गैरआवासीय नेपाली संघ (एनआरएनए)को उदय भएको देश बेलायत, अनि म यहीँ देशमा वसोवास गर्दै आएको एक सामाजिक अभियन्ता । समाजिक काममा साह्रै रुचि राख्ने मलाई बेलायतमा बसाइँको क्रममा एनआरएनएमा बसेर समाज सेवा गर्छु भन्ने रहर पलायो । अनि म पनि यो संस्थामा आवद्ध भएर समाजमा केही योगदान पुर्याउँछु भन्ने जमर्को गरे । साथी भाई-वहिनीहरु सँग सल्लाह मागे । सल्लाह दिने क्रममा धेरै मेरा मित्रहरुले भने यो संस्था तिम्रा लागि होइन, यो संस्था नभई मात्र एउटा क्लव हो । एनआरएनए संस्थाका रुपमा विकास भैसकेको छैन । यहाँ (यस संस्थामा) कि त व्यक्ति आफ्नो विजनेसको मार्केटिङ गर्न आउँछन की त आफुलाई ठुलो अनि हुने खानी देखाउन ।
मित्रहरुको सल्लाह माथि रातभरि विचार विमर्श गरे अनि विधान पल्टाएर राम्रो संग अध्ययन गरे । एनआरएनएको विधान अध्ययनपछि लाग्यो यस्तो पवित्र उद्देश्य बोकेर स्थापना भएको संस्था कसरी नराम्रो हुन सक्छ ? राम्रो वा नराम्रो गुण दोष त जो नेतृत्वमा आए उनीहरुले लिनु पर्छ । जसको मुल्याङकन इतिहासले पक्कै गर्ने छ ।
जे पर्ला-पर्ला संस्थामा लाग्छु । पहिलो पटक सदस्यमा बनेर संस्था (एनआरएनए युके), अनि त्यहाँ हुने गतिविधिको बारेमा अध्ययन गर्ने उद्देश्यले चुनावमा होमिए, तर तितो सत्य गुट-उपगुटको वीचमा म स्वतन्त्र उम्मेदवार कता बिलाए कता! तर जे परिणाम आयो त्यसलाई स्वीकार गरि निरन्तर संस्थालाई टेवा पुर्याउदै आएको छु । कार्यसमिती बाहिर बसेर पनि त्यसबेला गठित राज्य समन्वय परिषदको सदस्य अनि स्कटल्यान्ड राज्य संयोजक भएर एनआरएनएलाई यूकेको कुना-कुनामा पुर्याउने काममा कठिबद्ध भएर लागेको बेलायतवासी नेपालीहरुलाई अवगत नै छ ।
संस्थाप्रतिको लगाव अझै नघटेकाले होला म फेरी आफ्नो दक्षता बमोजिम २०१९-२१ को कार्यकालका लागि कोषाध्यक्ष पदका लागी उम्मेदवारी दिए । तर यस पटक पनि आफुले उपविजेताका रुपमा चित्त बुझाउनु पर्यो । तर पनि यो संस्थाप्रतिको माया अनि संस्थालाई सबैको साझा चौतारी बनाउन केही फरक तरीकाले अगाडी बढ्ने भन्ने मेरो अठोट परिवर्तन भएको छैन । जसअनुसार यदी मैले कोषाध्यक्षको रुपमा काम गर्न पाए भने सबैभन्दा पहिले बेलायतभर रहेका संघ संस्थाहरुलाई एनआरएनएको एउटै छातामुनी आउन अनुरोध गर्ने र कार्डको एकापट्टी आवद्ध संस्थाको अनि अर्को पट्टी एनआरएनएको परिचय खुल्ने गरि परिचयपत्र बनाउथ्ये । जसले गर्दा संस्थाको लोकप्रियताका साथै एनआरएनए युके हाउसको हाम्रो सपना साकार हुन ठुलो टेवा पुग्छ भनेर मैले मेरो घोषणा पत्रमा भनेको थिए, हुन तँ समय र परिस्थितिले कति साध्य हुने थियो त्यो समयलाई नै जिम्मा ।
जुन संस्थालाई हजारौं बुद्धिजीविहरुले आफ्नो विवेक सृजना गरेर यो स्थानसम्म ल्याउनु भयो त्यही संस्थामा अहिले देखिएको मनमुटावले मेरो मन पनि कुडिएको छ । एनआरएनए युकेलाई अदालतको कठघरामा उभिएर वादी-प्रतिवादीले पालै-पालो टमाटरले हिर्काइ रहेको जस्तो दृश्य मेरो कल्पनामा आउँछ ।
तपाई हामीलाई वाक स्वतन्त्रता छ, धीत मरुन्जेल बोल्न पाइन्छ, निर्णय गर्ने पुर्ण स्वतन्त्रता छ । तर कतै हाम्रो यही स्वतन्त्राले कसैको व्यक्तिगत जीवनमा धक्का लागेको त छैन ? वाक दोहोरी खेल्दा बिचार पुयाउन पर्ने कुरा धेरै छन । यसको प्रभाव पहिलो तपाई हाम्रो आफ्नै घरमा पर्न सक्छ । हामी समाजका बुद्धिजीविहरुले आफ्नै बालबच्चालाई के शिक्षा दिईरहेका छौं भन्ने कुरा पनि एक पटक अवश्य सोचौं।
आउनुहोस , मेरो गोरुको वाह्रै टक्का छोडौ । एनआरएनए युकेलाई एउटा गति प्रदान गरौं, यो संस्थालाई अदालतले भन्दा धेरै यसै समाजमा बस्ने बुद्धिजीवि वर्गले धेरै नजिकबाट बुझ्नु भएको छ । बेलायतमा तपाई हामीले कहिल्यै प्रश्न उठाउन नसक्ने बुद्धिजीविहरुको खडेरी परेको छैन ।
सहि र गलतको निष्पक्ष जाँच गर्नु पर्छ । आईसीसीको प्रतिनिधि रहने गरि सवैलाई मान्य हुने प्रतिनिधि रहने गरि छानविन समिति गठन गरौं र उनीहरुलाई निर्वाध रुपमा छानविन गर्न दिऔं । अनि त दुधको दुध, पानीको पानी बाहिर आइहाल्छ नी !
यसै त जनमानसमा एनआरएनएलाई हेर्ने दृष्टिकोण धेरै नकारात्मक छ । तपाई हामी यहि अल्झिरह्यो भने भोली तपाई हाम्रा परिवारलाई समेत जवर्जस्ति सदस्य बनाउन पर्ने दिन नआउला भन्न सकिदैन । धन्यवाद ।
(लेखक भट्टराई सामाजिक अभियन्ता तथा जेन्स युकेका अध्यक्ष हुन्)