एनआरएनए आइसीसी सदस्य ‘पद स्थगित गरिदिन अनुरोध गर्नेछु : भक्त गुरुङ


लन्डन । नेकपा (ओली समूह) निकट प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष भक्त गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)मा मनोनित केन्द्रीय सदस्य पद होल्डमा राखिएको बताएका छन्। राजनीतिक दलको भातृ संगठनमा आवद्ध भएपछि राजीनामा नदिई उनले उनले होल्डमा राखेका हुन् । नेकपा ओली समूह निकट मंचको पहिलो पत्रकार सम्मेलनमा गुरुङले पार्टीका कामले गर्दा एनआरएनए सदस्य पद होल्डमा राख्नु परेको बताएका छन् ।
‘आफूले अब एनआरएनएमा समय दिन नपाउने भएकाले आफ्नो सदस्यता स्थगित गरिदिन अनुरोध गर्नेछु’, उनले भने ।

संघको विधानमा आइसीसी पद होल्डमा राख्ने कुनै प्रावधान छैन । यसअघि राजनीति संगठनको कार्यकारी पदमा बसेको व्यक्तिलाई एनआरएनएबाट हटाउने भन्दै संघ महासचिव डा. हेमराज शर्माले करीब ८ महिनाअघि सबैलाई एनआरएनए वा दल रोज्न कडा निर्देशन जारी गरेका थिए । हाल उनी यस बिषयमा मौन छन् ।

आइतबार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नेपालमा आगामी वैशाखमा तोकिएको मितिमै चुनाव हुने र चुनावले नै अहिलेको संकटबाट देशलाई निकास दिने विश्वास व्यक्त गरे। अदालतको फैसला सबैले मान्नु पर्ने बताउँदै अदालतले पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई नै सही ठहर्याउने आफूहरुको विश्वास रहेको बताए। एक प्रश्नको जवाफमा गुरुङले आफ्नो संगठन नेपालको कुनै दलको भ्रातृ संस्था नभएको तर प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सपनाबाट आफूहरु अभिप्रेरित भएको बताए।

नेपालमा नेकपा विभाजित भएपछि उक्त दल निकट प्रवासी नेपाली एकता मंच युके पनि विभाजित भएको छ।

कार्यक्रममा गुरुङले १२५ सदस्यीय कार्य समितिको घोषणा गरेका थिए। स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष तुङ्गभद्र भुषालले गत ७ फेब्रुअरीमा बसेको बृहत् भेलाले मंचको पुनर्गठन गरेको जनाए। कार्यक्रममा तत्कालिन प्रवासी नेपाली मंच युकेका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थपलिया, पूर्व अध्यक्षहरु आङकल्जङ लामा, दिनेश घिमिरे र रामशरण सिम्खडाले पनि उठेका प्रश्नहरुको जवाफ दिएका थिए।

यस अघि शनिबार बेलुका एक छुट्टै पत्रकार सम्मेलन गरी नेकपाको प्रचण्ड माधव नेपाल समूह नजिक प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले आफूहरु नै आधिकारिक संगठन भएको जनाएका थिए। उनले भक्त गुरुङलाई संस्थाको साधारण सदस्यबाट समेत निस्काशित गर्न सिफारिस गरिएको जनाएका थिए।

तर गुरुङले त्यस्तो सिफारिसको कुनै अर्थ नरहने बताए। कार्यक्रमको संचालन संस्थाका महासचिव सुरेशजंग शाहले गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री