वीर लखन थापा : प्रथम विद्रोह र सहादत

लखन थापामगर

पृष्ठभूमिः
वि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)मा अत्यन्त निर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तान लखन थापाको हत्या गरिएको थियो । पक्राउ परेका उनका सहयोगी साथीहरूलाई गोली हानेर तथा जयसिङ्ग चुमीलाई रुखमा झुन्डाएर मारिएको थियो । अन्य सहोगीहरू ज्ञान दिलास र कालु लम्साललाई ब्राम्हण जातिका भएको हुँदा क्षमादान दिइयो । नेपालको राजनैतिक इतिहासमा पहिलो पटक प्रजातन्त्रको पक्षमा लखन थापाले पैरवी गरेका थिए । तत्कालीन प्रधानमन्त्री जङ्ग बहादुरको तानाशाही, एकतन्त्रीय, हुकुमी र निरकुंश शासन पद्धतिको विरुद्ध जनतामा जागरण, चेतना जगाउने, जनतालाई संगठित गर्ने तथा सशस्त्र जन विद्रोह गरेका थिए ।

सहिद घोषणाः
लामो अवधिको जनदबावमा १ सय २२ वर्ष पछि कप्तान लखन थापालाई नेपाल सरकारले २०५६ फागुन ११ गतेमा सहिद घोषणा गर्यो । त्यस पछि २०७२ असोज ३ गतेमा मन्त्रिपरिषदले नेपालको प्रजातान्त्रिक आन्दोलनको पहिलो सहादत प्राप्त गर्ने कप्तान लखन थापा हुन् भनेर विधिवत ऐतिहासिक निर्णय गर्यो । तै पनि आजसम्म उनलाई नेपालको राष्ट्रिय विभूतिको दर्जाप्रदान गरेर सम्मान प्रदान गर्न सकेको छैन । कारण लखन थापा आदिवसी जनजाति मगरको छोरा हुन् भनेर ?

टिप्पणीहरूः
केहि विद्वान इतिहासकारहरूले पुर्वाग्रहवश कप्तान लखन थापाको विद्रोह माथि हल्का र हास्यास्पद टिप्पणीहरू पनि गरेका छन् । जस्तो लखन थापाको विद्रोह “एक नयाँ र हास्यास्पद किसिमका विद्रोह बालचन्द्र” (बालचन्द्र शर्मा नेपालको ऐतिहासिक रुप रेखा, २०३३) तथा “एक लुच्चे मगरले श्री ३ महाराजधिराजमा दगा.. ” (नेपाल देशको इतिहास, २०३१) आदि । तर जङ्गबहादुरका साहिला छोरा पदम जङ्ग राणा (ई.सं. १९०९), बेल्पटन (ई.सं. १९८८) विक्रम गीत हसरत (वि.सं. २०२७) महेशचन्द्र रेग्मी (ई.सं. १९८०), पुरुषोतम शमशेर राणा (वि.सं. २०४७), आदि विद्वान इतिहासकारहरूका अनुसार नेपालको इतिहासमा पहिलो पटक लखन थापाले विद्रोह गरेका थिए । जङ्गबहादुरको आदेशमा उनको हत्या गरिएको थियो भनेर आ–आफ्ना पुस्तकमा उल्लेख गरेका छन् । यसरी इतिहासकारहरूमा लखन थापाको बारेमा सहमति देखिन्छ ।

युवावस्थाः
अधिकाशं विद्वान इतिहासकारहरूले लखन थापाको जन्म वि.सं. १८११ (ई.सं. १८३४)मा गोर्खा जिल्लाको बुङ्गकोट गा.वि.स. वडा नं. ४ काहुले भँगारमा भएको र त्यही नै उनलाई मृत्युदण्ड दिइएकोमा सहमति जनाउँदछन् । प्रारम्भिक शिक्षा भारतको अलमोडा शहरमा आफन्तको घरमा भएको पनि इतिहासकारहरूमा एकमत छ ।
लखन थापा आफ्नो बाला अवस्था देखि नै राष्ट्रभक्त, मुलुक प्रति बफादार, स्वतन्त्र र स्वाभिमानी स्वभावका थिए । अङ्ग्रेज सरकारको गोर्खा सेनाको सुख सुविधा सम्पन्न जागिरले उनलाई लोभ्याउन सकेन । आफ्नै मुलुकको पुरानो गोरखा गणमा विसं १९११ (ई.सं. १८५४) मा २० वर्षको उमेरमा भर्ना भए । सन् १८५७ को भारतीय सिपाही विद्रोहलाई दमन गर्न कमान्डर इन चीफ जंगबहादुर राणाको कमान्डमा गएको २५ वटा पल्टनमा उनी पनि सहभागी भएर लखनउ पुगेका थिए ।
नेपालको तिब्बत(भोट)सँगको युद्ध (वि.संं १९११) तथा भारतीय सिपाही विद्रोहलाई दमन (वि.सं. १९१४) गर्ने रणनीतिमा कौशलता एवं वीरताको प्रदर्शनले गर्दा गैर राणा सैनिकहरुलाई पदोन्नतिको बाटो खुलेको थियो । खसलाई क्षेत्री सरह र मगर गुरुङ्लाई कर्णेलको पद सम्म पदोन्नति गर्ने प्रावधान भयो । (रेग्मी १९७०) सोही अनुसार लखन थापामा युद्ध कुशलता, नेतृत्व क्षमता, संगठन गर्ने गुण, रण योजना तर्जुमा शीप तथा साहसिलो आँट लिनुका साथै युवराज त्रैलोक विक्रम शाहको आठ पहरिया अर्थात अंगरक्षकको बलियो आधारहरू थिए ।फलस्वरुप जागिरको छोटो अवधि र सानो उमेरमा नेपाली सेनाका कप्तान पदमा पदोन्नति प्राप्त गरेको किटान गर्न सकिन्छ ।

लखन थापाको विद्रोहका कारणहरूः
क) नेपालका तत्कालीन प्रधानमन्त्री जङ्ग बहादुर राणाको तानाशाही, निरुकुंश, हुकुमी तथा एकतन्त्रीय शासन तथा जनता माथि दमन, अत्याचार एंव अनन्यायबाट लखन थापा असन्तुष्ट थिए ।
खं) जङ्ग बहादुरले अंग्रेज सरकारलाई खुशी पार्न भारतीय प्रजातन्त्रका पक्षधर तथा स्वतन्त्र सेनानी माथि गरेको पशुवत व्यवहार, हिंसा, हत्या, लुटपाट र अत्याचार आफैले देखेका थिए । उनको अन्तरमनमा जङ्ग बहादुरको अन्यायलाई सधैका लागि समाप्त गर्न भारतीय स्वतन्त्र सेनानीहरूको आन्दोलनबाट प्रेरणा मिलेको देखिन्छ । तत्कालीन अँग्रेज शासकहरूसँग जङ्ग बहादुरको मिलेमतो पनि स्वतन्त्र तथा स्वाभिमानी लखन थापालाई स्वीकार थिएन । “मुलुक मलेच्छलाई बेच्यो भनेर नारा समेत गरे ।
ग) जङ्ग बहादुरले केही असन्तुष्ट ब्राम्हणहरूलाई खुशी पार्न लागु गरेको मुलुकी ऐन (वि.सं.१९१०)ले जनजाति आदिवसीहरूको सामाजिक स्तर तल झार्यो । लखन थापालाई असहय पीडाभयो । जङ्गबहादुले “मच्चाएको त्राहि त्राहिबाट जनतालाई मुक्ति दिलाउन तथा नेपालमा सतयुग फिराउन” अर्थात प्रजातन्त्र स्थापित गर्न केही सहयोगीहरूका साथ उनले दृद्द संकल्प गरे । प्रतिज्ञा गरे ।
घ) गोर्खाको बुङ्गकोटमा नेपाली सेनाका सेनापति धीर शमशेरसँग युद्ध भयो । गोलीगट्ठा र रासन पानीको आपुर्ती हुनसकेन । लखन थापाको पराजय भयो । तिब्बत(भोट)मा राजनीतिक शरण सजिलोसँग लिन सक्द थिए तर स्वाभिमानी राष्ट्र प्रेमी र राष्ट्रभक्त लखन थापालाई आफ्नै माटोमा बिलाउन र समाउन सहर्ष स्विकार थियो ।

लेखक त्रिलोकसिंह थापामगर

जङ्ग बहादुरको अन्तिम अवस्थाः
भनिन्छ वि.सं. १९३३ फागुन १ गतेको राति जङ्ग बहादुर बुङ्गकोटको नजीक आई पुगेका थिए । लखन थापाको ८ मिटरको उचाँइबाट हामफालेर धारिलो हतियारबाट जङ्ग बहादुर माथि प्रहार गरे । जङ्ग बहादुर घाइते भए । मृत्युदण्डको समयमा लखन थापाले घोषणा गरेका थिए, “मेरो मृत्युको १० दिनमा जङ्ग बहादुरको पनि अवसान हुनेछ ।” न भन्दै लखन थापाको हत्या भएपछि दशदिनमा जङ्ग बहादुरको पनि वि.सं. १९१३ फाल्गुन १३ गतेका दिन मृत्यु भयो । अनुत्तरित प्रश्न छ, के लखन थापाको धारिलो हतियारको प्रहारबाट घाइते भएका वा सेतो बाघको आक्रमणबाट वा पेटको रोगबाट जङ्ग बहादुरको मृत्यु भएको थियो? भनिन्छ उनको लाश पनि उनका भाईभरदार र आफन्तहरूलाई बुझाइएन । यो रहस्यमय घटना खोज र अनुसन्धानको विषय हो ।

जंग बहादुरको विरुद्ध अन्य विद्रोहहरूः
तत्कालीन प्रधानमन्त्री जङ्ग बहादुर राणाले छल, कपट, जाल झेल तथा षड्यन्त्र गरेर सत्ता प्राप्त गरेका थिए फलस्वरुप उनको उदय हुनुका साथै उनको विरुद्ध दर्वारिया षड्यन्त्र पनि शुरु भै सकेको थियो । पारिवारिक, व्यक्तिगत र आवेशमा आएर आदिवासी जनजातिका केही युवाहरू समेतले जङ्ग बहादुर राणाको हत्या गर्ने असफल प्रयास गरेका थिए ।
लखन थापाको विद्रोह तानाशाही, एकतन्त्रीय शासन तथा अधिनायवादी शासन प्रणालीको विरुद्ध पहिलो जनयुद्ध र जनक्रान्ति थियो । जङ्ग बहादुर राणाको अत्याचार, दमन, निर्मम हत्या र कठोर मृत्युदण्डको सजाय पाउने पनि पहिलो जननेता लखन थापा नै थिए । अतः राज्यले निम्न लिखित सुझावहरू प्राथामिकताको आधारमा कार्यान्वयन गर्नु गराउनु उपयुक्त हनेछ ।

सुझावहरूः
१) इतिहासकार र विद्वानहरूको दल गठन गरेर उनको योगदानको विषयमा विस्तृत अध्ययन अनुसन्धान एंव खोज गरिनु पर्दछ ।
२) उनले निमार्ण गरेका किल्ला, मन्दिर र अरु भवनहरू जस्ताको त्यस्तै निर्माण गर्ने तथा त्यसबेलाका सम्पूर्ण सामग्रीहरूको प्रदर्शन गर्न लगाउनका लागि म्युजियम स्थापना गरिनु पर्दछ ।
३) लखन थापाको जीवन र मगर समाजको विषयमा डकुमेन्ट्री तयार गरी नियमित प्रर्दशन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
४) वि.सं २००७ सालको प्रजातान्त्रिक आन्दोलन, पहिलो र दास्रो जनआन्दोलन र १० वर्षीय जनयुद्धमा सहादत प्राप्त गरेका सम्पूर्ण मगरहरूको सालिक क्रमशः बुङ्गकोट किल्लाको परिसरमा स्थापना गर्नु पर्दछ ।
५) पर्यटकीय मगर गाउँ विकास प्रर्वद्धनका लागि बुङ्गकोट परिसरमा “मगर पर्यटक गाउँ” विकसित गर्ने र स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने । घले राजाको लिग लिग दौड प्रतियोगिताको दोश्रो दिन लखन थापाको जनयुद्ध र बाँसको पिञ्जराको प्रदर्शन बुङ्गकोट गाउँमा आयोजन गर्ने व्यस्था मिलाउनु पर्दछ । यसरी मगर सँस्कृति पर्यटनको प्रवद्धन स्वदेशी विदेशी पर्यटकहरूलाई अवलोकन गर्ने गराउने ।
६) बुङ्गकोट देखि विभिन्न मगर गाउँमा “मगर यात्रा” पर्यटकीय भ्रमणको व्यवस्था गरेर आन्तरिक एंव अर्नराष्ट्रिय प्रर्यटन प्रर्वद्धन योजना लागुगर्ने । यस प्रकारले मगर तथा मगरातको ऐतिहासिक सँस्कृति र सामाजिक जीवनको जानकारी विदेशी तथा स्वदेशी पर्यटकहरूलाई दिनुपर्ने ।
निर्क्योलः
नेपालको राजनैतिक इतिहासमा पहिलो पटक प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको बिउ रोप्ने तथा जग बसाल्ने प्रथम शहीद कप्तान लखन थापा मगर कुनै एउटा जाति, समुदाय तथा समाजका प्रतिनिधि होइनन् । उनि सम्पूर्ण नेपाली तथा सिँगो राष्ट्रका प्रतीक, आदर्श व्यक्तित्व तथा प्रतिनिधि हुन् ।
उनको प्रतिमा र शालिकको उपयुक्त ठाउँ काठमान्डौको शहीद गेट हो । उनलाई राष्ट्रिय सम्मान प्रदान गर्नका लागि गोरखको बुङ्गकोट गाउँको परिसरमा सात तल्ले किल्लाको पुर्ननिमाण र जिर्णोधार कार्य गर्नुपर्ने हो । लखन थापाले आरम्भ गरेको प्रजातन्त्रको युद्ध २००७ सालमा समाप्त भयो । अतः उनको निस्वार्थ त्याग, तपस्या तथा प्रजातन्त्र स्थापनाका लागि गरिएको बलिदानको कदर गर्नका लागि उनलाई विधिवत राष्ट्रिय विभूति घोषणा गर्नु हो । के राज्य र राष्ट्रले यस विषयमा गम्भीरता साथ ध्यान दिनेछ ?

[email protected]

त्रिलोकसिंह थापामगर

नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री