बेलायतमा कोरोनाविरुद्ध खोप शुरु, ९० वर्षीयाले लगाइन् पहिलो खोप

लन्डन ।  बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।

फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो । उनलाई मंगलबार बिहान ६:३१ बजे युनिभर्सिटी हस्पिटल कोभेन्ट्रीमा कोरोना विरुद्धको खोप दिइएको हो ।

अर्को साता ९१ वर्षमा पुग्दै गरेकी कीनानले कोरोना विरुद्ध खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवालाई धन्यवाद दिएकी छिन् । कोरोना विरुद्धको खोप आफ्नो निकट जन्मदिनको सर्वोत्कृष्ट उपहार भन्दै उनले करिब एक वर्ष एक्लै बसेकोमा नयाँ वर्ष र बाँकी समय परिवारका साथ बिताउन पाउनेमा आशा व्यक्त गरिन् ।

बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान शुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केयर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ ।

बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोपको ८ लाख डोज प्राप्त गरेको छ जसबाट ४ लाख मानिसहरुलाई खोप दिन पुग्ने छ । बेलायतमा आजैबाट विभिन्न ५० वटा अस्पतालमार्फत मानिसहरुलाई कोरोना विरुद्धको खोप दिइँदै छ ।

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताउनु भएको छ ।

बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो । कतिपय वैज्ञानिक समुदायले बेलायतले अलिबढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ ।

बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ । यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ । पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री