नेपाल-बेलायत परराष्ट्र सचिवस्तरीय वार्तामा गोरखाका समस्या उठाउन गेसोको माग

लण्डन । बुधबार भर्चुअल रुपमा हुन लागेको नेपाल-बेलायत परराष्ट्र सचिवस्तरीय वार्ता गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा कुरा उठाउन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले माग गरेको छ ।

गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वमा गएको गेसोको प्रतिनिधि टोलीले मङ्गलबार काठमाडौँमा परराष्ट्र सचिव भरतराज पौडेललाई भेटी गोरखा भूतपूर्व सैनिकहरुका थाँती रहेका समस्यका बारेमा जानकारी गराएका हुन् ।

भेटपछि गेसोद्वारा जारी विज्ञप्तिमा भर्चुअल बैठकमा गोरखाहरुको समस्याका बारेमा यसअघि गठित प्राविधिक समितिले तयार पारेको १३ बुँदे प्रतिवेदनका बारेमा कुरा उठाउन परराष्ट्र सचिवलाई स्मरण गराइएको बताइएको छ ।

सो भेटमा परराष्ट्र सचिवले अहिलेको सरकार गोरखाहरुको समस्याहरुबारे सजग रहेको र केही समय अघि परराष्ट्र मन्त्रीले बेलायत सरकारको प्रतिनिधि बेलायती राजदुतलाई गोरखाहरुको समस्या समाधानको लागी तयार १३ बुँदे प्रतिवेदन नै नेपाल सरकारको बटमलाइन भएको बताएको स्मरण गराएका थिए । गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायतको भ्रमणका बेला बेलायती समकक्षी प्रधानमन्त्री थेरेशा मे संगको भेटमा त्रिपक्षीय सन्धी पुनरावलोकनको कुरा उठाएको पनि परराष्ट्र सचिवले जानकारी गराएका थिए । परराष्ट्र सचिवले भोलि हुने भर्चुअल बैठकमा पनि गोरखासम्बन्धी यही कुरालाई नेपालको तर्फबाट जोडदार कुरा राख्ने जानकारी गराउनु भयो ।

गेसोले आफूहरुका तर्फबाट कुनै सहयोग चाहिएमा सहयोग गर्न तयार रहेको र भोलिको वार्ताको पूर्ण सफलताको कामना गरेका विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री