बेलायतबाट उद्धार गरिने नेपालीहरुको उडान अझै अनिश्चित


लण्डन । नेपाल सरकारले बेलायतबाट स्वदेश फर्काउने नेपालीहरुको बारेमा नामावली बुझाएको १० दिन बितिसक्दा पनि फिर्ता गरिने मिति तय गर्न सकेको छैन ।

लण्डनस्थित नेपाली दुतावासले १० दिनअघि नेपाल फर्कन चाहने ४ सय भन्दा बढी नेपालीहरुको तथ्यांक नेपाल सरकारलाई उपलव्ध गराएको थियो । तर नेपाल सरकारले अहिलेसम्म नेपाल फर्कने मिति तोक्न नसक्दा नेपाल फर्किन चाहने व्यक्तिहरु अन्योलमा परेका छन् ।

‘हामीले १० दिन अघि नेपाल सरकारले सबै बिवरण उपलव्ध गराइसकेका छौं,’ दुतावासका प्रवक्ता शरदराज आरनले भने ।
नेपाल सरकारले ६७ उडानमार्फत विदेशमा रहेका नेपालीको उद्धार गर्न सुरु गरेपनि बेलायतका नेपालीहरु फर्काउने मिति भने तोक्न सकेको छैन । बेलायतबाट हवाईजहाज उडाउने मिति तय गर्नुपर्ने पर्यटन मन्त्रालयले निर्णय गर्न ढिलाई गरेको स्रोतले बतायो ।

‘हवाईजहाजको समयतालिका आए पनि पिसीआर चेकजाँचलगायत तयारीका लागि यात्रुहरुलाई कम्तीमा एक साता लाग्ने भएकाले चाँडै उडान मिति तोक्न हामीले पर्यटन मन्त्रालयसँग निरन्तर सम्पर्क गरिरहका छौं,’ प्रवक्ता आरनले भने , ‘अब सबै निर्णय नेपाल सरकार पर्यटन मन्त्रालयको हातमा छ ।’

स्रोतका अनुसार बेलायतबाट नेपालीको उद्धारका लागि टर्किस र जजिरा एयरलाइन्सलाई अनुमति दिने स्रोतले दाबी गरेको छ । नेपाली एयरलाइन्सहरु युरोपमा कालो सूचीमा परेकाले विदेशी एयरलाइन्सले उडान भर्ने निश्चित छ ।

नेपाल फर्कन चाहनेहरुमा १ सय ५४ जना भिसा समाप्त भई लामो समयदेखि रोकिइरहेका र यही महिना भिसा समाप्त हुनेहरु छन् । यस्तै ९६ जना रोजगारी गुमाई बिचल्लीमा परेका छन् । दुताबासका अनुसार अध्ययनका लागि बेलायत आई अध्ययन पूरा गर्न नसकेका र अध्ययन पूरा गरी रोजगारी नपाएका ५० जनाले नेपाल फर्कन इच्छा जाहेर गरेका छन् ।

नेपाल जान चाहनेहरुमा तालिमका लागि बेलायत आएका पाँच जना नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरु, परीक्षा र तालिममा बेलायत आएका २१ जना चिकित्सकहरु छन् । पारिवारिक तथा अन्य कारणले नेपाल फर्कन चाहनेहरुको संख्या ६५ रहेको छ ।
यसैगरी, बेलायतका बाहेक माल्टामा रोजगारी गुमाएका ५ जना र केमन आइल्याण्डमा बेरोजगार भएका ५६ जनालाई पनि तत्काल नेपाल फर्काइनुपर्नेको सूचीमा समावेस छन् ।
सरकारले गत ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने जनाएको छ । पर्यटन मन्त्रालय सोहीअनुसार पहिलो चरणको उद्धारका लागि उडानको तालिका तयार पारेको हो । सो अनुसार खाडी मुलुकहरु र अमेरिकाबाट समेत उद्धार गर्ने समय तालिका सार्वजनिक भैसकेको छ । तर पनि बेलायतको बारेमा अहिलेसम्म केही जवाफ आएको छैन । बेलायतबाट नेपाल जानेका लागि करीव १ हजार ३ सय ५० भाडा तोकिएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री