जनमत संग्रह पछिको राजनीतिक माहौल

अघिल्लो अंकदेखि नै प्रसंग २०३७ कै चलिरहेको छ । अघिल्लो अंकमा भनिए झैँ  स्ववियु निर्वाचन, नेपालका पहिलो नेपाल बन्द र विराटनगर र रामपुर क्याम्पसमा भएका हत्याकाण्डको बारेमा चर्चा बिना नेपालको राजनीति र सामाजिक मनोविज्ञानमा भैरहेको परिवर्तनको बारेमा वर्णन असम्भवप्राय छ । यी घटनाहरुले लामोकालसम्म देखिएको शक्ति सन्तुलनमा आएको परिवर्तनलाई इंगित गर्दथे । यो बेलाको राजनैतिक प्रतिस्पर्धा मूलत: जनस्तरमा वर्चस्व कायम गर्ने प्रतिष्पर्धा थियो । राज्यस्तरमा नेपाली कांग्रेस र नेकपाका विभिन्न समूहहरुले पहुँच बनाउन थालिसकेका थिएनन् । यसबेलाको तीव्र प्रतिष्पर्धाको कारणले इतर शक्तिहरुका बीचको सहकार्य त्यति नजिक र सरल देखिंदैन थियो । विद्यार्थी प्रतिष्पर्धा र लडाइँका कारणले माउ पार्टीहरु बीच शत्रुता बढेको थियो । विशेषगरी कांग्रेस र नेकपाका विभिन्न समूहहरु बीच । त्यति मात्र होइन, झापाली (तत्कालिन माले), मशाल, मसाल, र अरु पार्टीहरुबीच तीव्र वैचारिक मतभेद थियो । उनीहरुकै बिचमै पनि समकालीन राजनीतिको बारेमा फरक-फरक विश्लेषण थियो ।

राजाले ल्याएको शान्ति क्षेत्रको प्रस्तावको बारेमा सबैजसो राजनैतिक पार्टीहरु विरोधमा थिए । मालेले समर्थन गरेको थियो, उसको विश्लेषणमा यो देशभक्तिपूर्ण प्रस्तावना थियो । अरु पार्टीहरु राजाले आफ्नो सत्ता लम्ब्याउन गरेको प्रस्ताव भनेका थिए । अन्तर्रास्ट्रिय समाचारमाध्यमहरुमा नेकाभन्दा अरु पार्टी त्यति धेरै उल्लेख गरिंदैन थियो । उसको उदारवादी राजनीतिको समर्थनको कारणले अथवा स्वर्गीय विश्वेश्ववर प्रसाद कोइरालाको बटवृक्ष छविको कारणले । वहाँले आफूलाई एक समाजवादी चिन्तक र लोकतन्त्रवादीको रुपमा अन्तर्रास्ट्रिय रुपमै स्थापित गरिसक्नु भएको थियो । अझै पनि कांग्रेसी भाषणहरुमा मालेको कारणले बहुदल हारेको तर्क आइरहेका थिए । मालेले आफूले सक्रिय बहिस्कार नगरेको तर्क प्रस्तुत गरिरहेको थियो ।

२०३७ सालको पुषमा म काठमाण्डौ आउँदा निक्कै रमाइला भाषण सुन्न पाइन्थ्यो । भाषणको एउटा शैली थियो, फर्म्याट थियो । इतर राजनीतिका सम्वाहकहरु, विशेषगरी विद्यार्थीहरु, पंचायतलाई गाली गर्थे । सूर्यबहादुर थापाले नेपालका वनजंगल सखाप पारेर पंचायतलाई जिताएको तथ्य अगाडि ल्याउँथे । महंगीले आकाश छोएको कुरा गर्थे । पंचायतको क्रुरता दर्शाउन कांग्रेस र नेकपासंग सम्वद्ध राजनैतिककर्मीहरुको हत्याको कुरा उठाउँथे । सुखानीमा, छिन्त्तांगमा, जनकपुरमा हत्या गरिएका शहिदहरुका कुरा उठाउँथे । शिक्षा क्षेत्रको व्यवस्थापनको विरोध गर्थे । अझ वामपन्थी विद्यार्थीहरु जनावादी शिक्षाको आवस्यकताको बारेमा बोल्थे । तर त्यो शिक्षा कस्तो हुन्छ भन्ने बारेमा कहिल्यै प्रस्ट धारणा ल्याएनन् । महंगीले आकाश छोएको कुरा उठाउँथे । भ्रस्टाचारको कुरा उठाउँथे । त्यसपछि इतर पक्ष बीचको अन्तरविरोध उजागर गरिन्थ्यो । कांग्रेसले कम्युनिस्ट विचारधारा र त्यसका सम्बाहकको धुजा काढ्थ्यो । कम्युनिष्ट विचारधारावाला पनि त्यसै गर्थे । राजा र कांग्रेसको सांठगांठको कुरा उछाल्थे । अलि पछि त दुवैको घाँटी जोडिएको प्रसंग झिक्थे । कांग्रेसीहरुले कोशी र गण्डकी भारतलाई बेचेको आरोप लगाउँथे । कांग्रेसीजन बामपन्थीहरुलाई चीनमा पानी पर्दा नेपालमा छाता ओढ्नेहरु भन्थे । एकतन्त्रीय शासनका पक्षपाती भनेर विरोध गर्थे । हुन् पनि त्यस बेलासम्म नेपालका बामपन्थीहरुको मुख्य शक्तिहरु लोकतन्त्रप्रति प्रतिवद्ध थिएनन् ।

त्यतिमात्र होइन, वामपन्थीहरुको बिचमा चरम विवाद थियो । मालेलाई ‘झापाली उग्रवामपन्थी’ को आरोप अरु मशाल, मसालजस्ता चौथो महाधिवेशनबाट छुटेका धारका कम्युनिस्टहरुले लगाउँथे । मालेले मोहनविक्रमले नेतृत्वको गरेको लगायत सबै पार्टीहरुलाई संशोधनवादी भन्ने गर्थ्यो । यी दुइटा धारको बिचमा २०३७ सम्म आइपुग्दा चीनको सांस्कृतिक क्रान्तिलाई हेर्ने दृस्टिकोण पनि फरक भैसकेको थियो । मसाललगायत चौथो महाधिवेशनबाट निश्रित समूहहरु चीनको नयाँ नेतृत्वलाई संशोधनवादी भन्द्थे । यता मालेले नयाँ नेतृत्वलाई क्रान्तिकारी नै मान्दथ्यो । यसबेलासम्म आइपुग्दा यी दुवै धारको बिचमा सांगठानिक रुपमा प्रतिष्पर्धा पनि भैसकेको थियो । कार्यकर्ता आकर्षित गर्ने प्रयत्न हुन थालिसकेको थियो । यसले उनीहरु बिचमा तिक्तता बढ्दो थियो । तथापि माओ यी दुवै धारका श्रोत थिए । विषेशत: क्रान्तिको कुरा गर्दा । त्यो बेला शीतयुद्धको काल थियो र सोभियत संघको एउटा ध्रुव थियो । तर चीन वैचारिक रुपमा सोभियतबाट टाढा जाँदै थियो । सोभियत संघलाई हेर्ने दृस्टिकोण भने माले र मसालको मिल्द्थ्यो । उसको स्वरुपको वर्णन गर्ने शब्द चीनबाट आएको थियो र दुवैले त्यसैलाई प्रयोग गर्दथे । म काठमाण्डौ आइपुग्दा सडक र क्याम्पसका भित्ता रंगिएका थिए यस्ता शब्दका नारासहित: ” सोभियत सामाजिक साम्राज्यवाद मुर्दावाद, मुर्दावाद, मुर्दावाद!”

यसको सोझो ब्याख्या थियो, सोभियत संघ आफूलाई समाजवाद भन्छ तर साम्राज्यवादी छ । २०३६/०७ सालमा विद्यार्थीहरुलाई व्यवस्थित रुपले प्रशिक्षित गरियो । कांग्रेसजनहरु कम्युनिस्ट प्रजातन्त्रवादी होइनन् भन्ने तर्कसहित प्रजातन्त्रका आधारभूत् सिद्धान्तको ब्याख्या गर्थे र समाजवाद ब्याख्या गर्दा लोकतान्त्रिक समाजवादका विषयहरु बुझाउँथे । बामपन्थीहरु अझ ब्यवस्थित् थिए । युवाहरुमा राजनीतिकरण दुई चरणमा हुन्थ्यो । कांग्रेस र पंचायत इतर विचार बोक्ने र बोक्न सक्ने पृष्ठभूमि भएकाहरुलाई मार्क्सवाद पढाइन्थ्यो-द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद शुरु गर्दै । त्यसपछि मार्क्सीय राजनीति, शासन, संरचना, कम्युनिस्ट पार्टीको सर्वोच्चता र उसको नेतृत्वमा सर्वहाराहरुको शासन हुने कुरा बुझाइन्थ्यो । विभिन्न चरणमा भएका संघर्षहरुको गाथा पढाइन्थ्यो । स्पार्टाकस विद्रोहदेखि लिएर जाने जति सबै आन्दोलनको बारेमा पढाइन्थ्यो । कहिले कहिले ‘सैद्धान्तिक क्लास’ मा । कहिले पुस्तकहरु पढ्न दिएर । अनुशासनका कुरा पढाइन्थ्यो, माओका राता किताबहरु उधृत गर्दै । अर्को चरणमा उनीहरुलाई ‘रास्ट्रिय र अन्तर्रास्ट्रिय परिस्थितिको विश्लेषण” गर्न सिकाइन्थ्यो । त्यसबेला अन्तर्रास्ट्रिय परिस्थितिको विश्लेषण गर्दा सोभियत संघ सामाजिक साम्राज्यवादमा पतन भएको, अमेरिकी साम्राज्यवादले संसारमा उत्पीडन मच्चाई रहेको, भारतीय विस्तारवादले छिमेकीहरुमाथि थिचोमिचो गरिरहेको, चीन अहिले पनि पुँजीवादी जनवादी क्रान्तिकै चरणमा रहेको र मुक्तिकामी जनता र रास्ट्रको पक्षमा रहेको कुरा बुझाइन्थ्यो।  रास्ट्रिय परिस्थितिको उल्लेख गर्दा पंचायतको उत्पीडनको कुरा आउँथ्यो तर यसलाई विदेशी शक्तिको सक्रिय सहयोग रहेको उल्लेख गरिन्थ्यो । त्यसैले लडाई साम्राज्यवाद र त्यसका रास्ट्रिय मतियार दुवैको विरुद्ध हुनु पर्छ भनिन्थ्यो । विद्यार्थीहरुमा, मजदुर र किसानहरुमा आएको यो चेत देश भरिका भित्ताहरुमा, क्याम्पस परिसरमा, अफिस भवनका भित्ताहरुमा पोतिएका थिए नाराको रुपमा ।

भारतीय विस्तारवाद मुर्दावाद

अमेरिकी साम्राज्यवाद मुर्दावाद

रुसी सामाजिक साम्राज्यवाद मुर्दावाद

जनजीविकाको ग्यारेन्टी गर

जनवादी शिक्षा लागु गर

हत्या, दमन धरपकड बन्द गर

यो चेत संगठनमा नेतृत्वको मापन थियो । ‘सैद्धान्तिक स्तर’ को आधारमा संगठनको नेतृत्व चयन गरिन्थ्यो । प्रारम्भिक समिति/ कमिटीमा राख्ने नराख्ने निर्णयसमेत सैद्धान्तिक आधारमा समेत गरिन्थ्यो । गतिशीलता र सक्रियता, इमान्दारिता, गोपनियता आदि अन्य पक्ष हुन्थे । यी पक्षहरु विशेषगरी जनवर्गीय संगठनको लागि महत्वपूर्ण मानिथ्यो । यी सबै गुण भएका विद्यार्थी, मजदुर, किसान, तथा शिक्षकहरुलाई क्रमश: “पार्टी सम्पर्क” गरिन्थ्यो। यो सुरक्षाका हिसाबले पनि चुनौतीपूर्ण थियो । पार्टी भूमिगत थिए, सम्पर्क दिने नेताहरु पनि ।

सम्पर्क भएपछि क्रमश: पार्टी साहित्य पढ्न पाउने अवसर हुन्थ्यो । विशेषगरी त्यतिखेर मालेको ‘वर्ग संघर्ष’ र  नेकपा मसाल को ‘मसाल’ यस्ता कोटीका साहित्यमा पर्दथे । ‘समकालीन तिसरी दुनिया’ मार्फत आउने एसिया, अफ्रिका, र ल्याटिन अमेरिका भएका कम्युनिस्ट आन्दोलन र रास्ट्रिय मुक्ति आन्दोलनका कथाहरु आउँथे । रोबर्ट मुगावे र जोशुवा एङ्कोमोकोको संघर्षको बारेमा थाह पाउने श्रोत पनि यस्तै हुन्थ्यो । अंग्रेजको तुलनामा आइरिसहरुसंग सहानुभूति राख्ने चलन बढेको थियो अलिक पछि त । बबी सेंड्सको भोक हडताल र मृत्युको कथा सबैको लागि संघर्षको प्रेरणा बनेको थियो ।

साहित्य पनि मानिसहरुलाई प्रेरित गर्ने विषय बनेको थियो । म्याक्सिम गोर्कीको ‘आमा’ धेरैपछिसम्म युवाहरुको बीचमा लोकप्रिय रह्यो ।  राहुल सांकृत्यायन र अलिक पछिल्लो समयमा मोदनाथ प्रश्रितको ‘देवासुर संग्राम’ पनि उनीहरुको लागि प्रेरणाका श्रोत थिए । सम्झना भएसम्म संगठनभित्र घुसपैठ गरेर तहस नहस पार्न सक्ने अवस्थालाई चित्रण गरिएको चिनियाँ उपन्यास ‘युवाहरुको गीत’ लोकप्रिय भएको थियो । घरि घरि संगठन भित्र कसैलाई आरोप लगाउँदा यसको उदाहरण पनि दिइन्थ्यो ।

दोश्रो विद्यार्थी युनियनको चुनाव, इतिहासको पहिलो दोस्रो नेपाल वन्द र क्याम्पसमा भएका विद्यार्थीहरुको बिचको कुटपिट र हत्याको शृंखला अगाडि यो वैचारिक अवस्था र चेतको वर्णन यसकारण पनि आवस्यकता थियो कि यो चेतले यी घटनाहरुलाई केही हदसम्म निर्देशित गरेको थियो । यी घटनाहरु त्यस वर्षका अन्तिम महत्वपूर्ण घटना हुन् इतर पक्षको गतिविधि झल्काउने । यता पंचायतलाई अझ अलोकप्रिय बनाउने घटनाहरु उजागर हुन्छन् त्यसपछि । त्यस्तै एउटा घटना थियो नमिता-सुनिता काण्ड जसले मुलुकै हल्लाएको थियो । अर्को अंकमा यिनै विषयहरु आउने छन् ।

क्रमसः  ….

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री