स्वास्थ्यका कारण अति जोखिममा रहेकाहरुलाई घरमै बस्न सल्लाह

लण्डन । इङल्याण्डमा बिहीबारदेखि चार साता लामो लकडाउन शुरु भएसँगै स्वास्थ्यका हिसाबले अति जोखिममा रहेकाहरुका लागि सरकारले नयाँ निर्देशिका जारी गरेको छ ।

बुधबार सार्वजनिक सो निर्देशिकाअनुसार सो समूहमा पर्ने मानिसहरुलाई सधैँ घरमै रहन सल्लाह दिइएको छ । व्यायाम र चिकित्सकसितको भेटबाहेक बाँकी समय घर नछाड्न भनिएको छ । यसरी बाहिर निस्कँदा प्रशस्त सामाजिक दुरी कायम गर्न, हात धुन र अनुहार नछुन सल्लाह दिइएको छ । घरका सदस्यहरुसित पनि दुई मिटरको दुरी कायम गर्न भनिएको छ ।

अति जोखिममा रहेकाहरुलाई सरकारले आफ्नो एकाघरका सदस्य वा आफूलाई हेरचाह गर्नेसित मात्र व्यायाम गर्न सल्लाह दिएको छ । यदि घरबाट काम गर्न नसक्ने अवस्थामा पनि काममा नजान भनिएको छ । उनीहरुलाई सो अवधिमा सरकारले विभिन्न योजनामार्फत आर्थिक सहयोग गर्ने बताएको छ । तर अति जोखिममा रहेका सदस्यका घरका सामान्य स्वास्थ्यावस्था अन्य सदस्यहरु भने काममा जान सक्नेछन् ।

अति जोखिम समूहमा रहेकाहरुको विद्यालय जाने केटाकेटीहरुलाई भने विद्यालय जान कुनै समस्या नहुने पनि बताइएको छ । यदि विद्यालय जाने केटाकेटी नै अति जोखिम समूहमा परेको अवस्थामा उनीहरुलाई विद्यालय पठाउनु पर्ने छैन । उनीहरुलाई घरमै पढने वातावरण बनाउन सल्लाह दिइएको छ ।

यस समूहमा परेका सदस्यहरुलाई अस्पताल र जीपी अपोइन्मेन्टबाहेक अन्य कार्यमा घरबाट बाहिर ननिस्कन भनिएको छ । किनमेल गर्न र ओैषधि पसलमा समेत नजान सुझाव दिइएको छ । ओैषधि चाहिएमा परिवारका सदस्य वा साथीहरुलाई अनुरोध गर्न सुझाव दिइएको छ तर उनीहरु पनि उपलब्ध नभएमा एनएचएसका स्वयंसेवक वा स्वयंसेवक समेत नपाइएमा फार्मेसीलाई आफू स्वास्थ्यका कारण अति जोखिममा रहेको बताएमा फार्मेसीले नै घरमै ओैषधि ल्याइदिने छन् ।

सरकारले ती समूहमा परेका मानिसहरुका लागि ३२ मिलियन पाउण्ड भन्दा बढी राशी छुट्याएको बताएको छ । काउन्सिलहरुमार्फत सो राशी अति जोखिममा रहेका व्यक्तिहरुलाई सहयोग, खाना उपलब्ध गराउन लगायतमा खर्च गरिने छ ।

इङल्याण्डकी उपप्रमुख स्वास्थ्य अधिकृत डा जेनी ह्यारिसले यस समूहमा परेका सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन विशेष सतर्कता अपनाउन अनुरोध गरेकी छिन् ।

यस समूहमा परेकाहरुले सुपरस्टोरमा प्राथमिकताका आधारमा घरमै सामानहरु झिकाउन पाउने छन् भने स्थानीय काउन्सिललाई आवश्यक सहयोगका लागि अनुरोध गर्न सक्नेछन् । यसैगरी एनएचएसका स्वयंसेवकहरुले पनि नियमित रुपमा फोन गरी जीपी तथा अस्पताल अपोइन्टमेन्टका लागि यातायातको प्रबन्ध गरिदिने छन् ।

यस समूहमा परेकाहरुले यसैसाता स्थानीय जीपी तथा एनएचएसबाट पत्र पाप्त गर्नेछन् ।

को पर्छन् अति जोखिम समूहमा 

१. अंग प्रत्यारोपण गरिएकाहरु

२. क्यान्सरका बिरामीहरु

३. गत ६ महिनामा बोनम्यारो वा स्टेम सेल प्रत्यारोपण गरिएकाहरु

४. श्वास प्रश्वासका गम्भीर बिरामीहरु

५. संक्रमणको जोखिममा रहेका दुर्लभ रोगका बिरामीहरु

६. इम्युनोसप्रेसन थेरापी लिइरहेकाहरु

७. मिर्गौलाका डाइलासिस लिइरहेकाहरु

८. विभिन्न रोग भएका गर्भवती महिलाहरु

९. जीपी वा अस्पतालले अति जोखिममा रहेको बताइएका अन्य रोगका बिरामीहरु

प्रतिक्रिया

सम्बन्धित सामाग्री