४२ सालको कांग्रेसको सत्याग्रह र बम काण्ड

पिस्कर काण्डमा पिल्सिएको नेपालले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा भएको पंचायती शासन दमन कुन हदसम्म थियो भन्ने देखाउँदछ। त्यसपछि मुलुकभरी विद्यार्थी सल्बलाई रहे। पिस्करको विरुद्ध आन्दोलन सल्बलाइ रह्यो लगभग २०४१ को बीचसम्म। त्यसबेलासम्म कम्युनिस्टहरु भित्र प्रजातान्त्रिक आन्दोलनमा सरिक हुनु पर्छ भन्ने विचार प्रस्ट रुपले आइसकेको थियो । यसको चर्चा यसअघि नै गरिएको छ। कतिले यसलाई औपचारिक रुपले यसलाई पारित गरे । पारित नगर्नेहरु बीच पनि प्रजातन्त्रको लागि र पंचायतको विरुद्ध बहुदलीय व्यवस्थाको निम्ति लाग्नु पर्छ भन्ने ठूलो जनमत थियो। कांग्रेसभित्र त यस्तो विषयमा कुनै द्विविधा थिएन । मात्र थियो कसरी यसलाई अगाडी बढाउने भन्ने बारेमा। त्यसैले उसले पार्टीहरुको स्वतन्त्रता र बहुदलीय व्यवस्थाको लागि सत्याग्रहको आह्वान गरेको थियो। यहीक्रममा प्रजातन्त्रको पुनः स्थापनाका लागि विभिन्न सात सूत्रीय माग राखी साल जेठ २०४२ १० गतेबाट नेपाली काङ्ग्रेसले चौथोपटक सत्याग्रहको आयोजना गरेको थियो । लामो कालसम्म बीबीसीसंग सम्वद्ध रहनुभएका भगिरथ योगीको लागि अनौठो दिन थियो २०४२ सालको जेठ। कांग्रेसले सत्याग्रह आह्वान गरेको थियो । त्यसैले त्रिचन्द्र क्याम्पसका अगुवा र युनियनका सदस्यको रुपमा वहाँ सक्रिय रहनु भयो र आन्दोलनको प्रचार गर्ने क्रममा सुरेश आचार्य र वहाँ पम्प्लेटिङ्ग गर्ने क्रममा समातिनु भयो र तीन महिनासम्म भद्रगोल जेलमा राखिनु भयो। त्यसबेला सबै विद्यार्थी र कांग्रेसीजन धमाधम गिरफ्तारी दिइरहेका थिए। वहाँहरुसंगै दमननाथ ढुंगाना, प्रदिप गिरी र सुदिप पाठक पनि संगै रहनु भयो। वहाँहरुको आँखा अगाडी हरेक दिन कांग्रेसीजनहरु ल्याइन्थ्यो। वहाँ सम्वद्ध रहेको युनियनका सबै पदाधिकारीहरुले गिरफ्तारी दिइसक्नु भएको थियो। वहाँ सम्झनु हुन्छ-त्यसबेला त्यहाँ धेरै वामपन्थीहरु पनि हुनुहुन्थ्यो । कारण भने सम्झिनु हुन्न । तर धेरैजसो पिस्कर हत्याकाण्डको विरोधमा आन्दोलितहरु थिए । ऋषिकेश शाह लेख्नुहुन्छ – त्यस २०४२ को जेठ १७ गते सम्ममा देशभरि कांग्रेसका हजारौं कार्यकर्ता र कम्युनिस्टहरु नेपालका जेलमा थिए (पोलिटिक्स इन नेपाल १९८० -१९९०) ।

डा. वासुदेव खनाल लेख्नुहुन्छ, “जनमत संग्रहपछि पनि मुलुकको प्रजातान्त्रीकरणका निम्ति राजाबाट कुनै सकारात्मक कदम चालिएन । जसले गर्दा राष्ट्रिय संकट झन्–झन् बढ्दै गएका कारण यस प्रकारको स्थितिलाई अन्त्य गर्दै देशमा प्रजातन्त्रको पुनःस्थापना गर्न नेपाली काङ्ग्रेसले शान्तिपूर्ण आन्दोलनलाई नै सशक्तताका साथ अघि बढाउनुपर्ने अनुभव गर्यो जसका लागि पार्टी सङ्गठनलाई देशभर सुदृढ पार्नका लागि केन्द्रीय परामर्श समितिहरू गठन गरिए । केन्द्रमा पार्टी सम्मेलनका अतिरिक्त विभिन्न ठाउँमा शिक्षण शिविरहरू सञ्चालन गरिए । तानाशाही पञ्चायती सरकारका तर्फबाट ठूलो व्यवधान र गिरफ्तार गरी कार्यक्रमलाई असफल पार्ने कोशिस भइरहे । वृक्षारोपण, रक्तदान, सरसफाइ जस्ता रचनात्मक कार्यक्रमहरू पनि हुन नदिएर पञ्चायती तानाशाही सरकारले पटक–पटक आफ्नो तानाशाही चरित्र पर्दशन गरिरह्यो ।” त्यसैले युवा भगिरथ योगीले जस्तै भगिरथ प्रयास गरिरहेका थिए देशभरिका युवाहरुले।

कांग्रेस नेता बलदेव मजगैंया सम्झनु हुन्छ, ”कांग्रेसले यो आन्दोलन शान्तिपूर्ण हुने र कथंकदाचित हिंसात्मक भयो भने यसलाई रोकिने छ भनिएको थियो।”  यो प्रसंग भगिरथ योगीले आफ्नो मजगैंयासित भएको कुराकानीमा क्रममा आएको बताउनु हुन्छ।  कांग्रेसको शंका सही जस्तै भयो । आन्दोलन थालेको एक महिना जतिमा २० जुन १९८५ मा सिंहदरबार ग्यालरी बैठकलगायत काठमाण्डौ, पोखरा र जनकपुरमा पनि बम बिस्फोट भएको थियो। ग्यालरी बैठकको त्यो विस्फोटमा एक जना रास्ट्रिय पंचायत सदस्यको मृत्यु पनि हुन पुगेको थियो। पछि स्वर्गीय रामराजा प्रसाद सिंहले यो बम विस्फोटको जिम्मेवारी लिनुभएको थियो। स्मरण रहोस् वहाँ गणतन्त्रवादी नेताका रुपमा नेपालमा सम्मानित हुनुहुन्छ।

तर कांग्रेस वृत्तभित्र भने भने केही प्रश्न अझै पनि छन् त्यस बम काण्ड बारेमा। मजगैया भन्नुहुन्छ, ”रामराजा प्रसाद सिंहले त्यसपछि र अघि फेरि कहिल्यै बम पडकाउनु भएन । त्यसको अर्थ कांग्रेसको सत्याग्रह रोक्ने प्रयास मात्र त थिएन ?” वहाँ अर्को एउटा तथ्य पनि बाहिर ल्याउनु हुन्छ।  त्यो हो महेन्द्र राजमार्गको ठेक्का। त्यो ठेक्का चीनको हात परेको थियो र बम बिस्फोट पछि भारतलाई दिईयो।

यसको पृष्ठभूमि र पक्षपोषण जसले गरेको भए पनि यस पछि कांग्रेसले आन्दोलन रोक्नु पर्यो।

यसले नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा जबर्जस्त प्रवृति विकाश गर्न योगदान गरेको छ। आन्दोलन शान्तिपूर्ण हुनु अनिवार्य त भयो नै । सबै एक ठाउँमा नआउने हो भने एउटा शक्ति अर्काको विरुद्ध प्रयोग हुने वा भएको आरोपित हुने अवस्था सृजना भयो। यो आन्दोलनको निम्ति सुखद शिक्षा थियो। त्यसको अर्थ हुन्थ्यो पंचायत इतर शक्तिहरु एक ठाउँमा आउने पर्छ र एकीकृत आन्दोलनको निम्ति छलफल र योजना बन्नु पर्दछ। यसपछिका बाँकी तीन वर्ष यसैमा बितायो पंचायत इतर शक्तिले। त्यसैको परिणति थियो संयुक्त वाममोर्चा र नेपाली कांग्रेसको २०४६ को संयुक्त आन्दोलन । संगसंगै थियो मसाललगायत अरु शक्तिहरुको मोर्चा जो सम्मिलित नभए पनि पंचायत विरोधी आन्दोलनमा सरिक भएको थियो।

 

यस आन्दोलनको बारेमा प्रशस्त लेखिएको छ, त्यसपछि राजनीति खुला भयो त्यसको बारेमा पनि प्रशस्त लेखिएको छ।  मेरो लेखाइ पार्टीहरु प्रतिबन्धित हुँदा विद्यार्थीहरुले चलाएको आन्दोलनमा केन्द्रित थियो।  इतिहासको त्यो कालखण्ड यहाँनिर आइपुग्दा सिद्धिन्छ। संगसंगै सिद्धिन्छ मेरो ‘हामीले देखेको नेपाल’ यो शृंखला। 

यी शृंखला लेख्दा मैले प्राज्ञिक प्रस्तुति गरिनँ । मेरा आलेखहरु पपुलर राइटिङ्ग थिए । त्यो बाटो मैले सचेतनतापूर्वक रोजेको थिएँ । किनभने यो प्राज्ञिक हिसाबले कुरा गर्दा अझै पनि उत्खनन पूरा नभई सकेको अवस्था थियो। इतिहासका गर्भमा रहेका तथ्य खोज्न यसले मद्दत गरेको छ । यी आलेखका पाठकहरुले थप तथ्य र प्रमाणहरु जुटाइ दिनुभएको छ, थप श्रोतहरुको बारेमा पनि बताइ दिनुभएको छ। वहाँहरुले मलाई यो कालखण्डको प्राज्ञिक विश्लेषणको निम्ति सहयोग गर्नु भएको छ। त्यसको लागि सूचना संकलन गर्न सहयोग गर्नु भएको छ। त्यसैले पाठकहरुसंग म आभारी छु। नेपालका दुरदराजमा बस्नेहरुले लेख पढिसकेपछि सम्पर्क गर्नु भएर मलाई नलेखिएको र नखोतलिएको विषयहरु बारेमा खोतल्न झन् प्रेरित गर्नु भएको छ। 

मैले अहिलेसम्म सूचनाहरु क्रमागत रुपमा पस्किने प्रयत्न गरेँ तर धेरै सूचना संगै आएका छन्।  तर प्राज्ञिक र अनुसन्धानको हिसाबले यो तथ्य संकलनको अवस्था थियो मैले जस्ताको तस्तै पस्किएँ। 

अझ धेरै तथ्य संकलन र विश्लेषण गर्न त बाँकी नै छ तर उपलब्ध संकलन गरिएका सूचनाले त्यो दशकको नेपाली राजनीतिको बारेमा अड्कल गर्ने ठाउँमा भने पुर्याएको छ।  छोटकरीमा भन्दा २०३७ देखि २०४६ सम्मको त्यो दशक (क) पार्टीहरुभित्र विचारको बहस र समायोजनको समय थियो । (ख) पार्टी बिचका समान विचारको खोजी र विचारहरुको तादाम्यताको खोजी थियो ।  (ग) सत्याग्रहसम्म आइपुगेर त्यसको अनुभवबाट समान आकांक्षा बोकेका पार्टीहरु बीच सहकार्य अपरिहार्य छ भन्ने रास्ट्रिय चेत विकशित भएको थियो। त्यसैले यो समय नेपाली राजनीति र लोकतन्त्रको निम्ति असाध्यै महत्वपूर्ण कालखण्ड थियो। 

 

डा. कृष्ण उपाध्याय

उपाध्याय राजनीतिक र मानवअधिकारका विषयहरुमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री