३-४ बर्ष अघि मेरो स्वास्थ्यमा सामान्य समस्या आयो । मैले म रजिष्टर भएको जिपीमा गएर जचाउने निर्णय गरे । जिपीमा फोन गरे । दुई दिन पछि जिपीका डाक्टरले मलाई समय दिनुभयो । डाक्टरले मेरो स्वास्थ्य अवस्था चेक जाँच गर्दा मेरो शरीरमा प्रेसर, ग्लुकोज र कोलस्ट्रोलको मात्रा मेरो शरीरलाई चाहिने भन्दा निकै बढी रहेको प्रारम्भिक रिपोर्ट दिनु भयो । उमेर धेरै नभएको मलाई हेर्दा स्वस्थ्य नै भएको लाग्दथ्यो । खासगरी एशियन समुदायले खाने खानामा कार्बोहाईड्रेड र फ्याटको मात्रा बढी हुने भन्दै, खानामा कन्ट्रोल गर्ने वा उमालेर मात्र खाने भन्दै २-३ थरी औषधी खान सुझाए। डाक्टरको सल्लाहले मेरो दिमाग घनचक्कर जस्तै घुम्न थाल्यो । अचानक म एक रोगले ग्रस्त हुन लागेको मानिसको रुपमा आफैलाई पाए । त्यो दिन सोचमा डुव्दा डुव्दै स्वस्थ्य र तदुरुस्त शरीर बनाउन उपायहरु बारेमा एउटा निष्कर्षमा पुगे । अव म शारीरिक व्यायम गर्छु । अर्थात दैनिक दौडिन सुरु गर्छु ।
डाक्टरले दिएको प्रिस्किप्सनलाई डस्बिनमा फाल्दै विहान, दिउँसो वा बेलुका जति बेला समय हुन्छ त्यति बेला दौडिने अभियानमा म लागे । यसका मेरो श्रीमतिले पनि साथ दिइन । सुरुका केही दिन दौडन मलाई निकै गाह्रो भयो । औषधी नै खाएर घरमै बसौ कि जस्तो पनि लाग्यो । एक मनले भन्यो, नेपाली समुदायकै धेरै मानिस प्रेसरकै औषधी खाएर घरमै आराम गरिरहेका छन । अर्को मनले भन्यो, मेरो अठोटमा म अडिग रहनु पर्छ । दौडनै पर्छ र स्वस्थ्य हुनुपर्छ ।
सुरुवाती समयमा बाहिरी बाताबरणमा दौडन अल्छी र लाज लागेर जिम पनि सुरु गरे केही समय, तर बडि बिल्डिङमा आफ्नो रुचि नभएको तर सामान्य ब्यायामको लागी जिममा गएर गरेको ब्यायाम भन्दा आफ्नो फुर्सदको समयमा दौडनुमा मजा आउन थाल्यो र स्वास्थ्यमै पनि बिस्तारै निकै सुधार आउन थालेको अनुभब हुनथाल्यो । त्यसपछी आजसम्म फुर्सदको समयमा कम्तिमा आधा घण्टा देखी १वा डेढ घण्टा दौडने गर्छु फलस्वरुप पुन डाक्टरको जान परेको छैन।
ति दिनहरु बेला बेलामा सम्झन्छु, सुरुसुरुमा दौडनको लागी भनेर बाहिर निस्कन निकै गार्हो हुने वा अल्छी लाग्ने हुन्थ्यो, बास्तबमा यो सुरुवाती समयमा सबैलाई हुने गर्छ तर जब दौडबाट हुने फाईदाको बारेमा जानकारी वा आफैलाई महसुस हुन्छ त्यसपछी शरिर आफैले बाहीर लैजान्छ जस्तै अहिले मलाई कामबाट बिदा भएको दिन कुनै कारणबस दौडिन नगएमा ठुलै गल्ति गरेको जस्तो अनुभब हुन्छ । दौडने बानी पर्न थाल्यो, दौडिएपछि आफ्नो शरिर एकदमै स्वस्थ्य, स्फूर्त र तन्दुरुस्त भएको वा अझै भन्नुपर्दा आफ्नो उमेर नै साबिकभन्दा जवान भएको अनुभव गर्न थाले ।
नियमित दौडने बानी बसालेमा ह्दयघात, मधुमेह, ब्लड प्रेसर जस्तो रोगहरुबाट सुरक्षित हुनको साथै मानसिक तनाब तथा नकरात्मक सोचहरुबाट मुक्ति मिल्छ र रातमा मिठो निन्द्रा लाग्ने गरेका अनुभव मैले आफैले गरे । दौडले शरिरको अन्य तन्तुहरुको बिकासमा राम्रो सहयोग मिलेको र स्वस्थ रहेको अनुभव गर्न थालेको छु । मेरो बुझाईमा दौड़ एक पूर्णरुपमा प्राकृतिक र अर्गानिक ब्यायाम हो जसबाट सम्पूर्ण अंगको ब्यायाम हुन्छ । जसको लागी न त कुनै स्रोत वा साधनको आबस्यकता पर्छ, त्यसैले स्वस्थ्य रहने ईच्छा छ भने आजैबाट दौडन सुरु गर्नुहोस् जसको लागी केही चाहिन्न मात्र खुट्टामा कम्फर्टेबल जुत्ता र मनमा जॉंगर भए हुन्छ भन्ने मेरो सुझाब छ ।
हामी सबैले आफू सम्बन्ध रहेको साथीभाई वा संस्था सबैमा स्वस्थ जीवनको लागी ध्यान, योगा र अन्य ब्यायाम जस्तै हिड्न वा दौडन समय दिनको लागी प्रेरणा दिन सकियो भने शारीरिक तथा मानसिक स्वस्थमा निकै महत्वपूर्ण परिबर्तन हुनेछ भन्ने मेरो दृढ विश्वास छ । विज्ञानले पनि यसलाई प्रमाणित गरिसकेको छ ।
यसै मान्यतालाई अंगिकार गर्दै अहिले डार्टफोर्ड नेपाली समाजले यों कोरोना संक्रमणको डर त्रासका वावजुद पनि डार्टफोर्डमा बसोबास गर्नुहुने नेपाली समुदायबिच यहि फेब्रुवरी १५ देखी हरेक महिना भर्चुअल वाक एण्ड रन च्यालेन्ज गर्दैछ। जसमा दौडने बानी नभएका पुरुष र महिला दुई समुहमा वाकिड च्यालेन्ज र दौडनेहरुको लागी एकै समुहमा भर्चुअल रन च्यालेन्जको प्रतियोगिता गराईरहेको छ र हौसला बढाउनको लागी पुरस्कारको पनि ब्यवस्था गरेको छ।
यस प्रतियोगितालाई डिएनसि को पूर्व कार्यसमितिका पदाधिकारीहरुद्वारा राम्रो कामको सुरुवात भएको भन्दै खुशी तथा धन्यबाद ब्यक्त गर्दै प्रतियोगितामा पनि भाग लिनुभएको छ। अहिलेसम्मको उपस्थिति उल्लेखनीय रहेको र अझै पनि बढ्नेछ।
प्रतियोगीहरुले आफ्नो नाम र भाग लिन चाहेको प्रतियोगिताको समुह डिएनसिको भाईबर मार्फत जानकारी गराएर फुर्सदको समयमा कुनैपनि बेला आफुले हिडेको वा दौडेको क्रियाकलापलाई स्ट्राभा एपमार्फत रेकर्ड गरि यस प्रतियोगितामा भाग लिन सक्नेछन् । हरेक समुहको प्रतियोगीहरु मध्येवाट महिनाभरिमा सबैभन्दा धेरै कूल दुरी हाइयस्ट डिस्ट्यान्स पार गर्ने एकरएक प्रतियोगीलाई हौसला स्वरुप सामान्य पुरस्कारको ब्यवस्था गरिएको छ।