इतिहासको पहिलो नेपाल बन्द

घटनाहरुको वर्णन गरिरहँदा मैले फेरि सम्झिरहने कुरो के हो भने यो मेरो आफ्नो कथा होइन । मैले यस अघिका अंकहरुमै यो कुरो प्रस्ट्याइ सकेको छु । मेरो होइन भने त मैले भन्ने कथा ग्रीष्म बहादुर देवकोटाको ‘नेपाली राजनैतिक दर्पण’ भाग ३ अथवा ऋषिकेश शाहको ‘पोलिटिक्स इन नेपाल’ पढ्दा पुग्छ। मैले किन लेखिरहनु पर्यो ? त्यसैले मैले प्रारम्भ देखिनै भनिरहेको छु, म साना साना पक्ष उजागर गर्दै छु । केही उदाहरणसहित जसले आफ्नै खाले राजनीति र राजनैतिक संस्कारको विकास गर्यो । म सिंगो नेपालको कथाहरु बीच केही प्रतिनिधिमूलक घटना र थोरै ठाउँहरुको मात्र वर्णन गर्दैछु । मेरो तर्क के हो भने रास्ट्रिय परिदृश्य सृजना गर्नमा यी साना घटना र संस्कार-संस्कृति कारक थिए।

यी साना घटनालाई नजिकबाट देखिरहेको थिएँ यसकारण म वर्णन गर्न सक्षम छु । अनुसन्धानका आँखाले हेर्दा यो अलिकता सहभागीमूलक पर्यवेक्षण (participant observation ) पनि हो । तर कतिपय घटनाहरुको बारेमा म त्यो बेलाका महत्त्वपूर्ण पात्रहरुसंग कुराकानी (interview) पनि गरिरहेको छु । त्यसैले मैले अनुसन्धानको धर्म पनि छोडेको छैन । मसंग कुरा गर्ने केहीको नाम लिनेछु । केहीको नाम वहाँहरुको अनुमति नभएकोले लिएको छैन  । केही विवादित घटनाको बारेमा सबैका विचारहरु पनि समेटिने छन् । यस्ता विषयहरुको सत्य निरुपण गर्ने जिम्मा म तपाइँ पाठकहरुलाई नै छोड्ने छु।

आज र यस पछिका घटनामा म आफैं पात्र पनि हो र दर्शक पनि । त्यसैले कोही बेलामा ‘म’ आउँदा कथा मेरो आफ्नो हो भन्ने नठानियोस् भन्ने आग्रह छ । त्यस बेलाका एक जना महत्त्वपूर्ण पात्र दामोदर उपाध्यायले पर्यबेक्षकको रुपमा मात्र होइन पात्रको रुपमा पनि विवरण दिन सुझाउनु भएको छ । जर्मनीमा रहनु हुने मित्र लिलाराज कार्की, प्राज्ञ नरनाथ लुइटेल र कवि तथा लेखक वि. कडिन्यले पनि घटनाहरु स्मरण गराउने काम गरिरहनु भएको छ । त्यस बेलाका अखिल पाँचौं, छैठौं तथा नेवि संघमा सक्रिय मित्रहरु पनि यस लेखन प्रकृयामा महत्त्वपूर्ण श्रोतको रुपमा हुनुहुन्छ ।

फेरि  २०३७ सालको सन्दर्भतिर लागौं । सन्दर्भ नेपाल बन्द ।आज-भोलि गरिने नेपाल बन्द र त्यसबेला भएका नेपाल बन्दमा तात्त्विक फरक छ । २०३७ सालको चैत १४ गते अखिल पाँचौं र २४ गते अखिल छैठौंले गरेको नेपाल बन्द इतिहासकै पहिलो देशब्यापी रुपमा भएको बन्द हो । यो दमनकारी व्यवस्थाअन्तर्गत विद्यार्थी संगठनहरुबाट आहवान गरिएको थियो तर उनीहरुका माउ पार्टीहरुको निर्देशन र नेतृत्व थियो तर पूर्ण व्यवस्थापन विद्यार्थीहरुले नै गरेका थिए । यो इतर राजनीतिक पार्टीहरुको शक्ति परीक्षण थियो । यसको समर्थनमा बन्द गर्दा स्वयम् व्यवसायी र उद्योगीहरु पनि पुलिस प्रशासनको तारो हुने गर्दथे । काठमाण्डौमा त्यतिखेरको नेकपा (माले) को दह्रो आधार बनिसकेको थियो । विशेषगरी स्थानीय नेवार समुदायबीच ।ललितपुर जस्ता ठाउँहरुमा चौथो महाधिवेशनबाट फाटेका हाँगाहरुको विशेसगरी नेकपा (मसाल)को राम्रो आधार थियो । तुलसीलाल अमात्य, मनमोहन अधिकारी र सिद्धिलाल महर्जनहरुको पकड स्थानीय किसानहरुको बीचमा राम्रो पकड थियो । आन्दोलनमा प्रत्यक्ष वा परोक्ष समर्थन उनीहरुको पनि हुन्थ्यो । म त्यतिखेर पाटनमा बस्थें र अखिल पाँचौंको जिल्ला कमिटीमा राखिएको थिएँ । मैले यसअघि नै भनिसकेको छु, ‘सैद्धान्तिक स्तर’ यसको आधार थियो । मसंग कुनै सांगठानिक अनुभव थिएन त्यसबेलासम्म । त्यतिबेला केदार संजेल (पछिल्लो कालमा सभासद पनि हुनुभयो र अहिले पनि नेकपामा सक्रिय हुनुहुन्छ) संगै डेरा थियो र वहाँकै करबल र प्रेरणाको कारणले त्यो काम थालियो । त्यसैले जिल्ला स्तरमा म पनि नेपाल बन्दको तयारीमा लाग्ने नै गर्थें, एउटा कार्यकर्ताको हिसाबले । नेतृत्वमा  पाँचथरका सुरेन्द्र ढकाल थिए । तर स्थानीयहरुमा मधु चालिसे, मिठाराम शर्मा बजगाईं, बिन्दु श्रेष्ठ लगायतका मित्र थिए । काठमाण्डौ जिल्लाको नेतृत्व त्यतिखेर अच्युत गौतमको नेतृत्वमा थियो, उनी त्रिचन्द्र क्याम्पसको युनियनका सभापति पनि थिए ।

केन्द्रमा टंक कार्की, नन्द कन्दंगवा, ठाकुरचन्द्र श्रेष्ठ, गौरी प्रधान, कोमल भटराई, लक्ष्मी मानन्धर, घनश्याम भुसाल आदि थिए । यसैगरी अखिल छैठौंको नेतृत्व प्रखर वक्ता लीलामणि पोखरेल, पम्फा भुसाल आदिको थियो । ललितपुरतिर त्यतिबेला दिपेन्द्र श्रेष्ठ लगायतका स्थानीयहरुकै नेतृत्व थियो ।

केही सैद्धान्तिक पक्षहरू मैले सुक्ष्म विषयमा लेख्न रहर गरेको कारण स्थानीय राजनैतिक संस्कृतिको विषय उजागर गर्न पनि हो । यो बेलाको (Revolutionary romanticism) क्रान्तिकारी प्रणय उल्लेखयोग्य छ । त्यतिबेला माओ ज्याकेट सबैमा प्रिय थियो । हामी प्राय हरियो ज्याकेट (जो बजारमा छ्याप्छ्याप्ती पाइन्थ्यो) लगाउँथ्यौँ । त्यसैले अखिलहरु चिन्न सुराकीलाई पनि सजिलो थियो । केटाहरु प्राय स्थानीय पसलमा सिलाइएका जिन्स पाइण्ट लगाउँथे । अझ खैनी खानेहरुले स्टाइलसंग पछाडिको पकेटमा सुगन्धित खैनीको बट्टा राख्थे ।

हामीहरुलाई महिला विद्यार्थीहरुलाई सम्मान गर्न सिकाइन्थ्यो । प्रेमभावभन्दा पनि क्रान्तिकारी भाव सिकाइन्थ्यो । त्यसैले उनीहरु लामो समयसम्म संगै काम गरे पनि केहीलाई छोडेर प्रेम सम्बन्ध बनाएनन् । पछि पछि उनीहरु धेरैले दु:ख मनाउ गर्थे अखिलले उनीहरुको स्वाभाविक यौवनजन्य व्यवहारलाई दमित गर्यो भनेर। एक अर्थमा उनीहरुको भनाइ स्वाभाविक थियो । उनीहरु नजिक थिए तर अनुशासनको कारणले दमित थिए । एक विद्यार्थी नेता एक महिला विद्यार्थीसंग गहिरो प्रेममा थिए तर पछि छुट्यो । कारण थियो सम्बन्धमा प्रेमभावको प्राधान्यता थियो तर अभिव्यक्ति थिएन ।

त्यतिबेरसम्म प्रख्यात भारतीय वाम लेखिका महास्वेता देवीका उपन्यासहरु काठमाण्डौमा पाइन थालेको थियो । धेरैमा जेलनेलका विषयहरु गौरवको विषय हुन थालेको थियो । जेल परेको भने पछि एक प्रकारले सम्मान आर्जन गर्न थालिएको थियो । मानौँ क्रान्तिको काम रोमान्चक हुन्छ । यस्तै भावका गीत हरु पनि आएका थिए।

धेरै नै टाढा हामी पुग्ने ठाउँ

लगातार अघि बढ्दै जाउँ.……

महिलाहरुलाई संगठन ल्याउने सजिलो उपाय भनेको उनीहरुलाई कलाकार हुन प्रेरित गरिन्थ्यो । लोचन भट्टराईको गीत र उनको लोकप्रियताले धेरै स्थानीय महिला विद्यार्थीहरुलाई प्रेरित पनि गरेको थियो ।

अखिल पॉचौं र छैठौंसंग र उनीहरुका माउ पार्टीसंग सम्बन्धित अलग-अलग सांस्कृतिक समूह थिए । संकल्प र साधना परिवार । त्यस्तै साहित्यिक पत्रिकाहरु पनि आ-आफ्नै हुन्थे । तिनीहरु आफ्ना पहिचान बनाउन प्रयत्न गर्थे । उदाहरणको रुपमा संकल्प भन्ने पत्रिकालाई लिन सकिन्छ । एकताका त्यसले सबै ह्रस्वमा मात्रै लेख्थ्यो । तर्क थियो जनताको भाषा बनाउने । किताब पसलहरु पनि आ-आफ्ना थिए । भेट्ने ठाउँहरु पनि आ-आफ्ना थिए । केही सैद्धान्तिक पुस्तकहरु, विदेशी प्रकाशनहरु प्राय सबै पुस्तक पसलमा हुन्थे । तर नेपालका प्रकाशनहरु भने आ-आफ्ना विचार र राजनीति दिने सामग्रीहरु यस्ता पसलहरुमा पाइन्थे । आ-आफ्ना पार्टी र नेताहरुका लेखनहरु खोज्न यस्ता ठाउँमा धाउनु पर्थ्यो । पाटन, भोटाहिटी, ठहिटी आदि ठाउँहरुमा यस्ता पुस्तक पसलहरु हुन्थे । भोटाहिटीको वैद्यको पसल लगभग दुवैको साझा जस्तो थियो । पाटनको पसलमा संजय थापाको ‘खुइते कडरिया’ पाइन्न थियो । त्यस्तै छैठौंसंग सम्बन्धित लेख रचनाहरु ‘लालिमा पुस्तक’ पसलमा पाइन्न थियो । भेला हुने ठाउँ पनि अलग-अलग जस्तै हुन्थे । कांग्रेस वा नेवि संघसंग सम्बन्धितहरु त्यतिबेला पनि न्यूरोड पीपलबोटतिर भेट्ने गर्थे । त्यतै पत्रिका किन्ने र पढ्ने गर्थे । अरुका लागि भने अन्य सुरक्षित ठाउँहरु रोजिन्थ्यो । पढाई पछिको सामाजिक जीवन प्राय राजनीतिक सम्बन्धको आधारमा हुन्थ्यो । थोरै मात्र खेलकुदसंग सम्बन्धित हुन्थे । खेलकुद परिषदमा अझै पनि ‘मण्डले’ हरुकै वर्चस्व थियो र अलि हुने-खानेलाई मात्र त्यहाँ गएर खेल्ने मौका हुन्थ्यो ।

यसरी फरक-फरक स्कुलिङ्ग थियो विद्यार्थीहरुको बीचमा। आफ्नै खाले गीत थिए । आफ्नै खाले साहित्य र साहित्यिक श्रोत थियो । आ-आफ्ना खाले राजनीतिक संस्कार विकसित गरिंदै थियो । क्रान्तिकारी ‘रोमान्टिसिज्म’ पनि सबैमा थियो, आ-आफ्नो प्रकारको । क्याम्पसहरु साना-साना निहुँमा बन्द गरिन्थ्यो । जस्तो आन्दोलन भए पनि समर्थन गर्नुपर्छ भन्ने बुझाइ थियो । किनभने आन्दोलनहरु सबै पंचायतविरुद्ध परिलक्षित छन् भन्ने अर्थ लगाइन्थ्यो ।

चैत्रको नेपाल बन्दको घोषणा भएपछि भित्ताहरु रंगीन थाले, पर्चाहरु छरिन थाले । चाँडो निकाल्नु पर्यो भने लिथो गरेर छरिन्थ्यो । प्रहरीहरु सक्रिय थिए, धरपकड तीव्र बनाइएको थियो । काठमान्डौ र ललितपुरका धेरै विद्यार्थीहरु भित्तेलेखनको क्रममा गिरफ्तार भएका थिए । क्याम्पसबाहेक शहरी क्षेत्रमा भित्ते लेखन राति गरिन्थ्यो । धेरैजसो अवस्थामा दिउँसै तयार पारेको पोस्टर र गम लिएर पोस्टर टाँस्न राति जानु पर्दथ्यो । पुलिसको डर त छँदै थियो, त्योभन्दा ठूलो डर थियो कुकुरको । पाटनका सुनसान सडकहरुमा पोस्टर टाँस्न पुग्दा कुकुर भुकेर हैरान पार्थे । मानिसहरु ब्यूँझिएर टाँस्न दिँदैनथे । त्यसैले अलिक पछि बिस्कुट बोकेर हिंड्ने चलन पनि चलेको थियो । बिस्कुट फ्याँके पछि कुकुरहरु चुइँ चुइँ गर्दै बिस्कुटतिर लाग्थे । तर पाटनको गा;बहालजस्तो सघन बस्तीमा दसौं कुकुर एकैचोटी भुक्थे र कहिले कहिले त पुलिसको ध्यानाकर्षण पनि गराउँथे । तर पनि रमाइलो हुन्थ्यो गमको भाँडो र पोस्टरको रोल बोकेर अँध्यारो  गल्लीतिर दौडन्थ्यौँ हामीहरु ।

पोस्टरिङ्गका केही रोमाञ्चक अनुभव मसंग पनि छन् । सातदोबाटो निवासी एक जना साथी मधु चालिसे  साह्रै सक्रिय हुनुहुन्थ्यो, हट्टाकट्टा र अग्लो हुनुहुन्थ्यो । अलिक निडर स्वभावको पनि हुनुहुन्थ्यो । म पनि अग्लै थिएँ र सारै फिस्टे थिएँ । हामी दुईजना भएपछि भर्याङ पनि नचाहिने । हामीलाई पोस्टरिङ्ग गर्न गा:बहालमा खटाइयो । अहिलेको नगरपालिका भएको ठाउँदेखि अलिक अगाडी मंगलबजार जाने र गा:बहाल शुरुहुने सडकमै । वहाँले तपाई हलुका मान्छे मेरो काँधमा चढ्नुस् अनि भित्तामा टाँस्नुस भन्नुभयो । वहाँले मलाई बोकेर सडकपट्टि फर्किनु भयो । म भित्तापट्टि फर्केर टाँस्न थालें । म भित्तापट्टि फर्किएकोले सडकतिरको गतिविधि देख्दिनँ थिएँ । तर वहाँले सडकतिर हेरिरहनु भएकोले देख्नु हुन्थ्यो । वहाँले प्रहरी भ्यान नजिकै आइपुगेको देख्नुभएछ । त्यसैले भाग भन्दै दौडिनुभयो गल्लितिर । म गर्ल्याम्म भुइँमा खसेर लडेँ । त्यसपछि उठेर अँध्यारो गल्लितिर छिरेर भागेँ । एक/डेढघण्टा पछि आएर हेर्दा हाम्रा पोस्टर रोलहरु र गम पुलिसले लगिसकेको रहेछ ।

चैत १४ गतेका पोस्टर र भित्ते लेखनमा पनि राजबन्दी रिहा गर्ने, जनवादी शिक्षा लागू गर्ने, महंगी घटाउने, निशुल्क शिक्षाको व्यवस्था गर्नेसहित अमेरिकी, सोभियत र भारतीयहरुको विरोधमा लेखिने वामपन्थी नाराहरुले भरिएका थिए ।

चैत १४ आफैँमा धेरै रोमान्चक थियो । त्यसदिन पुलिसले सक्रिय विद्यार्थीहरु प्राय सबै क्याम्पसबाट लगिसकेको थियो । नेतृत्वलाई सजगतापूर्वक जोगाइएको थियो । त्यसदिन हरियो ज्याकेट लाएर हिँड्ने, त्यस्तो ज्याकेटभित्र पाउरोटी बोकेर हिँड्ने सबैलाई पुलिसले बाटबाटै समात्यो । त्यतिखेर अखिलको काठमाण्डौ जिल्ला कमिटीमा महाराजगंज क्याम्पसमा अध्ययनरत खगेन्द्र दाहाल हुनुहुन्थ्यो । पुलिसबाट वहाँ बच्दै काम गर्दै हुनुहुन्थ्यो तर चैत १४ मा पसल बन्द गर्ने क्रममा वहाँलगायत धेरैजना गिरफ्तारीमा पर्नु भयो । अरुलाई महेन्द्र पुलिस क्लबमा लगियो । तर वहाँलाई हत्कडी पनि लगाइएन र नयाँसडक पीपल बोटको अग्लो ठाउँमा उभ्याइयो । प्रहरी अलिपर बसिरहे तर उनलाई भाग्न नसक्ने गरी पहरा दिइरहे । वहाँलाई धेरै विद्यार्थीहरुले चिन्दथे । त्यहाँ नजिकै आएपछि अखिलकाहरुले ‘हेलो खगेन्द्र जी’ भन्दै हात उठाउँथे । जसले वहाँलाई अभिवादन गर्थे पुलिसले उसैलाई समाएर पुलिस क्लब पठाउँथ्यो । वहाँलाई च्याँखे थापेर पुलिसले करिब १५ जनालाई समात्यो ।

काठमाण्डौबाट सयौँ विद्यार्थी कार्यकर्ता समातिए । धेरैलाई लामो समयसम्म ठाउँ फेरि फेरि बन्दी बनाइयो । फेहरिस्त दिनु पर्यो भने लामो हुन्छ । तर उदाहरणको निम्ति हाल नेपाली कांग्रेस धनकुटाका कार्यकर्ता, एक जमानामा अखिलको केन्द्रिय कमिटीको सदस्य र त्यसबेला त्रिचन्द्र क्याम्पस सह-प्रारम्भिक कमिटी सदस्य चुडामणि धमला । उनलाई डिल्लीबजार लगियो, भद्रगोल लगियो, भैरहवा लगियो, स्याङ्जा लगियो र छोडियो । वहाँले त्यहीबेलामा आरके मैनालीलगायत विभिन्न पार्टीका राजनीतिक पार्टीका नेताहरु भेट्नुभयो । यस्तै मधु चालिसेलगायत पाटनका थुप्रै नेता कार्यकर्ताहरुलाई नख्खु जेल लगियो । वहाँहरु पनि राजबन्दीहरुको प्रत्यक्ष सम्पर्कमा रहनु भयो । त्यहीबेला जेलमै हुँदा चिच्याई चिच्याई हामी जित्ने छौं, हामी जित्नेछौं, हामी जित्ने छौं एक दिन. गाइरहनु हुन्थ्यो । यस आन्दोलनले राजबन्दीहरुसंग विद्यार्थीहरुको सीधा सम्पर्क बढायो, त्यसपछि विद्यार्थीहरु राजबन्दीहरु भेट्न नख्खुलगायत विभिन्न जेल जान थाले, मासु र औषधि बोकेर।

चैत १४ जस्तै, चैत २४ पनि राष्ट्रव्यापी बन्द भयो । अखिल छैठौंका धेरै नेता कार्यकर्ता समातिए, कुटिए । यी दुवै बन्दले ‘सुधारिएको पंचायत’ विरुद्ध जनमत दह्रो बनाउन मद्दत गर्यो र दुई धारमा रहेका कम्युनिष्ट समूहहरुले आ-आफ्नो जनाधार दह्रो भएको दावी गर्ने आधार पनि बनाए। रमाइलो कुरा के हो भने प्रत्यक्ष संलग्न नभए पनि परोक्ष रुपले एक अर्कालाई सघाए- विरोध नगरेर ।

क्रमस…….

प्रतिक्रिया

सम्बन्धित सामाग्री