नेकपाका नेताहरुलाई निम्न स्तरको गाली नगरौं


नेपालका दुई ठूला र महत्त्वपूर्ण कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बिचमा भएको ऐतिहासिक एकतापश्चात् आम नेपाली जनता र समाजवादी समाजको सपना देख्नेहरूको जीवनमा आएको खुशियाली पनि अभूतपूर्व थियो । तर, नेकपाका शीर्ष तहमा रहेका भनिएका नेताहरूकै कारण निकट विगतको त्यो खुशियाली धेरै समय टिकिरहन सकेन । शीर्ष तहकै पुराना नेताहरुको व्यवहारका कारण पार्टी एकता र दुई तिहाई बहुमतको सरकार क्रमशः कमजोर हुँदै गइरहेको कुरा जनतासामु छर्लङ्गै छ ।
खास गरेर कोभिड १९ को चपेटापछि नेपालको कम्युनिस्ट आन्दोलनलाई नै प्रश्न उठ्ने गरी पार्टीको माथिल्लो निकायमा भैरहेको विधि, पद्दति, संस्कार र अनुशासनविहीन क्रियाकलापले सम्पूर्ण पार्टीपंक्ति नै सिथिल छ । यससँगै पार्टी नेताहरु आग्रह–पूर्वाग्रह मिश्रित गुटगत गतिविधि, अनुशासनहीनता र व्यक्तिगत तावेदारीमा तल्लीन देखिएका छन् । यतिबेला ‘सर्प देख्दा दुलो बाहिर हात, माछा देख्दा दुलो भित्र हात’ भन्ने नेपाली उखानसँग मिल्दोजुल्दो भएको छ कार्यकर्ताहरूको मनोविज्ञान । गुट र व्यक्ति केन्द्रित फाइदामा भासिएर लामो समय एउटै आन्दोलनमा सरिक कमरेडहरू निम्न स्तरको गालीगलौजमा उत्रिएका छन् । पार्टीका जिम्मेवार कामरेडहरुले सामाजिक सञ्जाल, सार्वजनिक मन्तव्य र पार्टीका फोरम समेतमा नराम्ररी आफ्नो सक्कली अनुहार देखाइरहेका छन् । विगतमा स्तुतिगान, गुट र चाकडीकै भरमा जिम्मेवारी हासिल गरेका साथीहरू पछिल्लो समयमा अझ बढी उत्तेजित भएर गुटको पहरेदारी गर्दै पार्टी एकताविरूद्ध विषबमन गरिरहेका छन् । यसले जनता र तल्लो तहका कार्यकर्ताहरुमा विभाजनको रेखा झन् कोरिने र निराशा उत्पन्न हुने स्थिति आउँछ । आम नेपाली जनताले बुझेजस्तै हाम्रो पार्टी नेकपा अहिले चरम संकटको अवस्थामा आइपुगेको छ । कम्युनिष्ट पार्टीमा विचारको बहस हुन्छ र हुनुपर्छ । तर हाम्रो पार्टीमा यो समयमा विचारको बहस छैन । समस्या छ त केवल पार्टीको विधि, रणनीति र कार्यनीति भन्दा बाहिर नेताहरुको व्यवस्थापनमा । कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ । मानौं हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन गर्न आतुर माफिया हुन् । यो आत्मकेन्द्रित भागबण्डाको लडाइँमा पनि खराब पक्षलाई नै पुरानो नेतृत्वले हर्ताकर्ता बनाएको छ । पार्टीभित्र बिचौलियातन्त्र हाबी भएको छ, उच्च निकायका नेताहरू सरकार र पार्टी दुवैतिर निर्णायक भूमिकामा छन् । उनीहरुका क्रियाकलापले कार्यकर्ता र शुभेच्छुकहरुलाई झन् उत्तेजनामा ल्याइरहेको छ, पार्टीको समस्या झन् बढाइरहेको छ । नयाँ जोश, जाँगर, विचार र नेतृत्वका पक्षमा बहस गर्नुपर्ने ठाउँमा कार्यकर्तालाई हनुमाने शैलीमा रक्षाकवच बनाइएको छ ।

कमरेडहरु,
यहाँनेर संसारकै मिहिनेती जातिमा गनिने कमिलाको प्रकृतिको एउटा उदाहरण उपयुक्त हुन्छ । एउटा काँचको ठूलो सिसी भित्र १००/१०० वटा राता र काला कमिला राखेर हेरौं । त्यहाँ केही पनि नराम्रो हुँदैन, दुवै जातका कमिला मिलेरै बसेका हुन्छन् । तर, त्यो सिसी हातमा लिएर मान्छेले एक पटक मात्र जथाभावी हल्लाएर टेबुलमा राखिदिएमा स्थिति ठीक उल्टो हुन्छ । त्यहाँ काला र राता कमिला एक आपसमा लडाईं शुरू गर्छन्, सकेसम्म एउटाले अर्कोलाई मार्न थाल्नेछन् । रातो कमिलाले कालोलाई र कालो कमिलाले रातोलाई शत्रु ठान्नेछन् । बिचराहरूलाई आफ्नो शत्रु काँचको भाँडो हल्लाउने मानिस हो भन्ने पनि थाहा हुँदैन । अहिले हाम्रो समाज र पार्टीको हकमा पनि यही तीतो सत्य लागु भएको छ । मुलुकमा एक जातिविरूद्ध अर्को जाति, एक पार्टीविरूद्ध अर्को पार्टी अनि अझ हाम्रो पार्टीको हकमा चाहिँ एउटा गुटविरूद्ध अर्को गुट प्रयोग भएरहेका छन् । हामीलाई दलाल पुँजीवादले एउटा बन्द सिसी भित्र राखेर यसरी नै हल्लाइरहेको छ ।

कमरेडहरू
हामीले यतिबेला यसरी एक आपसमा लड्नु भन्दा पहिला त्यो सिसी हल्लाउने दलाल पुँजीवादको नोकरको पहिचान गर्न जरुरी छ । कमरेडहरु यो घडीमा हामी सावधानी अपनाऔं, संयमित होऔं र नआत्तिऔं । नबहकिऔं र अरुलाई पनि नबहकाऔं । पार्टी एकताको मर्मलाई ध्यान दिँदै समाजवादमा पुग्ने नेपाली जनताको सपनाको कदर गरौं । आफ्नै गौरवपूर्ण विगतको कदर गर्दै सचेत हुनुपर्ने यो जटिल समयमा एक आपसमा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई संकेत गरेर सामाजिक सञ्जाल र कुनै पनि संचार माध्यमहरुमा अभिव्यक्ति नदिन प्रवासी नेपाली एकता मञ्च युकेका सदस्य एवम् शुभचिन्तकहरूलाई सचेत रहन आग्रह गर्न चाहन्छौं।

(लेखकद्वय प्रवासी नेपाली एकता मंच यूकेका अध्यक्ष र सचिव हुन् )

प्रतिक्रिया

सम्बन्धित सामाग्री