प्रथम गोरखा भिसीको शालिकका लागि आशा गरिएभन्दा बढी सहयोग

लण्डन । बेलायतको अल्डरसटमा बनाउन लागिएको प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागि नेपाली समुदायबाट उत्साहजनक सहयोग जुटेको छ ।

ग्रेटर रसमुर नेपाली कम्युनिटी, रसमुर काउन्सिल र गोरखा वेलफेयर ट्रष्टलगायतको संयुक्त प्रयासमा स्थानीय प्रिन्सेस पार्कमा बनाउन लागिएको भिसी थापामगरको पूर्ण कदको सो शालिक निर्माणका लागि लक्षीत सहयोगको प्रतिवद्धता जुलाई १ मा पूरा भएको सो परियोजनाका प्रवक्ता तथा ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापाले जानकारी दिए ।

”शालिक निर्माणका लागि लाग्ने १ लाख २५ हजार पाउण्ड उठाउने हाम्रो लक्ष्य रहेको थियो । हिजोसम्ममा हामीलाई १ लाख ४० हजार ९६० पाउण्डको प्रतिवद्धता प्राप्त भएको छ” उनले भने ।

शालिकसँगै रहने शिलालेखमा १ हजार पाउण्डभन्दा माथि सहयोग गर्ने १२५ जना दाताहरुको नाम लेख्ने परियोजनाको योजना छ । सो योजना पनि जुलाई १ मा पूरा भइसकेको उनले बताए । ”हामीले योजना गरेअनुसार शिलालेखमा १२५ जना सहयोगदाताहरुको नाम मात्र लेख्न सकिने ठाउँ छ र त्यो पनि हिजो पूरा भइसकेको छ” उनले भने ।

थापाका अनुसार १२५ वटा स्थान बुकिङ भइसकेपछि पनि १ हजार पाउण्ड माथिको करिब १० वटा सहयोग आइसकेको तर अहिले स्थानाभावका कारण ती सहयोगदाताहरुलाई मुल्तवीमा राखिएको छ ।

”शिलालेखमा दाताहरुको नामावली १२५ वटाभन्दा बढी राख्न मिल्छ कि मिल्दैन भनेर आर्ट काउन्सिलसित सल्लाह गरेर मात्र थप सहयोग स्वीकार गर्न सकिने अवस्था छ” उनले भने । उनका अनुसार यसैबारेमा छलफल गर्न परियोजनाको बैठक यही शनिबार बस्ने भएको छ ।

प्रवक्ता थापाले शिलालेखमा नाम नराखी सहयोग गर्न चाहनेहरुका लागि भने ढोका खुला रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री