त्यतिखेर आइएल सकिने बित्तिकै अभिवक्ताको लाइसेन्स लिन पाइन्थ्यो । मैले नेपाल ल कलेजमा ३९/४१ को व्याचबाट आइएल सकाएको भए पनि ४५ सालमा मात्र अभिवक्ता बन्न पाएको थिएँ । नेपाल बैंकको जागीर छोडेर वकिल बन्ने तयारी गरेँ । पहिलोपल्ट मसँग भएको ६ हजार रुपैयाँको कानूनसम्बन्धी पुस्तक किनेर चौतारामा डाइनामिक ल सेन्टर भन्ने अफिस खोलेँ । पछि चन्द्रकुमार बस्नेतजी पनि मसँगै काम गर्न थाल्नुभयो । म त्यतिखेर देखिनै पूरा राजनीतिमा लागिसकेको हुनाले अफिसको काम सबै बस्नेतजीले नै हेर्नुहुन्थ्यो । फिराद, प्रतिउत्तर, साक्षी बकाउने सबै काम उहाँले नै गर्नुहुन्थ्यो । म मुद्दामा बहस गर्न भने पुग्थेँ । पार्टीका साथीहरुकै विरुद्ध ज्यामिरेको गुमानसिंह तामागंको मुद्दामा पहिलो बहस गरेको थिएँ, जुन मुद्दा जितियो पनि । तुल्सी र नीलकाजी बीचको मुद्दामा पनि संलग्न भएँ । सबैभन्दा नमज्जा चाहिँ एउटा सवारी दुर्घटनाको मुद्दामा चालकलाई पूर्पक्षको लागी थुनामा राख्ने आदेश गर्यो । जुन अन्य अवस्थामा त्यस प्रकारको आदेश हुँदैनथ्यो । चालकको बुढी आमालाई आफ्नै लजमा राखेर घर पाँचखाल जाने गाडीभाडा समेत तिरेर पठाएको थिएँ । म पार्टीको अध्यक्ष पनि भएकोले सबै हाम्रा समर्थक शुभचिन्तकहरुको मुद्दा मैले नै हेर्नुपर्थ्यो ।
बार इकाइको गठन हुँदा मलाई केन्द्रीय पार्षद बनाइयो । प्रत्येक तीन तीन महिनामा नेपाल बारको केन्द्रीय पार्षदहरुको बैठक विभिन्न ठाउँमा हुन्थ्यो । राष्ट्रिय सम्मेलन प्रत्येक दुई वर्षमा हुन्थ्यो । म प्रायः सभा सम्मेलनहरुमा जान्थेँ । कार्यक्रममा मेरो सक्रिय सहभागिता हुन्थ्यो । प्रश्न गर्ने, भाषण गर्ने, पार्टीको तर्फबाट कुनै छलफलमा भाग लिने गरिन्थ्यो । चुनावमा चाहिँ प्राय हामी एमाले लगायतको वामपन्थी मोर्चा बनाइन्थ्यो । शुरु शुरुमा त अगाडी कस्सीएर भाषण गर्न नाम टिपाउथेँ तर पछि रहर लाग्न छाड्यो र नाम टिपाउन छाडे पछि खै त सुरेन्द्रजी भनेर बोलाएर बोल्न बाध्य पारिन्थ्यो । कृष्णप्रसाद पन्त, राधेश्याम अधिकारी, प्रकाश वस्तीहरु अध्यक्ष बन्नुभयो । वीरगंजमा भएको सम्मेलनमा कृष्णप्रसाद सरसँग साँझपरेपछि बगेडी खाएको सम्झना भइरहन्छ ।
त्यही सम्मेलनमा जाँदा हेटौडामा कैलाश विष्टसँग भेट भयो । वहाँको गाडी चलाउने त उही पहिला पूर्पक्षमा थुनामा परेको चालक पो रहेछ । लण्डन आएपछि कैलाश विष्टसँग फेरि पहिलाको कुराहरु सम्झियौँ । यही सम्मेलनमा वकिलहरु बीच हात हालाहाल पनि भयो । बाग्लुगं दागं, बुटवल, पोखरा, चितवन, दोलखा, धेरै स्थानहरुमा पुगियो । सबैसँग राम्रो चिनजान परिचय पनि भयो । मलाई भने सधैं एउटै कुराले सताइरह्यो । सबैजना अधिवक्ता, वरिष्ठ अधिवक्ता आफूभने अभिवक्ता, बीएल पनि गरिएन, बीएड तिर लागियो । कसरी अधिवक्ता बन्ने ? फेरि बीएल गरेपनि प्रमाणपत्र लिन परिक्षा दिन पर्ने भयो । जसरी भएपनि अधिवक्ता बन्ने मेरो दृढइच्छा शक्ति बढ्यो । आइएलमा लामो समय अंग्रेजीमा फेल भएको संझेर झस्किन्छु । फेरि पनि बीएल प्राइभेट दिने सोच बनाएँ । तीनै वर्षको परीक्षा कुनैपनि ब्याक नलागी पास पनि भएँ । त्यो कुरा संझेर अहिले पनि विश्वास नै लाग्दैन । अधिवक्ताको प्रमाणपत्र लिन बारको छुट्टै परीक्षा दिन पर्ने नियम हामी भन्दा एकवर्ष अगाडिबाट लागु भएको थियो । हामी परीक्षा दिएर प्रमाणपत्र लिनेमा दोस्रो ब्याचका थियौं । उक्त परीक्षा २०५२ सालको मंसिर २९ गते तय भएको थियो । जनयुद्धको तयारी २०५१ को अन्त्यतिरबाट गरिसकेका थियौं । सिन्धुपाल्चोकमा ५२ सालको बीचतिरबाट ठूलाठूला घटनाहरु नै घटे । म जसोतसो बचिरहेको थिएँ, तर कुनै पनि बेला भाग्न पर्छ भनेर सबै पुस्तकहरु र लुगाहरुसहित एउटा झोला तयार बनाइ राखेको थिएँ । एक बिहान म कलेज पढाएर घर फर्कदै थिएँ । शारदाप्रसाद ढुंगेल, जो हाम्रो परिवारको मित्र हुनुहुन्थ्यो उहाँले ‘ए कान्छा, तँ अझै यतै छस्, कुनैपनि बेला समात्न सक्छ है । हिजो राति हामी सबै सिडीओकोमा गएका थियौं । अन्य पार्टीका प्रतिनिधिहरु (मलाई नामै भनेको थियो तर लेख्न उचित लागेन) उनीहरुले मलाई समातेपछि सबै थाहा पाइन्छ भनेका रहेछन् । आजबाट व्यापक धरपकड शुरु हुँदैछ है’ भनेपछि म छिटोछिटो घरमा गइ झोला बसपार्क पुर्याउन कान्छा दाइलाई भनेँ । खाना पाकिसकेको थियो, जयन्द्र दाइले धेरैपछि आफैँले मासु किनेर घर लग्नुभएको थियो रे तर मैले खान मानिनँ । घरबाट म घलेगाउँ हुँदै मिनुलाई भेट्न दुधराज सरको घरमा भएको बोर्डिगं स्कुलमा गएँ । उनीसँग भएको पैसा लिएर म पुरानोबजार बसपार्क पुगेर हतारमा बसमा निस्किएँ ।
त्यसदिन साँगाचोकमा पार्टीको बैठक थियो । त्यहाँ सबै जिल्ला नेतृत्व आउने कुरा थियो, मलाई पनि बोलाइएको थियो तर म जाने सोचमा थिइनँ । म आफू भागेर अरु सबै साथीहरु पक्राउ परेभने म जिन्दगीभरी पछुताउनुपर्ने थियो र सारा सिन्धुपाल्चोकले असर व्यहोर्न पर्ने थियो । त्यसैले साँगाचोक स्कुलको माथि डाँडामा पुगेपछि म बसबाट झरेर दौडिंदै जनजागृति स्कुलमा छिरेर वाग्जु लामालाई सबै कुरा सुनाएर म भन्ज्यागंमा पुगें । त्यहाँ बिष्णुलाल श्रेष्ठलाई भनेर म फेरि बस चढेर काठमाण्डौतिर लागें । नभन्दै केही समयपछि प्रहरीले साँगाचोकमा छापा मारेछन् सबैजना बच्न सफल भएछन् । हाम्रो माघ २९ मा हुने भनेको परीक्षा खै के कारणले हो फाल्गुन १ गतेका लागी सरेको थियो । म भने १ गते कहाँ कहाँ के होला भन्ने खबर सुन्नमा आतुर थिए । हाम्रो परीक्षा पुरानो बानेश्वरको एउटा स्कुलमा भएकोथियो । परीक्षा दिएर सबै पत्रपत्रिका किनेर घरमा आएँ । छापाभरि हिजो राति गरेका घटनाहरु बारेमा छापिएको थियो । म भने अब के होला ? कता जाने के गर्ने ? भन्ने भविष्यका बारेमा सोचिरहेको थिएँ ।
अब जे भएपनि अधिवक्ता बन्ने धोको चाहिँ पूरा हुनेमा निर्धक्क थिएँ । मेरो यो अधिवक्ता बनी छाड्ने इच्छाले चौतारा छाडेर आएको थिएँ । अन्यथा मेरो भूमिगत हुने इच्छा नभएकोले चौतारामा कानून व्यवसाय गरेर बस्दा झन् खतरा हुन सक्थ्यो । परीक्षा सकेर म तुरुन्तै घर जान मिलेन त्यसैले बाग्लुगं म्याग्दी तिर घुम्न गएँ, फेरि काठमाण्डौमा आएर बसें । अधिवक्ताको परीक्षामा म पास भएको रहेछु । त्यहाँ काम गर्ने एकजना साथीसँग सम्पर्क गरेर कति नंबर पाएको रहेछु भनेर बुझ्दा तेस्रो नंबरमा मेरो नाम रहेछ । सबै विषयमा राम्रो भएको रहेछ । यदि अधिवक्ता बन्छु भन्ने दृढसंकल्प नगरेको भए जीवनले कुन मोड लिने थियो होला यसै भन्न सकिएन । तर ती भएका कुरा हुन खोजेका कुराको स्मृतिले मानवीय संचेतनामा धेरै विचलन ल्याइदिन्छ ।
श्रेष्ठको मेरो आधा शताब्दी पुस्तकबाट
बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।