स्वयम्भू भत्काउने सरकारको निर्णयको बेलायतमा विरोध

लण्डन । चक्रपथको कंलकी–चाबहिल सडक विस्तारको क्रममा विश्व सम्पदामा सूचिकृत स्वयम्भू भित्रको संरचना भत्काउन लागिएको भन्दै बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेलगायत बेलायतमा रहेका विभिन्न नेपाली सघसंस्थाहरुले एक विज्ञप्तिमार्फत विरोध जनाएका छन् ।

बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष नरेश गुरुङ, शेर्पा संघ बेलायतका अध्यक्ष एवं बिसीसी युकेका उपाध्यक्ष आङ दावा च्यावा शर्पा, बिसीसी युकेका महासचिव रोविन गुरुङ, तामाङ घेदुङ् यूकेका अध्यक्ष राजन योञ्जन, ह्योल्मो सोसाइटी यूकेका कर्मा छिरिङ्ग टाशी लामा, थाउजन बुद्ध यूकेका अध्यक्ष समुन्द्र गुरुङ, तामाङ सोसाइटी यूकेकी अध्यक्ष अन्जु योञ्जन तामाङ्ग र बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट युकेकी अध्यक्ष शान्ति तामाङ्गले विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।
स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियान, बेलायतको तर्फबाट प्रेषित उक्त विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहातको सडक विभागले काठमाडौंस्थित चक्रपथ विस्तारको दोश्रो चरणमा विश्व सम्पदामा सूचीकृत स्वयम्भुनाथ क्षेत्रमा अवस्थित बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको सीमास्तम्भ त्यसभित्र रहेको हातले घुमाउने माने र हजार बुद्धको मूर्ति सहितको स्तुपा (साङ्गे तोङकु) समेत भत्काउने निर्णयप्रति बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शेर्पा संघ बेलायत, तामाङ घेदुङ् यूके, ह्याम्लो सोसाइटी यूके, थाउजन बुद्ध यूके, तामाङ सोसाइटी यूके, बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट युकेको गम्भीर ध्यानाकर्षण भएको छ ।”
”विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मेको देशमा राज्यको जिम्मेवार निकायको तर्फबाट भएको यस किसिमको गैरजिम्मेवार कदमले बेलायतमा बसोबास गरिरहेका धार्मिक, साँस्कृतिक सम्पदाप्रेमी र सिङ्गो बौद्धमार्गीहरुको भावनामा गम्भीर चोट पुग्न गएको छ । साथै, नेपालमा जन्मिनु भएका शान्तिका अग्रदुत गौतम बुद्धको ऐतिहासिक मूर्ति भत्काउने निकृष्ट कार्यले विश्व जगतमा समेत नेपालप्रति नकारात्मक सन्देश प्रवाह हुने निश्चित छ ।
विश्व सम्पदा सूचिमा सू्चिचकृत ऐतिहासिक धार्मिक सम्पदालाई बचाई उत्तम विकल्प सहितको सडक विस्तार गर्न र गराउन सम्बन्धित निकायसमक्ष अनुरोध गर्दछौं । राज्य भित्र रहेका सम्पूर्ण धार्मिक आस्थाका अनुयायीहरुको अभिभावक बन्नु पर्ने सरकारको जिम्मेवार निकायबाट नै जबरजस्ती रुपमा यस किसिमको अनुचित कार्यलाई अघि बढाएमा विश्व सम्पदामा सुचिकृत नेपालको सांस्कृतिक सम्पदा संरक्षण र न्याय प्राप्तिका लागि सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरुमा आवाज उठाउनुका साथै बेलायतबाट सशक्त आन्दोलनमा उत्रने व्यहोरा सरोकारवाला निकायसमक्ष जानकारी गराउन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री