मैले यो लेखिरहँदा यो विगत वर्षहरुको अभिलेख जस्तो मात्र भयो, यसको विश्लेषण आएन भन्ने प्रतिक्रिया पनि मेरा केही अनन्य मित्रहरुबाट आइरहेको छ । यो स्तम्भ मुख्यतया अभिलेखमा छुटेका स-साना ठानिएको घटनाहरुको अभिलेख नै हो तर यसको अर्थ तिनीहरुका प्रभाव र तिनीहरुले निर्माण गरेको राजनैतिक यात्राका बाटाहरुको विश्लेषण पनि हो ।
२०३७ सालको जनमत संग्रहको परिणामको घोषणादेखि चैत्रको अन्ततिरको नेपाल बन्द इतिहासको हिसाबले त्यति लामो समय होइन तर त्यसबेला क्याम्पसहरुभित्र भएका राजनैतिक छलफल, गतिविधि र घटनाक्रमहरुले राजनीतिक र सामाजिक व्यवहार र संस्कृतिमा दीर्घकालिन परिवर्तनको लागि योगदान गरेको थियो । केही यस्ता परिवर्तनहरु हेर्दा साना छन् तर उल्लेखयोग्य छन् ।
त्यतिबेलासम्म होली महिलाहरुका लागि असहजता, असम्मान र अपमान बोकेर आउँथ्यो । गल्लिहरुमा हिँड्दा छतबाट फोहोर र चिसो पानी खन्याइन्थ्यो । बाटा बाटामा बेलुनमा हालेर महिला, विशेषगरी केटीहरुलाई हिर्काइन्थ्यो । क्याम्पस वा अफिस हिँड्दै गरेका महिलाहरु कहिले कहिले निथ्रुक्क भिजेर पुग्थे । क्याम्पसभित्र पनि महिलाहरु बेलुन वर्षाका लक्ष्य हुन्थे ।
२०३६/३७ सालको परिवर्तनपछि यो विषय लैंगिक समानताको कसीमा हेर्न थालियो । विशेषगरी महिला अधिकारको बारेमा आएका सचेतनता यसको कारण थियो । गीतहरुमा महिला समानताका विषयहरु आएका थिए । संगठनहरुमा महिला सहभागिता बढ्दो थियो । पुरुष विद्यार्थीहरु पनि लैंगिक समानताको पक्षमा थिए । त्यतिमात्र होइन महिलाहरु विद्यार्थी युनियनमा चुनिएका पनि थिए । सबैभन्दा महत्वपूर्ण कुरो त बेलुन हान्नु महिलाहरुमाथिको अपमान हो र त्यसको प्रतिकार गरिनु पर्छ भन्ने विचार पनि त्यतिकै हावी थियो । विशेषगरी अखिलपक्षीय विद्यार्थीहरुबीच । त्यसैले कसैले बेलुन हानिहाल्यो भने पनि महिला विद्यार्थीहरु युनियनमा गएर आपत्ति जनाउँथे । यसले बिस्तारै बेलुन हान्ने कुराको विरोध हुन थाल्यो र राजनैतिक विरोध गर्नु पर्यो भने महिलाहरुको अपमान गर्नेहरु भनेर विरोध गर्ने चलन भयो । बिस्तारै चिनिएका विद्यार्थी कार्यकर्ताहरु बेलुन हान्ने कामबाट टाढै रहे पनि अरु विद्यार्थीहरु होलीको आनन्द बेलुन हानेर लिने गर्दथे । विस्तारै यस्तो कामको अलिक कडा प्रतिरोध हुन थाल्यो । महिलाहरु पनि आफैं प्रतिरोध गर्दथे, कोही कोही हाँसी पनि दिन्थे र अरु प्रताडित हुन्थे । तर २०४०/४२ तिर आइपुग्दा यस्ता हर्कत घट्न थालेका थिए र क्रमश यो लोप हुदै गयो पनि । अहिले काठमाण्डौमा यस्ता घटना अतीतका कथा भएका छन् । जे भए पनि, यी राजनैतिक परिवर्तन, विचारको प्राधान्यता र राजनीतिले ल्याएको सशक्तिकरणकै कारणले भएको थियो । स्मरण रहोस महिला विद्यार्थीहरुको संरक्षण र सहयोग गरेको कारणले मात्र पनि धेरै संख्यामा महिला विद्यार्थीहरु अखिलका संगठनमा समाहित भएका थिए र घरका अरुलाई पनि समर्थक बनाएका थिए।
प्रसंग आफैं केटाकेटीहरु बीच समानताका आधारमा विनोदी हुने कुराको होइन । यस्ता काम सबै कालमा ग्राह्य नै रहे । प्रसंग एकतर्फी जिस्क्याउने र उडाउने कुराको थियो । मेरो काठमाण्डौ आगमनताका होलीबाहेक पनि केटीहरुलाई उल्ल्याउने काम देखिन्थ्यो । त्यतिखेर त्रिचन्द्र क्याम्पसको बार (wall ) माथि हरे कृष्णको पहेंलो गाम्छा घाँटीमा बेरेर बाटो हिंड्ने केटीलाई दुई हातका ओैंला मुखमा हालेर सिट्ठी बजाउँदै जिस्क्याउँथे केटाहरु । त्यसपछि बाटाहरुमा जिस्क्याउने चलन थियो । त्यो चलन पनि बिस्तारै बदलिएको देखिन्थ्यो । त्यो पनि बिस्तारै हराउँदै गयो । मलाई लागि रह्यो यस्तो चलन हराएको पक्कै छैन, यसका रुप फेरिएका होलान् । त्यसैले २०४८ तिर अचेल कसरी जिस्क्याउँछन् भनेर हेर्ने उत्सुकता भएर एक दिन एक घण्टा जति पुतलीसडकमा भएको इन्हुरेड इन्टरन्याशनल जाने अग्लो बाटोमा उभिएर हेरिरहें । त्यसदिन अनौठो तरिका उद्घाटित भयो । केटाहरु हुईयँ मोटर साइकलमा आउँथे र केटीहरुको धेरै निकट उभिन्थे र केटीहरुले मात्र सुन्ने गरी केही भन्थे र छस्स मोटरसाइकलको ह्यान्डलले कुइनोमा छुवाएर हिँड्थे । केही दिन अवलोकन गरिरहँदा अन्यत्र पनि यस्तै चलन देखेँ जे भए पनि खुल्ला रुपले अपमान गर्ने काम त्यति सामान्य थिएन ।
दोश्रो परिवर्तन राजनैतिक प्रकृतिको थियो र यसको प्रभाव अझ दूरगामी थियो । यसले राजनैतिक संस्कृति र बाटो बिस्तारै बनाउँदै थियो । प्रतिष्पर्धाको राजनीति आफ्नो अभिष्ट पूरा गर्ने बाटो होइन भन्ने बामपन्थी विद्यार्थीहरु चुनावमा होमिएका थिए । प्रतिष्पर्धाका लागि उत्कट अभिलाषा राख्दथे र नेवि संघजस्तै क्याम्पसको तहमा लोकतान्त्रिक विधिमा समाहित भएका थिए । यसले नेतृत्व तहमा हुने बामपन्थी विद्यार्थीहरुले चुनावलाई उपयोगको राजनीतिको रुपमा लिए पनि उनीहरुका समर्थक र मतदाताहरु बीच भोटको राजनीतिलाई एक किसिमले स्थापित गरेको थियो । यसले लोकतान्त्रिक प्रकृयाको मान्यता तलबाट स्थापित गरेको थियो । यसले तलबाट हुने लोकतान्त्रिकीकरणको प्रकृयालाई मलजल गरेको थियो । आजको नेपालको नेतृत्व तहमा यही बेलाको पुस्ताको बर्चस्व छ र यो पुस्ता त्यसैकारणले लोकतान्त्रिक विधिको परिपालक भएको छ । भलै यदाकदा आफ्नो हितमा यसको दुरुपयोग किन नगरेको होस् ।
तेश्रो परिवर्तन दोश्रोसँग सम्बन्धित छ । लोकतान्त्रिक विधि र अभिव्यक्तिको स्वतन्त्रता जबर्जस्ती उपयोग गर्न थालेको यो अवधिमा नेवि संघका विमलेन्द्र निधिहरु हुन् वा अखिलका टंक कार्की र लीलामणि पोखरेलहरु हुन् । आ-आफ्ना आन्तरिक भेलामा हुन् वा सार्वजनिक सभामा हुन् पंचायतको पक्षमा मत नपरेको र यसलाई जबर्जस्ती विजयी घोषणा गरेको कुरा आम विद्यार्थी र मानिसहरुबीच स्थापित गरे । नेपालको यात्रा एउटा सर्वमान्य राजनैतिक व्यवस्था र प्रणालीको स्थापना हो भन्ने कुरा स्थापित गरे । बामपन्थी विद्यार्थीहरुका माउपार्टीहरु भने अझै पनि एकदलीय प्रणालीकै पक्षमा थिए । तथापि नेपालको राजनैतिक यात्रा लोकतन्त्रतर्फ उन्मुख छ भन्ने विचार स्थापित गर्न सफल भए । नेवि संघ त यसको पक्षमा छँदै थियो र अखिल पाँचौंभित्र पनि यस्तो विचार आउँदै गरेको प्रमाण २०३९ सालको पार्टी स्वतन्त्रताको बारेमा आएको विचार र विवाद त्यसको द्योतक हो ।
चौथो परिवर्तन अझ महत्वपूर्ण थियो । चैत्र १४ र चैत्र २४ को सफलता र जनसमर्थनले पंचायत विपक्षमा जनमत बन्दै गएको स्पष्ट संकेत गरेको थियो । नेपालका पार्टीहरु र उनीहरुका जनसंगठनभित्र पंचायतलाई भित्रैबाट कमजोर बनाउनु पर्छ र व्यवस्थाभित्र नै हस्तक्षेप गर्नु पर्दछ भन्ने धारणा प्रवल हुन थाल्यो । त्यतिबेला रास्ट्रिय पंचायतको चुनावको चर्चा हुन थालिसकेको थियो । ऋषिकेश शाह लेख्छन, उनी मेचीदेखि महाकालीसम्मका जिल्लाहरु र केही पहाडी जिल्लामा पुग्दा पार्टीगत आधारमा चुनाव नभएको हुनाले जनतामा १९८१ को चुनावको बारेमा कुनै उत्साह थिएन । त्यसैले पनि पंचायत रुचाइएको थिएन भन्ने देखाउँदछ । आज २०३७ लाई बिट मार्दा मार्दै, २०३८ देखि पुहातु चौधरी र नानीमैया दाहालजस्ता असान्दर्भिक पात्रलाई जिताउनेदेखि लिएर जनपक्षीय उम्मेदवारमार्फत केन्द्र र स्थानिय तहमा पंचायतलाई हस्तक्षेप गर्ने नीति लिन पुगे (यसको चर्चा पछि गरिने छ)।
अन्तमा २०३७ सालभित्रै भूमिगत पार्टीहरु नेकपा (माले) र नेकपा (मसाल) जस्ता पार्टीहरुले समेत देशभरी आ-आफ्ना जनाधर निर्माण गरिसकेका थिए र झन्डै ६० भन्दा बढी जिल्लाहरुमा कुनै न कुनै जिल्ला वा स्थानीय कमिटीहरु निर्माण गरिसकेका थिए । कांग्रेसको त आफ्नो संगठन अध्यावधिक छँदै थियो । विद्यार्थीहरु पनि आफ्ना संगठन सबल बनाइरहेका थिए । अखिल पाँचौंले पूर्वबाट पश्चिमतिर आफ्नो प्रभाव फैलाइरहेको थियो । छैटौं पूर्वतिर (मेची बाहेक) अन्य अञ्चलमा संगठन निर्माण गर्न सफल भएको थियो । नेवि संघ लगभग देशव्यापी रुपमा थियो । केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत अस्कल, त्रिचन्द्र, महेन्द्र रत्न, ल क्याम्पस, त्रिचन्द्र, पाटन क्याम्पस र इञ्जिनियरिङ्ग क्याम्पसहरुमा प्राय विद्यार्थीहरुको कार्यक्रम हुने गर्दथे । त्रिचन्द्रमा अच्युत गौतम, महेश चालिसे, गोपिकृष्ण घिमिरे (पछि विवादास्पद), नविन्द्रराज जोशी आदि सक्रिय थिए । अस्कलमा केदार बस्नेत, लोक सुब्बा, टोप बहादुर रायमाझीहरु उत्तिकै सक्रिय थिए । ठाकुर चन्द्र श्रेष्ठ, ध्यानबहादुर राई, पम्फा भुसालहरु पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसमा थिए । सबै संगठनका त्यस्तै दिग्गज विद्यार्थी नेताहरु केन्द्रीय क्याम्पस, शंकरदेव र इन्जिनियरिंग क्याम्पसमा अध्ययनरत थिए । पंचायत करिब १० वर्ष पछि ढल्यो २०४७ को आन्दोलनको कारणले । तर ‘सुधारिएको पंचायतको’ विपक्षमा जनमत सृजना गर्न यिनीहरु पहिलो पुस्ता थिए ।
अझ २०३८ सालको नमिता सुनिता काण्ड, विद्यार्थी युनियनको चुनाव, विद्यार्थी संगठनहरुको केन्द्रीय सम्मेलन, सिन्धुपाल्चोकको पिस्कर हत्या काण्ड, र राष्ट्रिय पंचायतको चुनावपछि त पंचायतको छवि धुमिल भएको थियो र जनमत खिइँदै गएको थियो । २०३८ का यी घटनाहरु क्रमस: वर्णन गरिने छ ।
(डा कृष्ण उपाध्यायको ‘हामीले देखेको नेपाल’ स्तम्भ अब पाक्षिक रुपमा प्रकाशन हुनेछ । सम्पादक)