एनआरएनए युके विवाद – अबको विकल्प समुदाय बाहिरको व्यक्ति वा संस्था : उपाध्यक्ष खड्का

Sunil Khadka

उपाध्यक्ष :  खड्का

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके उपाध्यक्ष सुनिलबाबु खड्काले संस्थाका आर्थिक अनियमितता निष्पक्ष छानविनका विषयमा पक्ष-विपक्षमा समाज विभाजित भैरहेको बेला ‘विवाद समाधान’का लागि नयाँ प्रस्ताव अघि सारेका छन् । उपाध्यक्ष खड्काले नेपाली समाजबाट प्रभावित नभएको संघ संस्थालाई निष्पक्ष छानविन गर्न दिनु पर्ने प्रस्ताव अघि सारेका हुन् । ‘नेपाली समाजबाट प्रभावित नभएको संस्था वा कोही व्यक्तिलाई निष्पक्ष छानविन गर्न दिनुपर्छ । जनताले चाहेको पनि यो मात्र हो’, उनले भने ।
समाज सेवा गर्न गएका हामीहरु बीच इगो पाल्नु नहुनेमा जोड दिँदै उपाध्यक्ष खड्काले हातेमालो गरी अघि बढ्न सबैलाई आग्रह समेत गरे । ‘गाली गलौज रोक्ने, भ्रामक समाचार लेख्ने र लेख्न लगाउने काम तत्काल रोक्नु पर्छ, यसलाई दुवै पक्षमा इगो बढाउने काम गर्छ’, उनले वीनेपालीसँग भने, ‘को-कसको कमजोरी छ भनेर खोज्दै जाने हो भने म पनि भिक्टिमाइज हुन्छु किनकी म भगवान होइन । म पनि मानिस हो केही गल्ती भएको हुन सक्छ ।’

संस्थामाथि आर्थिक अनियमितताको प्रश्न उठिसकेपछि यथार्थ सार्वजनिक गर्नु एनआरएनए युकेको कर्तव्य भएको उनको ठम्याई छ । ‘दुवै पक्षबीच सहमतिको न्यूनतम वातावरण बनाउन गलत समाचार विभिन्न ठाउँबाट छपाउने, फेसबुकमा गालीगलौज गर्दै जे पायो त्यही लेख्ने र शेयर गर्ने काम तुरुन्त बन्द गर्नुपर्छ, सामाजिक संजालमा देखिएका टीकाटिप्पणीतर्फ दिक्क मान्दै उपाध्यक्ष खड्काले भने, ‘पुनम दिदीले पनि एलएन पाण्डे नै चाहिन्छ भनेर भन्नु हुँदैन, अर्काे पक्षले पनि कम्पनी हाउसमा दर्ता भएको छ-छैन भन्दै निहुँ खोजेर कानुनी प्रक्रिया अघि नबढाई बसेर छलफल गर्नु पर्छ ।’ सौहार्द्धपूर्ण रुपमा चलिरहेको एनआरएनए युकेमा एकाएक इगो पलाएर यहाँसम्म आउँदा धेरै मानिसहरुले एक-अर्कालाई उचाल्ने काम गरेको उनको आशंका छ । ‘इगो पाल्नु जरुरी छैन । त्यो रोकिनु पर्छ । एनआरएनए मनले चलाएको संस्था हो, त्यो संस्थामा मानिस उचालेर काम गर्नु हुँदैन’, उनले भने ।

हामी समाज सेवा गर्न एनआरएनएमा आएको हुनाले आरामसँग एनआरएनए युकेले गर्न सक्ने वातावरण तत्काल निर्माण गरेर अघि बढ्नु पर्नेमा उनको जोड थियो । गत अक्टोबरमा बसेको एनआरएनए युके कार्यसमितिको बैठकमा अध्यक्ष पुनम गुरुङसहितको संस्थापन पक्षले बहुमतबाट स्वतन्त्र छानविनका भन्दै तीन सदस्यीय छानविन टोली गठन गरेका थिए । उक्त निर्णय विधानविपरीत भएका भन्दै उपाध्यक्षहरु प्रेम गाहामगर र नारायण कँडेलले निर्णयमा फरक मत दर्ज गराएका थिए । बहुमतबाट निर्णय गरिएका तीन सदस्य छानबिन समितमा एकाउन्टेन्ट एलएन पाण्डे, डा. मुकुन्द बास्तोला र बुद्धि गुरुङ रहेका समिति बनेको थियो । छानबिन समितिले विधान विपरीत काम गरेको आरोप लगाउँदै चार उपाध्यक्षहरुले कानुनी प्रक्रिया अघि बढाएका छन् । उनीहरुले काम गरे वा नगरेको बारेमा सार्वजनिक रुपमा केही बताइएको छैन ।
अध्यक्ष गुरुङले विधानविपरित आर्थिक अनियमितता र अपारदर्शितालाई संरक्षण दिएको आरोप लगाउँदै उपाध्यक्षहरु गाहामगर, कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कँडेल र इंग्ल्याण्ड राज्य परिषद्का उपाध्यक्ष एलविजेड गुरुङले कानुनी प्रक्रिया अघि बढाएपछि समाज पक्ष र विपक्षमा विभाजित छ । यस बीचमा स्पष्टीकरण सोध्ने र उक्त स्पष्टीकरणको जवाफ दिने काम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री