बेलायती महारानीकाे जन्मोत्सवमा सहारा युकेका पूर्व गोरखा सैनिक गुरुङ सम्मानित

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितियाको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदानवापत दिइएको सम्मान पाउनेमा एक पूर्व गोरखा सैनिक पनि परेका छन् ।

शुक्रबार साँझ सार्वजनिक गरिएको सम्मान पाउनेहरुको सूचीमा पर्ने नेपाली मूलका एक मात्र भाग्यमानीमा स्याङ्जा जिल्ला कोल्मा बहाकोट पुर्ख्यौली घर भई हाल बेलायतमा व्यवसायरत दिलिपकुमार गुरुङ रहेका छन् ।

उनले मेम्बर अर्डर अफ ब्रिटिश एम्पाएर (एमबीई) सम्मान पाएका छन् । उनलाई ‘बेलायत र बाहिर रहेका नेपाली समुदायको सेवाका लागि’ सो सम्मान दिइएको उल्लेख छ ।

बेलायती सेनामा सेकेण्ड सेकेण्ड गोरखा राइफल्समा भर्ती भएर २० वर्ष सेवा गरेका गुरुङ सेवाबाट अवकास पाएपछि सामाजिक सेवा र व्यवसायमा सक्रिय छन् ।

उनी सहारा युकेका पूर्व अध्यक्ष हुन् भने कोल्माबहाकोट समाज युकेको पनि अध्यक्ष रहिसकेका छन् । उनी पोखरास्थित सहारा नेपालका पनि मानार्थ सदस्य छन् ।

उनले आफ्नो निजी लगानीमा स्याङजास्थित आफ्नै घरमा साँस्कृतिक संग्रहालय स्थापना गरेका छन् । गाउँघरमा पुराना सामग्रीहरुको संकलन गरिएको सो संग्रहालयमा प्रवेश शुल्क लाग्दैन । यस्तै, स्याङजामै उनले युवा वर्गलाई सक्रिय राख्न फुटसल स्थापना गरेका छन् । पहाडमा ठूला ठूला मैदानको अभाव हुने भएकाले फुटसल प्रभावकारी हुने उनकाे धारणा छ । यस्तै,  बिरुवा गाउँपालिका ओरष्टेमा स्वास्थ्य केन्द्र पनि निर्माण गरिरहेका छन् ।

बेलायती महारानीको जन्मोत्सवमा सम्मानित भएपछि प्रतिक्रिया दिँदै गुरुङले भने, ‘नसोचेको सम्मान पाउँदा लागेको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ ।’ उनले थपे, ” समाजमा काम गर्दै जाँदा कसैकसैले कुनै न कुनै कोणबाट मूल्यांकन गरिरहेको हुँदोरहेछ भन्ने लागेको छ ।”

सन् २००५ देखि उनी बेलायतको पर्यटकीय नगरी ब्ल्याकपुलमा होटल, पब र रेस्टुराँ सन्चालन गर्दै आएका छन् ।

महारानीको जन्मोत्सवका अवसरमा कुल १ हजार ४९५ जनालाई दिइएको सम्मानमा पर्ने उनी एक्लो नेपाली मूलका व्यक्ति हुन् ।

बेलायत सरकारका अनुसार यसवर्ष ५३७ जनालाई ब्रिटिश एम्पायर मेडल (बीइएम), ५६१ जनालाई मेम्बर अर्डर अफ ब्रिटिश एम्पाएर (एमबीई) र २६० जनालाई अफिसर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीई) दिइएको छ । यसरी सम्मान पाउनेहरुमा १ हजार ६९ जना अर्थात ७२ प्रतिशत सामाजिक कार्यमा रहेकाहरु छन् । सम्मानितहरुमा ७४० जना अर्थात ४९ प्रतिशत महिलाहरु छन् भने १३ प्रतिशत एसिएन तथा अफ्रिकन जातीय अल्पसंख्यक समुदायका छन् । यस्तै ६ प्रतिशत अपाङ्गता भएकाहरु छन् ।

पूर्व मन्त्री जेराल्ड होवार्थका साथ दिलिपकुमार गुरुङ

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री