अभिनेता जोनी डेपले हारे ‘द सन’ पत्रिकाविरुद्ध मानहानीको मुद्दा

जोनी डेप । तस्वीर घेट्टी इमेजेज

लण्डन । अभिनेता जोनी डेपले बेलायतको दैनिक पत्रिका ‘द सन’ विरुद्ध हालेको मानहानी तथा गाली बेइज्जतीको मुद्दा हारेका छन् ।

बेलायतको उच्चअदालतमा आज सो मुद्दाको फैसला सुनाउँदै न्यायाधीश निकोलले द सनले प्रकाशन गरेको समाचार ‘सारमा सत्य रहेको’ ठहर गरेका छन् ।

अभिनेता जोनी डेपले द सन पत्रिकाको अनलाइनमा अप्रिल २७, २०१८ मा प्रकाशित ‘गोन पोट्टी : हाउ क्यान जेके रोलिङ बी जेन्यूइनली ह्याप्पी कास्टिङ वाइफ विटर जोनी डेप इन द न्यू फान्टास्टिक बिस्टस फिल्म’ शीर्षकमा प्रकाशित समाचारबाट आफ्नो मानहानी तथा गाली बेइज्जती भएको भन्दै द सनका प्रकाशक न्यूज ग्रुप न्यूज पेपर्स  र सम्पादक डान उटनविरुद्ध मुद्दा दायर गरेका थिए । समाचारमा अभिनेता डेपलाई ‘श्रीमती कुट्ने’ भनिएको थियो ।

सो मुद्दामा भएको सुनुवाईबाट डेपले आफ्नी तत्कालीन श्रीमती एम्बर हडलाई १२ पटक पिटेको पाइएको न्यायाधीश निकाेलले बताए ।

द सनले सो फैसला प्रेस स्वतन्त्रताका लागि ‘शानदार विजय’ भएको प्रतिक्रिया दिएको छ ।

सो मुद्दामा पराजयसँगै अभिनेता डेपले मुद्दावापत लागेको करिब ४० लाख पाउण्ड पनि ब्यहोर्नुपर्ने भएको छ ।

सो फैसलापछि प्रतिष्ठा व्यवस्थापन क्षेत्रमा काम गरिररहेका वकिल मार्क स्टेफेन्सले यस मुद्दाले डेपलाई बहुतै असर पुर्याएको बताए । उनले भने ‘मुद्दा हाल्ने सल्लाह गलत सल्लाह थियो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री