कोरोना विरुद्धको खोप पत्ता लगाउने दम्पत्ति

लण्डन । अमेरिकी ओैषधि निर्माता कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले संयुक्त रुपमा विकसित गरेको कोरोना भाइरस विरुद्धको खोपले ९० प्रतिशतसम्म भाइरसबाट सुरक्षित राख्ने समाचार सार्वजनिक भएपछि सो भाइरसले विश्वभर मच्चाएको महामारीसितको लडाइँमा अब मानव जातिले सफलता पाउने आशा जागेको छ ।

फाइजरका बारेमा धेरैलाई थाहा भए पनि बायोएनटेकका बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यो कम्पनी एक चिकित्सक दम्पत्तिले स्थापना गरेको कम्पनी हो । ५५ वर्षीय प्रोफेसर उगुर साहिन र ५३ वर्षीया डा. ओज्लेम टुरेसी यसका संस्थापक हुन् ।

खोपको परिणामसँगै उनीहरु जर्मनीको १०० धनी व्यक्तिहरुको सूचीमा परेका छन् । अहिले उनीहरुको कम्पनी बायोएनटेकको मूल्य २१ बिलियन डलर पुगेको छ ।

बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत साहिनको जन्म टर्कीमा भएको थियो । उनी चार वर्षको उमेरमा पिताको साथमा तत्कालीन पश्चिम जर्मनी पुगेका थिए । उनका पिता फोर्ड मोटरको फ्याक्ट्रीमा काम गर्थे । उता डा. टुरेसीको जन्म भने जर्मनीमै भएको थियो । तर उनका पिता पनि टर्कीबाट जर्मनीमा बसाइँ सरेर गएका थिए । उनका पिता चिकित्सक थिए । टुरेसी अहिले बायोएनटेकको प्रमुख चिकित्सकीय अधिकृत छिन् ।

साहिन चिकित्सकका रुपमा अध्ययन र तालिमपछि अनुसन्धानमा लागेका हुन् । उनले प्राज्ञिक जीवनकै क्रममा टुरेसीलाई भेटेका हुन् । टुरेसीले एक अन्तर्वार्तामा विवाहको दिनसमेत दुवैले प्रयोगशालामा काम गर्न समय मिलाएको बताएकी थिइन् ।

दुवै जनाको अनुसन्धानमा रुचि भएका कारण सन् २००१ मा गानीमेड फर्मास्युटिकल्स नामको कम्पनी खोलेका थिए । कम्पनीले क्यान्सरको उपचारका लागि वंशानुगत कोड विकास गरेको थियो । जसले शरीरमा क्यान्सरविरुद्ध एन्टीबडीको विकास गर्ने गर्छ । उनीहरुले सन् २०१६ मा सो कम्पनी १ बिलियन पाउण्डमा बिक्री गरेका थिए । त्यसपछि उनीहरु बायोएनटेकमा लागेका थिए । तथापि बायोएनटेकको स्थापना भने क्यान्सर प्रतिरोधी बृहत अनुसन्धानका लागि सन् २००८ मै भएको थियो ।

दम्पत्तिले यसअघि क्यान्सरका लागि पत्ता लाएको वंशाणुगत कोड नै अहिले कोभिड विरुद्ध खोप बनाउन महत्वपूर्ण ठहरिएको छ ।

साहिनले यसै वर्षको सेप्टेम्बरमा कोरोना भाइरसका बारेमा प्रकाशित जर्नल आर्टिकल पढेपछि क्यान्सरको प्रतिरोधका लागि यसअघि गरेको अनुसन्धानलाई भारइल खोपका लागि बनाउने उनमा सोच आएको थियो ।

त्यसपछि बायोएनटेकले ‘प्रोजेक्ट लाइट स्पीड’ नाम दिएर ५०० जना कर्मचारीलाई खटाएको थियो । गत मार्चमा उनीहरुले फाइजर चिनियाँ ओैषधि निर्माता कम्पनी फोसनको आर्थिक सहयोग पाएका थिए ।

उनका सहकर्मीहरुले साहिनलाई ‘सामान्य र नम्र व्यक्ति’ भन्ने गर्छन् । उनका सहकर्मी प्रोफेसर माथियास थिबाल्डले साहिनका बारेमा टिप्पणी गर्दै भनेका छन्, ”उनलाई आफू कस्तो देखिन्छु भन्ने कुराले केही महत्व राख्दैन ।”

उनका अर्का सहकर्मी माथियास क्रोमायरले भनेका छन्, ”उनको बेजोड सफलताको वावजुद उनी नम्र र चिताकर्षक शैलीबाट कहिल्यै फेरिएनन् ।”

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री