अलविदा लुङ्गा

निकै गाह्रो भइरहेको छ डा. चन्द्र लक्सम्बाको बारेमा लेख्न। वहाँ हुनुहुन्न भन्ने भावमा मन र मस्तिस्क दुवै जान मानिरहेका छैनन्।

नेपालमा हुँदा वहाँको २०३६ तिरको कृत्य थाहा त थियो तर म आफै वहाँसंग प्रत्यक्ष संलग्न रहिनँ वहाँका अस्कल कालमा। अस्कलकाहरुले भनेको सुनेको हुँ, त्यो बेलाका आन्दोलनमा रहेका थुप्रै पात्रहरु वहाँको बारेमा जिकिर गर्नुहुन्थ्यो। लन्डनमा मैले भेट्दा वहाँ फुकु (Foucault ) स्मरण गर्दै भाषण गर्दै गरेको अवस्थामा भेटेँ, वेम्ब्ली तिरको कुनै एउटा ठूलै कार्यक्रममा ।

त्यतिखेर वहाँ विद्यावारिधि गर्दै हुनुहुन्थ्यो । भित्रभित्रै मानिसहरु वहाँलाई माओवादी भन्थे । मैले भेटेर कुरा गर्दा रमाइलोसंग भन्नुभयो, ‘होइन नि, उहिले तपाइँ हामी जहाँ थियौं मा त्यहीँ छु’ ।   घुमाउरो पाराले यसरी माओवादी भैसकेको स्विकार्ने मात्र होइन, मलाई समेत हाम्रो अतीत स्मरण गराउँदै पुरानै आस्थामा फर्कनु पर्ने शान्त अनुरोध गरिरहनु भएको थियो। वहाँ संगको मेरो भेटघाट भएको राजा ज्ञानेन्द्रले सत्ताको बागडोर पूर्णरुपले आफ्नो हातमा लिए पछि हो। त्यसपछि बेलायतमा ‘नेपालको लागि अन्तर्राष्ट्रिय ऐक्यवद्धता समूह’ (International Solidarity for Nepal ) बन्यो।  यसको पहल त्यस बेलाका माओवादी बाहेकका सात पार्टीहरुको संलग्नतामा भएको थियो र सबै पार्टी प्रतिनिधि यसमा थिए र मानव अधिकारको क्षेत्रमा सक्रिय स्वतन्त्र मानिसको हिसाबले मलाई त्यसको संयोजक बनाइएको थियो। त्यसले लगभग हप्तै जसो कार्यक्रम गर्दथ्यो लन्डनमा र वहाँ प्राय: यसमा भाग लिनु हुन्थ्यो, धेरैजसो वक्ताकै रुपमा। मेरो र वहाँको लागि यो सम्बन्ध पुनर्ताजगी गर्ने अवसर थियो। किनभने वहाँ र मेरा नेपालका साथी प्राय तिनै थिए। त्यसैले हामीलाई एक सुत्रमा बाँध्ने अतीत र साथीहरु नै थिए।   एकतन्त्रीय व्यवस्थाको प्रयत्न हुनु र राजा ज्ञानेन्द्रको सत्तारोहणले हामीलाई वर्तमानसंग पनि जोडेको थियो। त्यो अवधी वहाँका तीन वटा नेतृत्व कलाको अनुभव गरेको छु। वहाँ नमिल्ने कुरा खोतल्दै ग्रुपहरु बीच खाडल बढाउन चाहनु हुन्न थियो । त्यसैले मिलनको बिन्दु खोज्नु हुन्थ्यो। दोश्रो, वहाँ असहमति नै भैहालेछ भने पनि छलफल जारी राख्न वातावरण तयार गर्न कोशिस गर्नु हुन्थ्यो।  तेश्रो, पटकपटक छलफल गरेर भए पनि असहमति टुङ्ग्याउन खोज्नु हुन्थ्यो । आफ्नो भावावेश र आक्रोश नै रहेछ भने पनि त्यसलाई उज्यालो अनुहारको जलपमा राख्नु हुन्थ्यो।  राजनीतिक छलफलको क्रममा आएका अप्ठ्याराको बेलामा वहाँका यी कलाहरु कारगर सावित भएका थिए २००५ ताका। त्यो बेलामा सात वटा पार्टीका मानिसहरु कहिले कहिले १४ पट्टि फर्के जस्तो गर्थे र कुनै कुनै विषयमा समझदारीमा पुग्न निकै गारो हुन्थ्यो।

त्यसपछि त एनआरएनको स्थापना कालदेखि करिब हामी सांगठानिक रुपले पनि संगै रह्यौं।  तदर्थ समिति वा प्रथम निर्वाचित समिति दुवैमा हामी दुवै जनासंगै थियौं र धेरै सहकार्य पनि गरियो। वहाँ उपाध्यक्ष र म महासचिवको भूमिकामा थियौं। त्यस बेला पनि डा. लक्सम्बाको वार्ता, सहमति र स्वस्थ छलफलमार्फत नीतिगत एकता र सहमतिको निम्ति योगदान हुन्थ्यो। उल्लेख्य रहोस् वहाँले लन्डन बाहिर एनआरएनको पहुँच बढाउन ठूलो योगदान पुर्याउनु भएको थियो। स्मरण रहोस, शुरुवाती कालमा एनआरएन लन्डन केन्द्रित थियो।

डा कृष्ण उपाध्याय

त्यस पछिका दिनमा क्रमश वहाँसंगको सन्निकटता रहिरह्यो, कहिले प्राज्ञिक छलफलहरुमा, कहिले सांस्कृतिक समारोहहरुमा। म आफैं पनि पिएचडी गर्न थालेपछि सामाजिक काममा कम आवद्ध भएँ तर वहाँसंग भेटघाट हुने प्रसंग भने कहिले बन्द भएन।  विशेसगरी डा. अच्युत गौतम संगको वहाँ र मेरो उस्तै उस्तै सम्बन्धको कारणले हामी जोडीइ रहने अवस्था रहन्थ्यो।

हामी सबैका अन्यन्य मित्र चाँडै जानुभयो तर एउटा अनौठो मार्ग देखाएर जानु भयो।  अम्बिका साँवा जस्तो राजनैतिक परिवारसंग जोडिएर पनि वहाँ, वेलायती सेनामा काम गर्न आउनु भयो । सेनामा आएर पनि प्राज्ञिक जीवन पुन: शुरु गर्नु भयो, र प्राज्ञिक हुँदाहुँदै पनि एक प्रकारको राजनैतिक प्रभाव र क्षेत्रलाई प्रभावित गर्नुहुन्थ्यो। नेपाल जस्तो एउटा मुलुकबाट अन्यत्र एउटा मानिसको यो यात्रा लोभलाग्दो पनि हो र अनुकरणीय पनि हो। वहाँको दैनन्दिन जीवनमा यस्तो एउटा यात्रामा चाहिने धैर्यता देखिन्थ्यो। यस्तो धेर्यता मैले केही साथीसहित वहाँसंग एडिनबरादेखि लन्डनसम्म लामो यात्रामा देखेको छु। थकानमा पनि शान्त, सौम्य, मृदु भाव।

म अहिले पनि वहाँको महाप्रस्थानलाई स्वीकार गर्न सकिरहेको छैन, सायद सत्य स्वीकार नगरेर धर पनि त पाइँदैन। त्यसैले म उनको आत्मामा सन्निकट पुग्ने आवाजमा भन्न चाहन्छु: अलविदा लुङ्गा!

डा. कृष्ण उपाध्याय

उपाध्याय राजनीतिक र मानवअधिकारका विषयहरुमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री