भिसी कुलवीर थापाको शालिकका लागि छोटो समयमै उठ्यो आधा रकम

लण्डन । अल्डरसटमा बन्न लागेको प्रथम गोरखा भिसी कुलवीर थापामगरको शालिक निर्माणका लागि छोटो समयमै प्रतिवद्धता गरिएकाेमध्ये आधा सहयोग उठिसकेको छ ।

ग्रेटर रसमुर नेपाली समाज र रसमुर बोरो काउन्सिलको विशेष योजनास्वरुप बन्न लागेको सो शालिक निर्माणमा हालसम्ममा ४७ प्रतिशत  सहयोग दाखिला भइसकेको परियोजनाका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिए ।

गत दुई सप्ताहन्तामा सोंपाल समाज युके, अल्डरसट गोर्खा आमा समूह एम्पायर हल (ए), स्याण्डहर्स्ट नेपाली समाज, मगर संघ रसमुर शाखा, गोरखा जिल्ला गुरुङ समाज, इन्टेक १९८६ लगायतले समाजको कार्यालयमै गएर चेक हस्तान्तरण गरेका थिए भने बाँकी दाताहरुले बैँकबाटै प्रतिवद्धता गरिएको रकम दाखिला गरेका छन् ।

सोंपाल समाज युकेका अध्यक्ष युक्त गुरुङले १०१० पाउण्डको चेक प्रोजेक्ट संयोजक मेजर खिम गौचन, समाजका अध्यक्ष रामधन राईलाई संयुक्त हस्तान्तरण गरे । सो अवसरमा साेंपाल समाजका महासचिव भरत गुरुङ, सचिव चिन गुरुङ, ट्रष्टी क्या रि राजेन्द्रमान गुरुङ, सल्लाहकार डेभिड गुरुङ, फानब्रो संयोजक कपिल गुरुङको उपस्थिति थियो ।

यसैगरी, अल्डरसट गोर्खा आमा समूह एम्पायर हल (ए)बाट पनि अध्यक्ष श्रीमती तारा गुरुङले आफ्नो समूहको तर्फबाट ११२० पाउण्डको चेक समाजका अध्यक्ष रामधन राई र प्रवक्ता ओमप्रसाद थापालाई हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष श्रीमती तारा गुरुङ, महासचिव श्रीमती भगवती घले, घनमाया गुरुङको थियो ।

यस्तै, स्याण्डहर्स्ट नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष तथा काउन्सिलर राम कुमार लिम्बुले १०५१ पाउण्डको चेक, गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजित गुरुङ् र महसचिव मान गुरुङले १००१ पाउण्डको चेक प्राेजेक्ट संयोजक मेजर खिम गौचन र समाजका अध्यक्ष रामधन राईलाई हस्तान्तरण गरे । मगर संघ रसमुर शाखाका तर्फबाट अध्यक्ष श्रीमती हेमा राना, कोषाध्यक्ष गणेश बुढाथोकी,सचिव बिर बलालले ११०० पाउण्डको चेक हस्तान्तरण गरे भने इन्टेक १९८६ का तर्फबाट अध्यक्ष मेजर योगेश राईले १९८६ पाउण्डको चेक हस्तान्तरण गरे ।

सो शालिक निर्माणका लागि १ लाख २० हजार पाउण्ड लाग्ने अनुमान गरिए पनि नेपाली समुदायबाट सोको एकतिहाई भन्दा बढी सहयोगको प्रतिवद्धता आइसकेको छ ।

परियोजनामा पहिले १ हजार पाउण्डभन्दा बढी सहयोग गर्ने १२५ जना दाता व्यक्ति वा संस्थाको नाम शिलालेखमा राख्ने योजना रहेकोमा दाताहरुको धुइरो लागे पछि थपेर १४० जना व्यक्ति वा संस्थाको नाम शिलालेखमा राख्ने निर्णय गरिएको थियो ।

अहिले शिलालेखमा स्थान अभावका कारण सहयोग स्वीकार गर्न बन्द गरिए पनि ६ वटा दाताले प्रतीक्षा सूचीमा बस्न नाम लेखाएका छन् ।

समाजले हाल प्रतिवद्धता व्यक्त गरेका दाताहरुलाई सहयोग भुक्तानीका लागि नोभेम्बर ३० सम्मको समयसीमा तोकेको छ । यदि कुनै दाताले सो समयसीमाभित्र सहयोग भुक्तानी गर्न असमर्थ रहेमा प्रतीक्षा सूचीका दातालाई स्थान दिइने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री