अझै फुकेन ब्रेक्जिटको गाँठो

बेलायती प्रधानमन्त्री जोन्सन र युरोपेली युनियनकी अध्यक्ष लियन

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको युरोपेली युनियनका अध्यक्ष उर्सला भोन डोर लियनसितको बुधबारको तीन घण्टा लामो रात्री भोजले पनि ब्रेक्जिटपछिको बेलायत र युरोपबीचको सम्बन्ध कस्तो हुने तय गर्न असफल भएको छ ।

सम्झौता हुनसक्ने आशा बोकेर ब्रसेल्स पुगेका बेलायती प्रधानमन्त्री जोनसन र युरोपेली युनियनका अध्यक्ष लियन दुवैले भेटपछि दुवै पक्ष सम्झौताभन्दा टाढा रहेको बताएका छन् ।

बेलायतले यसैवर्षको जनवरी ३१ मा युरोपेली युनियन छोडिसकेको छ तर यही डिसेम्बर अन्त्यसम्ममा ब्रेक्जिटपछि दुई पक्षको व्यापार लगायतका बारेमा कस्तो सम्बन्ध रहने भन्ने सम्झौताका लागि समय तोकिएको छ ।

बेलायती विदेश मन्त्री डोमिनिक राबले यही सप्ताहन्तसम्ममा सम्झौतामा पुग्ने समय तोक्न बेलायती प्रधानमन्त्री र युरोपेली युनियनका अध्यक्ष राजी भएको जानकारी दिएका छन् ।

युरोपियन युनियन र बेलायतबीच समुद्रमा माछा मार्ने, खुल्ला प्रतिस्पर्धाको ग्यारेन्टी लगायतका विषयमा मतभेद रहेको छ । युरोपेली पक्षले ब्रेक्जिटपछि पनि बेलायतको अधीनमा रहेको समुद्रमा माछा मार्न पाउनुपर्ने, युरोपियन लगानी रहेका व्यापारलाई बेलायत सरकारले भरथेग गर्नपर्ने लगायतको शर्त राखेको छ भने बेलायतले युरोपियन युनियनका ती शर्त स्वतन्त्र मुलुकले स्वीकार गर्न नसक्ने दाबी गर्दै आएको छ ।

यदि डिसेम्बरभित्र बेलायत र युरोपेली युनियनबीच सम्झौता हुन नसके त्यसको प्रभाव व्यापक रुपमा पर्ने विश्लेषण गरिएको छ । सुपरस्टोर टेस्कोले सम्भावित स्थितिलाई हेरेर सामानहरुको स‌ंचिती राख्न थालिसकेको बताएको छ । उता दुवै पक्षले अतिरिक्त कर लगाउँदा युरोपबाट आउने केही सामानहरुको भाउ महंगो हुने छ ।

तर सम्झौता हुने आशा भने अझै मरिसकेको छैन । त्यसैका लागि सधैँ डिसेम्बर २१ देखि बन्द हुने बेलायती संसद यसपटक डिसेम्बरभरि कायमै रहन सक्ने संकेत सभामुख सर लिण्डसे होयलले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री