लकडाउनबाट इङल्याण्डको जनजीवन क्रिस्मस सम्ममा सामान्य अवस्थामा आउने

प्रधानमन्त्री जोन्सन । तस्बिर बीबीसी

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो क्रिस्मस सम्ममा इङल्याण्डको जनजीवन सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरेका छन् ।

आज बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना संक्रमण नियन्त्रणको नयाँ योजना प्रस्तुत गर्दै उनले सो आशा व्यक्त गरेका हुन् ।

सो योजनाअनुसार अब स्थानीय काउन्सिलहरुलाई कोरोना प्रकोप फैलिएमा नियन्त्रणमा लिने थप अधिकार दिइएको छ । उनले लकडाउनका कारण बन्द रहेका केही क्षेत्र खोल्ने पनि बताएका छन् ।

उनका अनुसार अगष्ट १ तारिखदेखि सरकारको ‘सम्भवभए घरैबाट काम गर्नु’ भन्ने सल्लाह परिवर्तन हुनेछ । सरकारले अब घरबाटै काम गर्ने कि कार्यालयबाट गर्ने यसको निर्णयको जिम्मा सम्बन्धित रोजगारदातालाई दिएको छ ।

उनले लकडाउनका कारण सरकारले रोकेका क्षेत्रहरुलाई पुनरावलोकन गर्दै नोभेम्बरसम्ममा धेरै हदसम्म सामान्य अवस्थामा फर्काउने बताएका छन् ।

तर उनले आवश्यक परेको खण्डमा लकडाउन कडा पार्न नहिचकिचाउने पनि प्रष्ट पारेका छन् । अहिले खोलिएको लकडाउन शर्तसहितको भएको उनको भनाइ छ ।

“यदि हामीले अहिलेसम्म गरे जस्तै एकता देखाउन सके भाइरसलाई जित्न सक्छौँ ,”उनले भने । सबैभन्दा राम्रो होस् भन्ने कामना गर्ने तर सबैभन्दा नराम्रोको तयारी गर्ने पनि उनले बताए ।

उनले हालसम्मको संक्रमण दर शून्य दशमलव ७ देखि शून्य दशमलव ९ का बीच रहेको पनि बताए ।

जोन्सनले अगष्ट १ तारिखदेखि लिजर सेन्टरहरु, बोलिङ, स्केटिङ रिन्कहरु, क्यासिनोहरु, ब्यूटिसियनहरुलाई खोल्न अनुमति दिइएको छ । यस्तै इन्डोर थियटर र कन्सर्टहरुलाई पनि खोल्न अनुमति दिइएको छ तर सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

यस्तै ३० जनासम्मको विवाह पार्टीका लागि अनुमति दिइएको छ ।

सेप्टेम्बरदेखि विद्यालयहरु, नर्सरीहरु, कलेज र विश्वविद्यालयहरु खुल्ने छन् । अक्टोबरदेखि स्टेडियमहरुमा मानिसहरुको प्रवेश खुला गर्ने सरकारको योजना छ । यस्तै सभा सम्मेलनहरु गर्न दिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री