इङल्याण्डमा ६० वर्ष माथिकालाई कोरोना संक्रमणबाट विशेष ख्याल राख्न सल्लाह

लण्डन । बेलायत सरकारले बिहीबारदेखि इङल्याण्डमा लागू गर्न लागेको चार साता लामो लकडाउनका अवधिमा ६० वर्ष माथिकालाई विशेष सावधानी अपनाउन भनिएको छ ।

लकडाउनको घोषणाका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ६० वर्षमाथिहरुलाई कोरोना भाइरसका कारण गम्भीर बिरामी पर्नसक्ने सम्भावना रहेको बताएका छन् । उनले सो उमेर समूहका मानिसहरुलाई स्वास्थ्यका कारण जोखिममा रहेकाहरुसँगै राख्दै सरकारले जारी गरेका नियमहरु सावधानीपूर्वक पालना गर्न र अरुसँग सम्पर्क घटाउन सल्लाह दिएका छन् । उनले पहिले भन्दा धेरैपटक हात धुन, कार्यस्थल र घरमा पटकपटक छोइने ठाउँहरु सफा गर्न पनि सुझाव दिएका छन् ।

बेलायत सरकारले पहिलो लकडाउनमा ७० वर्ष माथिका मानिसहरुलाई मात्र कोरोना भाइरसबाट जोखिममा रहेको समूहमा राखेको थियो । तर यसपटक भने सरकारले त्यसलाई घटाएर ६० वर्षमा झारेको छ । तर पहिलो लकडाउनमा जस्तो यस समूहमा परेकाहरुलाई घरबाट बाहिर निस्कन बन्देज भने लगाएको छैन । साथै काममा नजान पनि भनिएको छैन ।

डेली मिररसितको कुराकानीमा प्रधानमन्त्री कार्यालयका प्रवक्ताले ६० वर्ष माथिका मानिसहरुले विशेष ख्याल राख्नुपर्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट सो उमेर समूहका मानिसहरु गम्भीर बिरामी पर्नसक्ने प्रमाणहरु भएका कारण उनीहरुलाई सरकारले सो सल्लाह दिएको उनले प्रष्ट गरेका छन् ।

“६० वर्षमाथिका मानिसहरु कोरोना भाइरसबाट धेरै गम्भीर बिरामी हुन सक्ने भएकाले उनीलाई अतिरिक्त सावधानी अपनाउन वैज्ञानिक सल्लाह दिइएको हो” उनले भने ।

६० वर्ष नाघेकाहरुलाई सरकारले चिकित्सकीय जोखिम समूहमा ७० वर्ष माथिका मानिसहरु, ७० वर्ष मुनीका तर हरेक वर्ष फ्लुको खोप लगाउन निर्देशन दिइएका मानिसहरु र गर्भवती महिलाहरुसँगै राखेको छ । सरकारले ७० वर्षमुनीका चिकित्सकीय जोखिममा रहेकाहरुमा लामो समयदेखि वा सामान्य श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरु, लामो समयदेखि मुटुका ब्यथा भएकाहरु, लामोव समयदेखि मिर्गौलासम्बन्धी समस्या भएकाहरु, लामो समयदेखि कलेजोसम्बन्धी समस्या भएकाहरु, लामो समयदेखि स्नायुसम्बन्धी समस्या भएकाहरु, मधुमेहका बिरामीहरु, ओैषधि सेवनका कारण प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु र मोटोपन भएकाहरुको हकमा ४० वर्ष कटेकाहरुलाई कोरोना भाइरसबाट चिकित्सकीय जोखिममा रहेको समूहमा राखेको छ ।

एज युकेले सरकारले ६० वर्ष नाघेकाहरुलाई विशेष ख्याल राख्न दिइएको सल्लाहलाई स्वागत गरेको छ । निर्देशक क्यारोलिन अब्राहमले भनेकी छिन्, ‘विज्ञानले ६० वर्ष माथिकाहरुलाई कोरोना भाइरसले गम्भीर बिरामी पार्नसक्ने प्रष्ट देखाएको थियो । त्यसैले सरकारको निर्णय चिकित्सकीय हिसाबले पनि सही छ ।’

उनले ६० वर्ष माथिकालाई सरकारले कस्तो सहयोग पुर्याउने भन्ने प्रश्न गरेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री