आरजीएनएस युकेद्वारा रुकुममा खाद्यान्न वितरण

लण्डन ।  बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजीएनएस) युकेले रुकुमको सानी भेरी गाउँपालिका- ३ मा सोमबार ४० घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न संस्थाले राहतस्वरुप प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र २ पोका नुन प्रदान गरेको हो।

आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीका अनुसार उक्त खाद्यान्न वितरण अनलाइन जुममार्फत लाइभ कार्यक्रम पनि आयोजना गरिएको थियो ।

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन युके) का सचिव एवम् आरजीएनएसका उपाध्यक्ष जीत रानाभाटले जुम कन्फ्रेन्समार्फत उक्त कार्यक्रम सञ्चालन गरेका थिए।

आरजिएनएसका ४६ जना सदस्यहरुबाट सहयोग संकलन गरिएको रकम सही ठाउँमा जाओस् भन्नका लागि ब्रिटिस र नेपाली सांसदलाई साक्षी राखेर राहत वितरण गरिएको रानाभाटले बताए। उक्त राहत वितरण कार्यक्रमका प्रमुख अतिथि नेपालमा रुकुमबाट रास्ट्रिय सभामा प्रतिनिधित्व गर्नुहुने साम्सद ठगेन्द्रप्रकाश पुरीले कोरोनाको कहर विरुद्दको लडाईमा स्वदेश र विदेशमा रहनुहुने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताउँदै विषम परिस्थितिमा राहत प्रदान गरेर संस्थाले उच्च मानवीय काम गरेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि बेलायतको इरिथ एन्ड थेम्समिडकी सांसद अबेना ओपेङ असरेले कोरोनाको महामारी विरुद्धको लडाइँमा बेलायत सधैं नेपाल र नेपालीहरुको साथमा रहने प्रतिवद्धता ब्यक्त गरेकी थिइन्। उनले आरजीएनएसले ब्रिटिश समाज र नेपाली समुदाय माझ गरिरहेको कार्यको प्रशंसा गर्दै विगतमा झैँ आगामी दिनमा पनि सहकार्य गर्न तत्पर रहेको बताइन्। कोभिड–१९ बाट विचलित नभई आफू जन्मेको देशलाई राहत वितरण गर्ने कार्यक्रममा आफूलाई सहभागी गराउँदा खुशी लागेको बताउँदै आरजीएनएसलाई धन्यबाद ब्यक्त गरिन् ।

सानी भेरी गाउँपालिकाका वडा नम्बर-३ का वडा अध्यक्ष बिर्खबहादुर बिष्टले राहत वितरण गर्ने संस्था र सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गरेका थिए ।

राहत वितरणको संयोजन नेपाली वेलफेयर सोसाइटी युकेका धन बहादुर सार्कीले गरेका थिए ।

आरजीएनएस महासचिव मञ्जु भण्डारीले हाम्रो सानो सहयोगले कसैको मुहार किन उज्यालो नपार्ने भन्ने अभियानमा हाम्रो संस्थाले सहयोग गरेको बताउँदै स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा बेलायतबाट एनआरएनए आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरुङ, संस्थाका पूर्व अध्यक्ष हरिगोबिन्द गुरुङ , प्रमुख सल्लाहकार मोहन गुरुङ, सल्लाहकारहरु श्याम शेरचन, एनआरएनए इंगल्याण्ड राज्यसमितिका अध्यक्ष दिपक श्रेष्ठ, योगेस गुरुङ, ह्यारी गुरुङ, पत्रकार शिव भण्डारी तथा तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति कार्यकारी निर्देशक डा. बुद्धि नेपाली लगायतले जुममार्फत सम्बोधन गरेका थिए। कार्यक्रमको अन्त्यमा आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीले सहयोगी तथा राहत वितरणमा सहभागी सबैलाई धन्यबाद ब्यक्त गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री