कोरोनाविरुद्धको खोपलाई चिनियाँ अधिकारीले दिए प्रतिलिपि अधिकार

लण्डन ।  चिनियाँ अधिकारीहरुले चीनमा विकास गरिएको कोरोनाविरोधी खोप प्रतिलिपि अधिकार दिएका छन् ।

चिनियाँ समाचारमाध्यम ग्लोबल न्यूज नेटवर्कका अनुसार Ad5-nCoV नाम दिइएको सो खोप चिनयाँ बायोफर्मास्युटिकल फर्म क्यानसाइनो बायोलोजिक्स इन्कर्पोरेसन र चिनियाँ जनमुक्ति सेनाका सरुवा रोग विज्ञ चेन वेईको टीमले विकास गरेको हो ।

अहिले सो खोपको तेस्रोचरणको परीक्षण चलिरहेको छ ।

सो खोपले मौलिकता र सृजनशीलता देखाएको र अन्तर्राष्ट्रिय बजारमा चिनियाँ खोपप्रति विश्वास जगाउने आशा विज्ञहरुले गरेका छन् ।

चिनियाँ राष्ट्रिय सम्पत्ति प्रशासनको वेभसाइटमा प्रकाशित लेखअनुसार सो खोप यदि भाइरस फैलिएमा छोटो समयभित्रै धेरै ठूलो परिमाणमा उत्पादन गर्न सकिने छ ।

खोप उत्पादक क्यानसाइनोले सरकारी अधिकारीहरुद्वारा अनुमति पाइनुले सो खोपको प्रभावकारिता, सुरक्षा पुष्टी भएको बताएको छ ।

सरकारी अधिकारीबाट अनुमति पाएपछि सो खोपको बारेमा बजार प्रवर्धन गर्न सहयोग मिलेको सांघाइका खोप विशेषज्ञ ताओ लिनले बताएका छन् ।

यतिबेला कोरोना भाइरसविरुद्ध खोप उत्पादनको होडमा विश्व लागि परेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गतसाता मात्र रसियामा विकसित खोप सर्वसाधारणमा लगाउन अनुमति दिएका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारत ठूलो परिमाणमा खोप उत्पादन गर्न तयार रहेको बताएका छन् ।

यसबाहेक विश्वभर करिब १३० वटा खोपका परीक्षण चलिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री