गोरखा सैनिकबारे निर्णय बिनै सकियो नेपाल–बेलायत विदेश सचिव बैठक

 

लण्डन । नेपाल तथा बेलायतका परराष्ट्र सचिवस्तरीय बैठक गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा कुनै निर्णयबिना सकिएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा छलफल गरिएका विषयहरुमा गोरखा सैनिकका सवालहरु भन्ने उल्लेख भए पनि कुनै टुंगोमा पुगेको बताइएको छैन ।
नेपाल बेलायत द्विपक्षीय परामर्श संयन्त्र नाम दिइएको सो बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विभिन्न विषयहरुमा छलफल गर्दै सो बैठक टुंगिएको छ ।
बैठकममा नेपाल बेलायतको मित्रता र सहयोगको दुई शताब्दी, दुई देशबीचको सम्बन्ध, विकास सहयोग, गोरखा सैनिकका बारेमा, साँस्कृतिक सम्बन्ध, जनस्तरीय सम्बन्ध र शैक्षिक सहयोगका बारेमा दुई पक्षले छलफल गरेको बताइएको छ ।
राजनीतिक र आर्थिक विकासका साथै कोरोना भाइरसविरुद्ध लड्न दुई देशले खेलेको भूमिकाका बारेमा पनि चर्चा भएको छ । नेपाली टोलीले कोरोना भाइरसविरुद्ध लड्नमा बेलायतले गरेको सहयोगका लागि धन्यवाद दिएको छ । दुवै पक्ष आगामी दिनमा व्यापार, लगानी, उर्जा, पर्यटन तथा अन्य क्षेत्रमा सहयोगका क्षेत्रमा अझ निकट भएर सहकार्य गर्न राजी भएका छन् ।
यस्तै क्षेत्रीय र वैश्वीक विषयहरुमा पनि बैठकमा छलफल भएको छ । दुवै सरकारले बहुपक्षीय मञ्चहरुमा आफ्ना प्रतिवद्धता दोहोर्याएका छन् । जसमा जलवायु परिवर्तन र सगरमाथा सम्वाद लगायत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री