नयाँ ठाउँमा सर्दै लण्डन मेयरको कार्यालय

लण्डन । अग्ला डु‌ंगा आउँदा-जाँदा माथि जाने र अरु बेला गाडी र मानिसहरु हिँड्ने मिल्ने लण्डनको पहिचान टाबर ब्रिजको सामुन्नेमा रहेको अण्डा आकारको घर । सिटीहल नाम दिइएको यो घरमा धेरैको यसमा ध्यान जान्थ्यो । त्यो थियो विश्वकै एक प्रसिद्ध शहर लण्डनको मेयरको कार्यालय । करिब १ हजार २०० कर्चमारीले काम गर्थे । तर अब यो मेयरको कार्यालय बिनाको बाटुलो घर मात्र रहने भएको छ ।

लण्डनका मेयर सादिक खानले अर्को वर्षको अन्त्यसम्म मात्र सो घरमा लण्डन मेयरको कार्यालय रहने निर्णय गरिसकेका छन् । खर्च कटौतीका लागि उनले लण्डन मेयरको कार्यालयलाई दक्षिण पूर्वी क्षेत्र रोयल डक्समा सार्ने निधोमा पुगेका छन् ।

मेयर खानका अनुसार मेयर कार्यालय अन्यत्र सार्दा आउने पाँच वर्षमा ६१ मिलियन पाउण्ड खर्च कटौती हुनेछ । कोरोनाका कारण आम्दानी कटौती भएपछि मेयरको कार्यालयले यसअघि नै बारुण यन्त्र, प्रहरी र सार्वजनिक सेवाका क्षेत्रमा ५०० मिलियन पाउण्ड भन्दा बढी राशी कटौती गर्नुपरेको छ ।

करिब २० वर्ष मेयरको कार्यालय रहेको सो भवनबाट नयाँ ठाउँमा मेयरको कार्यालय सार्न गत जुनमा शुरु गरिएको थियो । सो भवन मेयरको कार्यालयले लिजमा लिएको थियो । अब सर्ने रोयल डक्समा भने ग्रेटर लण्डन अथोरिटीको आफ्नै भवन बनाउने बताइएको छ ।
मेयरको कार्यालयले रोयल डक्समा रहेको ‘द क्रिस्टल’ नामको भवनलाई नयाँ सिटी हल नामकरण गर्ने भएको छ । सो भवनमा २०० जना मात्र कर्मचारीले काम गर्न सक्ने क्षमता रहेकाले बाँकी कर्मचारीलाई सदकमा रहेको लण्डन दमकलको प्रधान कार्यालयमा सारिने छ ।

सिटी हल सन् २००२ मा ४३ मिलियन पाउण्डमा बनाइएको हो । यसको स्वामीत्व कुवेती नागरिकसित छ । जसमा रहेवापत लण्डन मेयर कार्यालयले वार्षिक ९.६ मिलियन पाउण्ड भाडा तिर्नुपर्थ्यो । घरधनीले लण्डन मेयरको कार्यालयलाई दुईपटकसम्म भाडा घटाएर अफर गरे पनि मेयर खानले अस्वीकार गरेको बताइएको छ ।

लण्डनको केन्द्रभागमा रहेको मेयरको कार्यालय नयाँ ठाउँमा सारिएपछि कर्मचारी र पाहुनाहरुलाई भने यातायातको असुविधाका कारण कष्ट हुने देखिन्छ । किनकि नयाँ सिटी हलमा पुग्न कस्टम हाउस र रोयल भिक्टोरिया दुवै स्टेशनबाट पैदल हिँड्नपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री