यो काम कसले गरेको भन्ने केही वादविवादहरू सामाजिक सञ्जालमा देखिन थाल्यो । म त्यतिबेला लुम्बिनी कपिलवस्तु अभियान बेलायत शाखाको प्रमुख नै थिए । यो अभियानले यस विषयलाई राम्रै उठान गरेको थियो । गैर आवासीय नेपाली संघमार्फत अन्तिम प्रयास भयो । जसले गरे पनि काम भयो, राम्रो भयो यो विषयमा धेरै विवाद गर्न नपर्ने मेरो धारणा थियो । यो कामको बारे एनआरएनको मुख्य वेबसाइटमा कसरी शुरू र काम पूरा भयो भन्ने बारे सबै जानकारी निकै महत्वका साथ उल्लेख गरिएको थियो। कहीं कतै जानकारी दिन पर्यो भने म त्यही वेभसाइटबाट विवरण लिने गर्थें ।
केही महिनापछि मैले नै आयोजना गरेको पानीजहाजको होलिडेमा हाम्रो साझा कम्पनीको वार्षिक भेला र तीजको कार्यक्रममा मेरो त्यो कामलाई प्रशंसासहित सम्मान पाएँ । दुईवर्ष पछि त्यो काम सहितको मूल्यांकन गरी होला ब्रिटेन नेपाल डटकमले बेलायतका १० मध्ये मलाई पनि एक भनेर घोषणा गर्यो । मैले ‘के ठूलो काम गरेको हुँ र’ जस्तो लाग्थ्यो तर साथीहरुले ‘हैन यो त निकै ठूलो काम हो, न त यो पहिले कसैले गर्यो न अब कसैले गर्न सक्छ’ भन्दा मलाई फुर्काएको होला जस्तो लाग्थ्यो । केही हप्ता अगाडी मित्र राजेन्द्र भट्टले तयार पार्नुभएको करिब तीन मिनेटको पुरानो युट्युबको भिडियो पठाउनु भएको रहेछ । पहिला त याद गरेको थिइनँ । त्यहाँ तत्कालीन अध्यक्ष जीवा लामिछानेले ‘बुद्ध कहाँ जन्मेको भन्ने मुद्दा परे हाम्रो जीत हुने प्रमाण हो यो बुद्धको प्रतिमा यहाँ प्रतिस्थापन हुनु’ भन्नु भएको रहेछ । मैले पहिला पनि हेरेको थिएँ यो भिडियो । त्यहाँ मलाई ‘तपाईंले त सम्झनु पनि भएन’ भनेर चित्त दुखाएको कुरा हामी दुवैलाई सम्झना भयो फेरि । राजेन्द्रजीले ‘तपाईंलाई थाहा छ नि खबर कसरी बन्छ’ भनेको अहिले पनि सम्झना बारम्बार आउँछ ।
संविधान दिवसका दिन नेपाल सरकारले करिब छ सय जनालाई विभिन्न प्रकारका उपाधिले सम्मानित गरेको छ । सूची हेर्दा प्रायः जसो बहालवाला राष्ट्र सेवकहरु नै देखिन्छन् । पाउनेहरु सबै सक्षम नै होलान् । नपाउनेहरु सबै असक्षम भन्न पनि मिलेन । डाक्टर सन्दूक रुइतसँग धेरै वर्ष अगाडी केही आँखा क्याम्पहरुमा स्वयम्सेवकको रूपमा काम गर्ने मौका पाएको थिएँ । वहाँको जीवनी पढेपछि त्यस्तो व्यक्तिसँग समीप हुन पाएकोमा नै अहोभाग्य ठानियो । वहाँले यो सम्मान पाएकोमा सबै जना खुशी नै हुनु पर्छ। हुन त यस अगाडी को कसले यस्तो सम्मान पदवी पायो मैले खोजी गरेको छैन तर केही छुटेका हुन सक्ने पात्रहरु बारे सम्झिन भने चाहें ।
कोरोना कालमा अहोरात्र खटिएका तर अहिले कोरोनासँग अस्पतालको बेडमा जुधिरहेका क्याप्टेन विजय लामाको नाम त्यो सूचीमा देख्न पाएको भए वहाँको आत्मबल अझै बढ्ने थियो र उहाँका देश विदेशमा रहेका लाखौं शुभचिन्तकहरु क्याप्टेन लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जय चन्द्र-सूर्य भनेर ताली बजाउने थिए जस्तो लागेको छ । अन्धकारलाई हटाउने कुलमान घिसिङलाई पुन पदमा नियुक्ति गर भनेर उर्लेको त्यो जनसागरलाई कमसेकम उनको कामको उच्च मूल्याकंन गरेको छ सरकारले भन्नसम्म सकेन । दुई युवा छोराहरूको सडक दुर्घटनाका कारण ज्यान गुमाउँदा पुगेको दर्दनाक अवस्थाबाट माथि निस्केर सम्पूर्ण परिवारसहित त्यो महान् कार्यमा लागेका विष्णु गौतमलाई सम्झेको भए हामी जस्ता वहाँको सहयोगीहरु सहयोगमा जुटिरहन ऊर्जा मिल्थ्यो होला । कोरोनाको कहरमा बुबा-आमासँग भारत जाँदा उतै अड्किएका नेपाली चेली मनिषा कोइरालाले भारतले नेपालको भूमिमाथि अतिक्रमण गरेकै हो । यो कुनै हालतमा पनि स्वीकार्य हुने छैन भन्दा भारतको नुन खाएर नेपालको गुण गायो भनेर ठूलो प्रचारबाजी गर्दा नेपाल सरकारले उनलाई मान पदवी देला भनेर सोचेकी त पक्कै पनि थिएन होला तर यस्तो बेलामा स्याबासी दिन किन सानो मन गर्न पर्थ्यो होला र ? सूचना विज्ञानको उपयोग सबै नेपालीले गर्न पाउनुपर्छ भनेर गाउँगाउँमा सेवा उपलब्ध गराउँदै आएका महावीर पुनलाई यो सूचीमा राख्दा सबैको शान बढ्ने नै थियो । अन्तर्राष्ट्रिय खेलमा नेपालको नाम राख्न सफल गौरिका सिंहलाई खै किन सरकारले चिन्न सकेन ? अनवरत रंगमंचमार्फत देश र जनतालाई सेवा गर्दै अब सञ्चारमार्फत अति नै गहन विषय “जातको कुरा” सञ्चालन गर्ने त्यति अग्लो छवि भएका नेपाली सिने क्षेत्रका हस्ती राजेश हमाललाई खै कसरी देखेन ? लामो समय बीबीसी सेवा लन्डनमा काम गरेर परिवार बेलायतमै छाडेर देशको सेवा गर्न समाजमा लुकेका मानिसहरूलाई खोजी खोजी” सुमनसँग “कार्यक्रमका सञ्चालक सुमन खरेललाई सम्मान गर्दा राम्रै हुन्थ्यो । आफ्नो जीवनसँग सम्झौता गरेर विवाह नगरी हजारौं बच्चाहरूको भविष्य निश्चित गराई दिने सिएनएन सुपर हिरो पुष्पा बस्नेतलाई पनि सम्झे हुने थियो । नेपालभरी नै सडकबाट दीनदुखीलाई गाँस, बासको व्यवस्था गर्ने मानव सेवा आश्रमका रामजी अधिकारी, चिकित्सा क्षेत्रको अनियमितताबारे एक्लै आवाज उठाउँदै आएका जनताका डाक्टर गोविन्द केसीलाई सम्झेको भएपनि जनताहरु खुशी नै हुने थिए । हरेक विषयमा जनतालाई सुसूचित गराउँदै आएका रवि लामिछाने वा ऋषि धमला, सरकारलाई सधैं सचेत गराइरहने प्राध्यापक सुरेन्द्र केसी वा भरत दाहाललाई पनि सम्मान गर्दा सकारात्मक सन्देश जाने थियो । यद्यपि वहाँहरूको बारेमा मेरो छुट्टै धारणा रहँदै आएको छ ।
मैले उल्लेख गरेबाहेक धेरै मानिसहरुबाट स्वतः स्फूर्त रूपमा धेरै ठूला साना कामहरू भइरहेका छन् । त्यस्ता पात्रहरुलाई खोजी खोजी सम्मान गर्नु सरकारको दायित्व त हो । त्यसले झन् धेरै समाज सेवा गर्ने हौसला बढ्ने थियो । सेना र शसस्त्र प्रमुखले पाउने अनि अति नै उच्च मूल्याकंन गरिएका प्रहरी प्रमुख शैलेश थापाको नाम नदेखिँदा अलि मिलेन कि जस्तो लागेकै हो । हुन त यो मान पदवी प्रमोशन हुने भर्याङ (निश्चित नम्बर)को रूपमा लिने अनि मान पदवी चाहिँ मन परेकालाई दिने भएको हुँदा कि त जागिरेलाई दिन भएन कि त तक्मालाई मूल्यांकनको आधार बनाउन भएन भन्ने बहस पनि चल्न आवश्यक छ ।