कोरोनाविरुद्धको खोप अक्टोबरसम्ममा बजारमा आउन सक्ने

लण्डन । कोरोना भाइरस विरुद्धको खोप अक्टोबरसम्ममा बजारमा उपलब्ध हुने भएको छ ।

अक्सफोर्ड विश्वविद्यालय, बेलायत सरकार र ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काले संयुक्त रुपमा परीक्षण गरिरहेको खोप  ‘एजेडडीवानटुटुटु’ योजनामुताबिक अघि बढेमा अक्टोबरसम्ममा बजारमा आउने भएको हो ।

आष्ट्रजेन्काका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरीअटले सबैकुरा योजना गरेअनुसार भैदिएमा आफूहरु अक्टोबरबाट खोप बजारमा उपब्ध गराउन तयार रहेको बताएका छन् ।

एक बेल्जियन रेडियोसितको अन्तरवार्ताका क्रममा उनले अहिले सो खोपको अन्तिम चरणको परीक्षण चलिरहेको र अगष्ट / सेप्टेम्बरसम्ममा सोको नतीजा आइसक्ने बताएका छन् । खोप  उत्पादन गर्नुअघिको यस अन्तिम चरणमा खासगरी खोपको प्रभावकारिता र सुरक्षाका बारेमा परीक्षण गरिन्छ ।

अहिले सो खोपको तेस्रो चरणको परीक्षण बेलायत, अमेरिका र ब्राजिलमा चलिरहेको छ ।

सो खोपको प्रभावकारिताका बारेमा चर्चा गर्दै उनले सो खोप लगाएपछि कम्तीमा एकवर्ष भाइरसबाट सुरक्षित राख्नसक्ने बताए ।

आष्ट्राजेन्काले सो खोप विश्वभर २ अर्ब प्रति उपलब्ध गराउने सम्झौता गरेको छ ।

यसैगरी, बेलायतको इम्पेरियल कलेज लण्डनले विकास गरेको खोपको पनि मानिसमा परीक्षण यसैसाता शुरु भएको छ । बेलायत सरकारले सो खोपको अनुसन्धानका लागि ४१ मिलियन पाउण्ड उपलब्ध गराएको छ ।

यो साता ३०० जना मानिसमा सो खोपको परीक्षण गरिने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री