बेलायती सेनाका पूर्व सैनिकहरुका लागि भेट्रान रेल कार्ड, हजारौँ गोरखाले लाभ लिनसक्ने

सर टम मुरलाई भेट्रान्स रेलकार्ड प्रदान गर्दै यातायात मन्त्री ग्रान्ट साप्स

लण्डन । बेलायत सरकारले नोभेम्बर ५ नोभेम्बरदेखि यात्रा गर्न मिल्ने गरी आफ्ना पूर्व सैनिकहरुका लागि सहुलियत दरमा रेलकार्ड जारी गर्ने भएको छ ।

सो रेलकार्ड योजनाबाट पूर्व गोरखा सैनिकहरुसहित करिब ८ लाख ३० हजार पूर्व बेलायती सैनिकहरु लाभान्वीत हुन सक्ने जनाइएको छ ।

सो रेलकार्ड बोक्ने पूर्व सैनिकहरुले रेलमा यात्रा गर्दा कम्तीमा भाडा दरमा एक तिहाई सहुलियत पाउने बताइएको छ । यस कार्डले हालसम्म पूर्व सैनिकहरुले नपाएको सहुलियत पाउने विश्वास गरिएको छ ।

सो रेलकार्ड पाउन सबै पूर्व सैनिकहरु योग्य रहेको बताइएको छ । सो कार्ड पाउन उमेरको कुनै बाधा बन्देज राखिएको छैन ।

हाल उमेरको ज्येष्ठता कारण र अपाङ्गताका कारण १६ देखि १७ लाख पूर्व सैनिकहरुले ज्येष्ठता तथा अपाङ्गताका कारण पाउने रेलकार्ड पाइसकेको बताइएको छ ।

सो कार्ड पाउन २१ पाउण्ड शुल्क लाग्ने यातायात मन्त्री ग्रान्ट साप्सले बताएका छन् । मार्च ३१ देखि भने सो शुल्क बढेर ३० पाउण्ड पुग्ने छ । एकैपटक तीन वर्षका लागि पनि सो रेलकार्ड लिन सकिने छ र त्यसका लागि ६१ पाउण्ड शुल्क तोकिएको छ । यो छुट मार्चसम्म मात्र कायम रहने छ ।

यो कार्ड लिएका सैनिकहरु र उनीहरुसित यात्रा गर्नेहरुले रेल भाडामा कम्तीमा एक तिहाई छुट पाउने छन् । कार्ड बाहकका चार जनासम्म पाँचदेखि १५ वर्ष सम्मका छोराछोरीहरुले पनि भाडामा ६० प्रतिशत छुट पाउने छन् ।

सो कार्ड डिजिटल र भौतिक दुवै स्वरुपमा पाउन सकिने छ ।

सो कार्डबाहकले हालमा इङ्ल्याण्डभित्र रेलमा यात्रा गर्दा छुट पाउने छन् र पछि स्कटल्याण्ड र वेल्समा पनि विस्तार हुने सरकारको आशा छ । तर लण्डनभित्र यात्रा गर्दा मिल्ने छुटका बारेमा ट्रान्सपोर्ट फर लण्डन (टीएफएल) सित छलफल हुँदै गरेको तर निर्णय हुन बाँकी रहेको बताइएको छ ।

भेट्रान रेल कार्य यसअघि  प्रचलनमा रहेको भेट्रान्स कन्सिसनरी ट्राभल स्किम पास (भिसीटीएस) भन्दा फरक रहेको बताइएको छ । भिसीटीएस पास वार पेन्सन पाउने वा सेनाबाट क्षतिपूर्ति पाउने सैनिक र उनीहरुका आश्रितहरुले पाउँदै आएका छन् । उनीहरुले लण्डनका विभिन्न क्षेत्रमा यात्रा गर्दा छुट पाउँदै आएका छन् ।

सरकारको सैन्य सेवामा काम गरेकाहरुलाई सहायता गर्ने योजनाअनुरुप भेट्रान्स रेलकार्ड योजना लागू गरिएको हो । सरकारले सैन्य सेवामा काम गरेकाहरुलाई जीवनपर्यन्त सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री