‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई

सोलिसिटर दिपक भट्टराई बेलायतबासीबीच लागि परिचित नाम हो । पछिल्लो समयमा बेलायतकै प्रतिष्ठित कम्पनी टायलर रोज टिटिकेडव्ल्यूमा कन्सल्ट्यान्ट सोलिसिटरका रुपमा कार्यरत भट्टराईसित बेलायत कानुनका बारेमा लामो अनुभव छ । युनिभर्सिटी अफ लण्डनबाट एलएलबी गरेका भट्टराईसँग बेलायत सरकारले आगामी १ जनवरी २०२१ देखि दक्ष जनशक्ति भित्र्याउन लागू गर्न खोजिएको प्वाइन्ड बेस्ट (नयाँ अध्यागमन) सिस्टमबाट नेपालीहरुले कसरी फाइदा लिन्छन सक्छन्, नेपालीहरु कुन कुन क्षेत्रमा नेपालबाट आवेदन दिन सक्छन् ? बेलायतमा वर्क परमिट (टियर-२)मा आवेदन दिनुअघि कस्ता कस्ता कुराहरुमा आवेदकले ध्यान दिनुपर्छ भनेर वीनेपाली डटकमले संवाद गरेको थियो । प्रस्तुत छ सो संवादको सारसंक्षेप :

प्वाइन्ट बेस्ड सिस्टम कहिलेदेखि लागु हुँदैछ ?
बेलायत युरोपियन युनियनबाट अलग भएपछि १ जनवरी २०२१ बाट यो नयाँ नियम लागु हुन्छ । यो पहिला सन् २००८ मा पनि लागु भएको कानुन हो । अहिले यसलाई अलि सजिलो बनाइएको छ ।

प्वाइन्ड बेस्ट सिस्टममा कस्ता खालका कामदारहरु बेलायतमा कामका लागि आउन सक्छन् ?
सन् २०२० को डिसेम्बर ३१ देखि यूके–ईयू खुला आवतजावत बन्द हुँदैछ । बेलायत युरोपियन (ईयु) मुलुकबाट विधिवत रुपमा १ जनवरीबाट छुट्टिन्छ । त्यसपछि युरोपिन नागरिकहरु खुला आवतजावत गर्न सक्दैनन् । त्यसपछि दक्ष जनशक्ति भित्र्याउन बेलायत सरकारले ‘प्वाइन्ड बेस्ट सिस्टम’ लागु गरेको हो । यसमा डाक्टर, इन्जिनियर, नर्स, सेफलगायतका सर्टेज अकुपेसन लिस्ट (बेलायतमा जनशक्ति अपुग रहेको सूची) मा रहेका पेशामा मानिसहरु बेलायत सरकारले तोकेका सिस्टम पूरा गरेपछि आउन सक्छन् ।

बेलायत आउन दक्ष जनशक्तिले कति अंक ल्याउनु पर्छ र कसरी अंक प्राप्त गर्न सक्छन् ?
यो सिस्टमअनुसार टियर टु (वर्क पर्मिट) का लागि आवेदकले कुल ७० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ, जसमा अंग्रेजी परीक्षा (बी वान लेभल) उत्तीर्ण गरी १० प्वाइन्ट, स्किल लेभल जब (आरक्यूएफ ३) बाट २० प्वाइन्ट, लाइसेन्स भएको मान्यताप्राप्त रोजगारदाताले दिने पक्का भएपछि २० प्वाइन्ट एवं तलबबाट २० प्वाइन्ट ल्याउन अनिवार्य छ । तलब वार्षिक कम्तीमा २५ हजार ६ सय पाउन्ड हुनुपर्नेछ । यी मापदण्ड पूरा गरेपछि दक्ष कामदार सजिलै बेलायत आउन सक्छन् ।

 

अहिले भैरहेको तुलनामा सरकारले १ जनवारीबाट लागु गर्ने प्वाइन्ड बेस्ट सिस्टममा स्किल लेभल र तलब थ्रेसहोल्ड घटाएको हो ?
अहिले लागु हुने ‘प्वाइन्ड बेस्ट सिस्टम’मा सजिलो बनाएको छ । सरकारले जागिरको क्याटगोरी फेरबदल, स्किल लेभल र तलब थ्रेसहोल्ड घटाएको छ । पहिला ३० हजार तलवको थ्रेसहोल्डको ठाउँमा अहिले झण्डै पाँच हजार घटाएको छ । केही सजिलो बनाइएको छ ।

बेलायत सरकारले यो प्वाइन्ड बेस्ट सिस्टमलाई समय-समयमा परिवर्तन गरिरहन्छ कि केही समय यो कानुन रहन्छ ?
बेलायत सरकारले कुन क्षेत्रमा दक्ष जनशक्ति चाहेको छ त्यो क्षेत्रलाई सजिलो बनाउने गर्छ । त्यसकारण यो कानुनलाई समय समयमा परिमार्जन गरिरहन्छ । सरकारको आवश्यकताअनुसार कानुन परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो ।

‘प्वाइन्ड बेस्ट सिस्टम’बाट दक्ष नेपालीहरुले कसरी फाइदा लिन सक्छन् ?
बेलायतमा नेपाली वा नेपाललाई हेरेर कानुनहरु बनाइँदैन । देशको आवश्यकताले कानुनहरु बनाइएको हुन्छ । नेपाली दक्ष जनशक्तिले सिभिल इन्जिनियर, रेल इन्जिनियर, डाक्टर, नर्स, हस्पिटालिटीलगायतका क्षेत्रमा आउन सक्ने संभावना बढी देखिन्छ ।

हस्पिटालिटीको कुरा गर्दा होटल वा रेस्टुरेन्टमा सेफहरु आउनु कति सुरक्षित होला ?
विगतमा पनि धेरै नेपाली आएर अलि बढी समस्या देखिएको भएको क्षेत्र हो यो । मसँग पनि धेरै केस आएका थिए । सेफको वर्क परर्मिटमा आउँदा अलि सावधानी अपनाउनु पर्छ । विशेषगरी आफूलाई जागिर दिने कम्पनीका बारेमा राम्रोसँग बुझ्न जरुरी छ । यो क्षेत्रमा विगतमा नेपालीहरु ठगिएको सुनिएको छ । ठगिनबाट जोगिने गरी बुझेर आउनु पर्छ । जस्तो वास्ताविक रोजगारदाता हो कि एजेन्सी मात्रै हो ? त्यो थाहा पाउनु पर्छ । वास्ताविक रोजगारदाताले आफ्नो होटल वा रेस्टुरेन्टमा काम लगाउँछ भने काम खोजिदिने एजेन्सीले तपाईको जिम्मा लिँदैन । त्यो अवस्थामा धेरै जोखिम हुन्छ । राम्रा एजेन्सीहरु पनि छन् । तिनीहरुको बारेमा राम्रोसँग बुझ्नु पर्छ ।

हस्पिटालिटी क्षेत्रमा बेलायत आउन चाहनेले के के कुरामा ध्यान दिनुपर्छ ?
वास्तविक रोजगारदाता, साँच्चिकै आवश्यकता हो कि रोजगारी सिर्जना गरेर पैसा कमाउन खोजिएको हो ? त्यो बुझ्नु पर्छ । वर्क पर्मिटको नाममा ठग्नेहरुले नयाँ-नयाँ रोजगारदाता खडा गर्ने र केही समयपछि बन्द गर्ने काम गर्छन् । बेलायत आउने हतारमा यस्तो सानो कुरा नबुझी आउँदा ठूलो समस्या भोगेर रित्तो हात नेपाल फर्किनु पर्ने हुन्छ । वर्क पर्मिटमा आउनेहरुलाई रोजगारदाता परिवर्तन गर्न निकै गाह्रो हुन्छ । भिजा क्यान्सिल हुने, अनावश्यक दबाब झेल्नु पर्ने र धेरै मात्रामा पैसा खर्च हुने तथा अर्काे रोजगारदाता नभेट्टाए स्वदेश फर्किनु पर्न हुन्छ । यस्ता समस्याहरुबाट जोगिन जुन काममा आएको छ त्यही काममा पाँच वर्ष बिताएर सेटलमेन्ट भिजा लिने गरी आउनु पर्छ । त्यो नै राम्रो हुन्छ ।

सेफ बाहेकको व्यवस्थापकीय पदहरुमा आउने बाटो छ कि छैन ?
ती पदहरुबाट वर्क पर्मिट निकाल्दा बिजनेस बन्द भयो भने नसोचेको समस्या आउँछ । किनकी ती पदहरुमा अर्काे कम्पनीले जागिर दिने संभावना क्षीण हुन्छ ।

 

वर्क पर्मिटमा आउने मानिसले कति वर्ष बसेपछि बेलायतमा आवासीय सुविधा पाउँछ ?
बेलायतमा लगातार पाँच वर्षसम्म वर्क पर्मिटमा बस्यो भने आवासीय सुविधा पाउने व्यवस्था छ । तर रोजगारदाताले विजनेस बन्द गर्याे भने स्पोन्सरसीप पनि खारेजीमा पर्छ । त्यस्तो अवस्थामा बीचमै स्वेदश फर्किनु पर्ने वा अर्काे रोजगारदाता खोज्न खर्चिलो हुने अवस्था रहन्छ । त्यसैले पुन सबैलाई आग्रह गर्छु, इन्टरनेट वा साथीभाई र नातागोतामार्फत राम्ररी बुझेर मात्र यहाँ आउनुहोस् ।

 

रोजगारदाता कम्पनीका बारेमा नेपालबाट कसरी बुझ्न सकिन्छ ?
बेलायत आउन चाहने दक्ष जनशक्ति भनेको केही बुझेकै नागरिकहरु हुन्छन् । उहाँहरुले इन्टरनेटबाट धेरै कुरा बुझ्न सक्नु हुन्छ । त्यसबाहेक पनि अनलाइन अन्तर्वार्ता दिने, रोजगारदाता कम्पनीमा दक्ष जनशक्ति आपूर्ति गर्ने एजेन्सीहरुका बारेमा पर्याप्त बुझ्ने, सम्पर्क गर्ने, कम्पनीको प्रोफाइल हेर्ने आदि उपाय छन् ।

प्रसँग बदलौं, विद्यार्थीका रुपमा बेलायत आएर यहाँ बस्न कत्तिको सजिलो छ ?
विद्यार्थीका रुपमा एक्लै आउँदा नेपालबाटै अध्ययनका लागि पैसा लिएर आउने भए राम्रो छ । तर यहाँ आएर कमाएर अध्ययन गर्छु भन्न अलि गाह्रो छ । विश्वविद्यालयको फी नै अण्डरग्य्राजुएटको लागि वर्षको १२,००० (बाह्र हजार) पाउण्ड लाग्छ । विद्यार्थीहरुले पूरा समय काम गर्न पाउने अधिकार हुँदैन । पोष्ट ग्य्राजुएटको फी झन् धेरै छ । अनि खाना, बस्न र यातायात खर्च गरेर वर्षको १८/२० हजार पाउण्ड खर्च गरेर प्राप्त गरेको सर्टिफिकेट वा ज्ञानले त्यो रकम सीमित अवधिमा परिपूर्ति गर्न मुस्किल देखिन्छ ।

 

नयाँ प्वाइन्ड बेस्ट सिस्टम (नयाँ अध्यागमन नियम)ले डिग्री उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई के सुविधा दिएको छ ?
नयाँ अध्यागमन नियमअनुसार आउँदो वर्ष २०२१ को समरदेखि यूकेमा डिग्री उत्तीर्ण गर्नेले दुई वर्षसम्म र पीएचडी  ग्य्राजुएट भए ३ वर्षसम्म काम गर्न पाउने गरी ‘पोस्ट स्टडी वर्क स्किम’ लागु हुनेछ । यसले यहाँ अध्ययन गरेका विद्यार्थीहरुलाई केही वर्ष पूरा काम गर्ने अधिकार समेत दिएको छ । यसबीचमा आफ्नो सर्टिफिकेट अनुसारको जागिर खोजी वर्क पर्मिट निकाल्न सकिन्छ । ति विषयहरु सर्टिफिकेटसँग जोडिएर आउँछन् ।

प्रस्तुति: श्याम लुइँटेल

प्रतिक्रिया

सम्बन्धित सामाग्री