कोरोना भाइरसविरुद्धको खोपले कोरोनाबाट बचाउने सम्भावना ९० प्रतिशत

लण्डन । कोरोना भाइरसविरुद्ध बनाइएको खोपले मानिसलाई सो भाइरसको संक्रमणबाट बचाउन सक्ने सम्भावना ९० प्रतिशतभन्दा बढी देखिएको छ ।

फाइजर र बायोएनटेकले विकास गरेको सो खोपको ४३ हजार ५०० मानिसमा गरिएको परीक्षणबाट सो परिणाम निस्किएको हो ।

खोप निर्माताहरुले यसलाई विज्ञान र मानवताका लागि महत्वपूर्ण दिनको संज्ञा दिएका छन् ।

खोप निर्माताहरुले यसै महिनाको अन्त्यमा सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाउन निवेदन दिने बीबीसीले बताएको छ ।

खोपको विकासमा संलग्न सयौँ कम्पनीहरुमध्ये अन्तिम चरणमा पुगी परिणाम सार्वजनिक गर्ने फाइजर र बायोएनटेक पहिलो भएको छ ।

सो खोपमा प्रतिरोधात्मक क्षमतालाई सक्रिय बनाउन भाइरसको वंशाणुगत कोड दिइन्छ । खोपमा तीन साताको अन्तरमा दुई मात्रा दिइन्छ । दोस्रो खोप दिइएको एक हप्तापछि नै मानिसहरु भाइरसबाट सुरक्षित रहने बताइएको छ ।

सो खोपको परीक्षण जर्मनी, अमेरिका, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको थियो । सो परीक्षणमा खोपको साइड इफेक्ट नदेखिएको र ९० प्रतिशतमा भाइरसबाट सुरक्षा प्रदान गरेको पाइएको थियो । तर सो सुरक्षा कति लामो समयसम्म रहन्छ भन्ने बारेमा भने बताइएको छैन ।

खोप निर्माता फाइजरले यसै वर्षको अन्त्यसम्ममा पाँच करोड डोज उत्पादन गर्न सकिने र सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब ३० करोड डोज उत्पादन गर्न सकिने बताएको छ ।

खोपलाई माइनस ८० डिग्री सेन्टिग्रेडमा राख्न पर्ने भएकाले विश्वभर पुर्याउन भने चुनौतीपूर्ण हुनेछ ।

फाइजरका अध्यक्ष डा अल्बर्ट बोर्लाले विश्वभर फैलिएको स्वास्थ्य समस्यालाई अन्त्य गर्न र मानिसहरुलाई अति नै चाहिएको खोप उपलब्ध गराउन आफूहरु अत्यन्तै नजिक पुगेको बताए । बायोएनटेकका संस्थापक प्रोफेसर उगुर साहिनले परीक्षणको परिणामलाई अति महत्वपूर्ण भएको बताए ।

यद्यपि अहिले सार्वजनिक गरिएको परिणाम पूर्ण परिणाम नभएको र पूर्ण परिणाम परिवर्तन हुनसक्ने पनि बताइएको छ ।

बेलायतले सो खोपको ३ करोड डोज अर्डर गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री