महामारीपछि ८ लाखले गुमाए युकेमा नोकरी

लण्डन । कोरोना भाइरसको महामारीपछि बेलायतमा करिब ८ लाख मानिसले नोकरी गुमाएका छन् ।

बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार महामारीपछि नोभेम्बर महिनासम्ममा ८ लाख १९ हजार मानिसहरुले नोकरी गुमाएको पाइएको छ ।

सबैभन्दा बढी रोजगारी गुमाउने क्षेत्रमा अतिथि सत्कारको क्षेत्र प्रमुख रहेको छ । कार्यालयका अनुसार कुल जागिर गुमाउनेमध्ये एक तिहाई सो क्षेत्रका मात्र छन् । त्यसपछि फुटकर बिक्रीका क्षेत्रमा धेरैले जागिर गुमाएका छन् । यी दुई क्षेत्रले आधा हिस्सा ओगटेका छन् ।

नयाँ तथ्यांकअनुसार अक्टोबर महिनामा बेलायतको बेरोजगारी दर ४.९ प्रतिशत पुगेको छ र कुल बेरोजगार संख्या १७ लाख पुगेका छन् ।

उता स्वास्थ्य तथा हेरचाह क्षेत्रमा भने नोकरी थपिएको तथ्यांकले देखाएको छ । सो क्षेत्रमा महामारीकै बीच करिब ७५ हजारले नोकरी पाएका छन् ।

कार्यालयका अनुसार सेप्टेम्बरदेखि नोभेम्बरको अवधिमा बेलायतमा ५ लाख ४७ हजार नयाँ जागिर खुलेका थिए । त्यो संख्या अघिल्लो तीन महिनाको दाँजाेमा ११ लाख १० हजार बढी हो ।

बेलायतमा सरकारले ठूलो संख्यामा बेरोजगारी आउन नदिन ‘फर्लो’ योजना ल्याएको छ र सो योजनाअनुसार सरकारले कोरोना भाइरसको महामारीका कारण असर परेको क्षेत्रका कामदारलाई ८० प्रतिशतसम्म तलब दिइरहेको छ । सो योजना आगामी मार्चसम्म रहने बताइएको छ । त्यसपछि बेलायतमा बेरोजगारी ७.७५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री