नेकपाको सम्भावित विभाजन रोक्न प्रवासबाट हस्ताक्षर अभियान सुरु


लण्डन । नेकपा प्रवास समन्वय कमिटीले सचिवालय बैठक अघि नै नेताहरुलाई पार्टी विभाजन रोक्नका लागि सामूहिक हस्ताक्षर बुझाउने भएको छ ।
गत बिहीबार प्रवास कमिटी अध्यक्ष युवराज चौलागाईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले आगामी १३ मंसिरमा सचिवालय बैठक बस्नुअघि नै पार्टीलाई विभाजनबाट रोक्न दबाबस्वरुप हस्ताक्षर बुझाउने निर्णय गरेको हो ।
करिब ४ घण्टासम्म चलेको नेकपा प्रवास समन्वय कमिटीको बैठकमा विश्वका विभिन्न मुलुकमा रहेका प्रवासी नेपाली एकता मंच नेताहरु सहभागी थिए ।  बैठकमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र जनार्दन शर्मा (प्रभाकर)ले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता व्यक्त गरे । साथै नेताद्वयले कुनै नेता विशेष वा पार्टीको एकतालाई नोक्सान हुने गरी सार्वजनिक रुपमा टीकाटिप्पणी नगर्न अनुरोध गरेको बताइन्छ ।
बैठकमा पार्टी भित्र प्रमुख नेतृत्व विच पैदा भएको अविश्वास र टकरावको विषयमा केन्द्रित रही छलफल भएको थियो । ‘देश र जनताको अनि स्वयं पार्टीको हितका लागि पार्टीको एकता कायम रहन पर्छ र कुनै किसिमको विभाजन नहोस् भनी पार्टीका प्रमुख नेतृत्व र पार्टी केन्द्रीय कार्यालय तथा सचिवालय सदस्यहरु समक्ष पुग्नेगरी १३ मंसिरको बैठक अगावै सामूहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउने निर्णय भएको छ।’ प्रवासी नेपाली एकता मंच युकेका सचिव सुरेश गौतमले भने ।

उक्त बैठक श्रीप्रसाद शाहको संचालन गरेका थिए भने तिल विश्वकर्माको स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री