नेपाल विकासका बारेमा बेलायतमा बहस

लण्डन । सयुक्त राज्य बेलायतस्थित नेपाली राजदूतावासले शनिवार ‘नेपालको विकासका लागि बेलायतमा रहनु भएका विद्वानहरुको विचार र दृष्टिकोण’ बिषयक नेपाल विकास सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायत बीचको सम्बन्धलाई थप प्रवर्द्धन गर्न योगदान गरिरहेको बताएका हुन । उनले नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली को अभियान र संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले नेपालको विकासका लागि आर्थिक कुटनीति सम्बन्धी आफ्नो प्रमुख मन्तव्य प्रस्तुत गरेका थिए । यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा. पदम सिम्खडाले नेपाली आप्रवासी कामदारको स्वास्थ तथा हितूका विषयमा कार्यपत्र प्रस्तुत गरे । अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा. कृष्णप्रसाद अधिकारीले ‘नेपालका सामुदायिक संघ संस्थाहरुका कार्य र त्यसको स्थानीय सरकारसँगको सम्बन्ध’का बारेमा कार्यपत्र प्रस्तुत गरे । सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा. पुनम यादवले तथ्याङलाई लिङ्गको आधारमा छुट्याउन किन आवश्यक छ भन्ने विषयमा प्रस्तुति गरे ।
यसैगरी क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा. बच्चुकैलाश कैनीले ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास’ का बारेमा कार्यपत्र प्रस्तुत गरे । बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमा कार्यरत डा. बीरेन्द्र श्रेष्ठले ‘काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभव’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा भास्कर अधिकारीले ‘नेपालको विकासमा बनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्व’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनमा बेलायतका दुई वटा प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्ड र हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई राजदूत डा. सुवेदीले अभिनन्दन गरे ।

राजदूत डा सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रा. डा. सूर्यप्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संचालन राजदूतावासकी उपनियोग प्रमुख श्री रोशन खनालले गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री