधात्मक क्षमताको विकास भयो कि भएन जाँच गरिन्छ ।

ख) पहिलो चरण– यस चरणमा वैज्ञानिकहरुले सानो संख्यामा मानिसहरुमा परीक्षण गर्छन् । खोप कत्तिको सुरक्षित छ र प्रतिरोधात्मक क्षमतालाई उत्प्रेरित गरिरहेको छ कि छैन परीक्षण गरिन्छ ।

ग) दोस्रो चरण – यस चरणमा सयाैँ मानिसहरुलाई समूह समूहमा जस्तै बृद्धबृद्धा, बालबालिकामा विभाजन गरी खोप दिइन्छ र उनीहरुमा कसरी खोपले काम गर्छ जाँच गरिन्छ ।

घ) तेस्रो चरण– यस चरणमा हजाराैँ मानिसहरुलाई खोप दिइन्छ । यस चरणमा खोप दिइएका कति मानिसहरु संक्रमित हुन्छन् र खोप नदिइएका तर ओैषधिजस्तै पदार्थ दिइएका मानिसहरुसितको प्रतिरोधात्मक क्षमता तुलना गर्ने गरिन्छ । यो चरणमा खोपले कोरोना भाइरसबाट सुरक्षित राख्छ कि राख्दैन निर्धारण गर्दछ ।

ङ) चौथो चरण – यसरी माथिका चरण पार भएर आएका खोपलाई सम्बन्धित मुलुकको नियामक निकायले पुनर्परीक्षण गर्छ र उत्पादनका लागि अनुमति दिने नदिने निर्णय गर्दछ । तर महामारीका बेलामा आपतकालिन प्रयोगका लागि अनुमति दिइन्छ र ओैपचारिक अनुमति पछि दिइने गरिन्छ ।

कोरोना महामारी विरुद्ध चाँडो खोप बनाउनका लागि अमेरिकी सरकारले पाँचवटा खोपको परीक्षणलाई खर्चको अभाव नहोस् भनेर अर्बौँ डलर छुट्याएको छ भने परीक्षणको चरणहरुलाई पनि स‌ंयुक्तरुपमा गर्दै गरिएको छ ।

१३५ वटा खोपमध्ये अधिकांश प्रिक्लिनिकल चरणमा छन् । पहिलो चरणमा आठवटा, दोस्रो चरणमा आठवटा र तेस्रो चरणमा दुईवटा खोप पुगेका छन् । हालसम्म सरकारी नियामकसम्म कुनै पुगेका छैनन् ।

 

कुन खोप कुन चरणमा ?

क) मोडर्ना – अमेरिकी सरकारको सहयोग रहेको यो खोपको मार्चमा आठ जना मानिसमा पहिलो चरणको परीक्षण गरिएको थियो । अहिले दोस्रो चरणमा रहेको यस खोपको परीक्षण जुलाईमा तेस्रो चरणमा प्रवेश गर्ने बताइएको छ । अर्को वर्षको शुरुवातसम्ममा यो खोप तयार हुने योजना बनाइएको छ ।

ख) बायोन्टेक– जर्मन कम्पनी बायोन्टेकले विकास गर्न लागेको यस खोपमा अमेरिकी सरकार, अमेरिकी ओैषधि निर्माता पीफाइजर र चिनियाँ ओैषधि उत्पादक फोसुन फर्माको पनि सहकार्य छ । गत मेमा मानिसमा परीक्षण शुरु गरिएको यो खोप अहिले संयुक्तरुपमा पहिलो र दोस्रो चरणको परीक्षणमा रहेको छ ।

ग)इम्पेरियल कलेज लण्डन – बेलायतको इम्पेरियल कलेज लण्डनले विकास गर्न लागेको खोपको सहकार्य मर्निङसाइड कम्पनीसित रहेको छ । यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण संयुक्त रुपमा जुन १५ देखि शुरु भएको छ ।

घ) इनोभियो– अमेरीकी कम्पनी इनोभियोको खोपको मुसामा परीक्षण सम्पन्न भएको छ र अहिले मानवमा पहिलो चरणको परीक्षण अमेरिकामा चलिरहेको छ भने दक्षिण कोरियामा छिट्टै शुरु हुने बताइएको छ ।

ङ) क्युरभ्याक – क्युरभ्याकले अहिलेसम्म मानिसमा परीक्षण शुरु गरेको छैन । यो खोप प्रिक्लिनिकल चरणमा रहेको छ ।

च) अक्सफोर्ड विश्वविद्यालय– अक्सफोर्ड विश्वविद्यालय र ओैषधि निर्माता आष्टाजेन्काको सहकार्यमा विकास हुँदै गरेको खोप अहिले दोस्रो र तेस्रो चरणको संयुक्त परीक्षणमा छ । अमेरिकी सरकारको आर्थिक सहयोग प्राप्त यस खोपको परीक्षण इङ्गल्याण्ड, ब्राजिल र अमेरिकामा हुँदैछ । यो खोप अक्टोबरसम्ममा पूरा हुने आशा गरिएको छ ।

ज) क्यानसिनो बायो – चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्सले अक्याडमी अफ मिलिटरी मेडिकल साइन्ससित मिलेर खोपको परीक्षण गरिरहेको छ । यो परीक्षण अहिले दोस्रो चरणमा रहेको बताइन्छ ।

झ) बेथ इजरायल डेकोनेस मेडिकल सेन्टर – बेथ इजरायल डेकोनेस मेडिकल सेन्टर र जोन्सन एण्ड जोन्सनले विकास गरिरहेको खोप अहिले प्रिक्लिनिकल चरणमा रहेको छ । जुलाइमा यस खोपको पहिलो र दोस्रो चरणको संयुक्त परीक्षण गरिने बताइएको छ ।

ञ)म्यासाच्युसेट आइ एण्ड इयर– म्यासाच्युसेट आइ एण्ड इयर अस्पतालले विकास गरेको यस खोपको पहिलो चरणको परीक्षण यस वर्षको अन्त्यसम्ममा गरिने योजना छ । यस खोपको विकासमा स्वीस कम्पनी नोभार्टिससित सहकार्य गरिएको छ ।

ट) मेर्क– अमेरिकी कम्पनी मेर्कले गत मेमा कोरोना भाइरसविरुद्ध खोप बनाउने घोषणा गरेको थियो । अहिले यसको खोप प्रिक्लिनिकल चरणमा रहेको छ ।

ठ)नोभाभ्याक्स– अमेरिकामा रहेको नोभाभ्याक्स कम्पनीले कोरोना भाइरसविरुद्ध बनाउन लागेको खोपको अहिले पहिलो र दोस्रो चरणको परीक्षण भइरहेको छ ।

ड)क्लोभर बायो फार्मस्युटिकल– क्लोभर बायो फार्मस्युटिकल र बेलायती ओैषधि निर्माता जीएसकेले संयुक्तरुपमा विकसित गरेको खोपको अहिले पहिलो चरणको परीक्षण भइरहेको छ ।

ढ) बायोर कलेज अफ मेडिसिन – बायोर कलेज अफ मेडिसिन र टेक्सस चिल्ड्रेन्स हस्पिटलले संयुक्त रुपमा विकास गरेको खोप अहिले प्रिक्लिनिकल चरणमा रहेको छ ।

ण) युनिभर्सिटी अफ पिटर्सवर्ग– युनिभर्सिटी अफ पिटर्सवर्गले विकास गरेको खोपको परीक्षण अहिले प्रिक्लिनिकल चरणमा रहेको छ ।

त) युनिभर्सटी अफ क्वीन्सल्याण्ड– अष्ट्रेलियाको युनिभर्सटी अफ क्वीन्सल्याण्ड, सीएसएल र जीएसके मिलेर विकास गरेको खोप पनि अहिले प्रिक्लिनिकल चरणमा रहेको छ ।

थ) सानोफी– फ्रेन्च कम्पनी सानाफीले बनाएको खोप पनि अहिले प्रिक्लिनिकल चरणमा रहेको छ ।

द)भ्याक्सआर्ट– भ्याक्सआर्टले बनाउन लागेको खोप भने मुखबाट दिइने ट्याबलेट हो । यो खोप अहिले प्रिक्लिनिकल चरणमा छ र २०२० को समरमा पहिलो चरणको परीक्षणमा जाने तयारीमा छ ।

ध) सिनोभ्याक– चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले बनाएको खोपको अहिले पहिलो र दोस्रो चरणको परीक्षण चलिरहेको छ । ७४३ जनामा गरिएको सो परीक्षणको सफलतापछि अब तेस्रो चरणको परीक्षण ब्राजिल र चीनमा शुरु गर्न लागेको छ ।

न)सिनोफार्म– चीन सरकारको मातहतमा रहेको ओैषधि निर्माता कम्पनी सिनो फार्मले पहिलो र दोस्रो चरणको संयुक्त परीक्षण अहिले सन्चालन गरिरहेको छ ।

प)चाइनिज अक्याडमी अफ मेडिकल साइन्सेज इन्स्टिच्यूट अफ मेडिकल बायोलोजी -चाइनिज अक्याडमी अफ मेडिकल साइन्सेज इन्स्टिच्यूट अफ मेडिकल बायोलोजीले बनाएको खोपको पहिलो चरणको परीक्षण चलिरहेको छ ।

फ)मुर्डोक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट– मुर्डोक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट अष्ट्रेलियाले यसअघि नै क्षयरोगको लागि बनाइएको खोपले कोरोना विरुद्ध काम गर्न सक्छ कि भनेर परीक्षण गरिरहेको छ । यो परीक्षण अहिले तेस्रो चरणमा चलिरहेको छ ।

यो आलेख न्यूयोर्क टाइम्सबाट अनुवाद गरिएको हो

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री