‘भिसी कुलवीर थापाको शालिक बनाउने मौका पाउँदा गौरव लागेको छ’

भिसी कुलवीर थापाको बन्दै गरेको शालिकका साथ मूर्तिकार एमी गुडम्यान । तस्वीर ग्राहम लार्टर

एमी गुडम्यान अवार्ड विजेता बेलायती मूर्तिकार हुनुहुन्छ । २३ वर्ष यता मूर्ति बनाउँदै आएकी उहाँले धेरैवटा एकल प्रदर्शनी गरिसक्नुभएको छ र उहाँले बनाउनु भएका मूर्तिहरु बेलायतका धेरै स्थानमा राखिएका छन् । अल्डरसटको प्रिन्सेस गार्डेनमा राख्न लागिएको पहिलो भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक बनाउने जिम्मा पनि उहाँले पाउनुभएको छ । प्रस्तुत छ यसै सन्दर्भमा  वीनेपाली डटकमका लागि नरेश खपाङ्गीमगरले उहाँसित गरिएको कुराकानीः

तपाईलाई भिसी कुलवीर थापाको शालिक बनाउनका लागि कसरी सम्पर्क गरियो ?
सन् २०१९ मा अल्डरसटको प्रिन्सेस गार्डेनमा प्यारासुट रेजिमेण्टको एयरबोर्न सोल्जरको शालिक मैले बनाएको थिएँ । त्यो शालिक प्रतिस्थापित भएकै बेला मलाई ग्रेटर रसमुर नेपाली कम्युनिटीबाट इमेल आएको थियो । उहाँहरुले मलाई सोही पार्कमा राखिने प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको शालिकका लागि छलफल गर्न अल्डरसटमा बोलाउनुभएको थियो । गोरखा सैनिक समुदायसित काम गर्न पाउँदा म उत्साहित थिएँ । किनभने उनीहरु बेलायती सैन्यमा दुईसय वर्षदेखि वफादारीपूर्वक कार्यरत छन् । यसरी ऐतिहासिक र महत्वपूर्ण कार्यमा सरिक हुन पाउँदा अति खुशी र सम्मानित भएको महसुस भयो साथसाथै चुनौतीपूर्ण पनि ।

मलाई लाग्छ यहाँले यसअघि नेपालीको प्रतिमा बनाउनु भएको थिएन । यस्तो पृष्ठभूमिमा उहाँहरुको प्रस्ताव तपाईलाई चुनौतीपूर्ण लाग्यो वा अरु कार्य जस्तैगरी लिनुभयो ?
म कुनै पनि कामलाई सजिलोसँग लिदिनँ । किनभने हरेक कामले मलाई मेरो वशको क्षेत्रभन्दा पर धकेल्ने गर्छ । म हरेक कार्यलाई आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्छु । भिसी कुलवीर थापाको काममा धेरै चुनौतीहरु थिए । पहिलो त उहाँको अनुहारको भावभंगीमा ल्याउन निक्कै गाह्रो थियो । कारण उहाँको जम्माजम्मी दुईवटा फोटो मात्र पाएको थिएँ । पहिलो, जतिबेला उहाँले भिक्टोरिया क्रस पाउनु भयो त्यतिबेलाको थियो । जहाँ उहाँ प्रशन्न मुद्रामा हुनुहुन्थ्यो । अर्को फोटो ग्रेटर रसमुर नेपाली कम्युनिटीले उपलब्ध गराएको थियो । ती दुई फोटो २० वर्षको फरकमा खिचिएका थिए । मानिसको वास्तविक आकारभन्दा १२ प्रतिशत ठूलो त्रिआयामिक डम्मी बनाउन चुनौतीपूर्ण थियो । ती फोटोहरुबाट उनको अनुहारको सार सम्म पुग्न निक्कै गाह्रो भएको थियो । ग्रेटर रसमुर नेपाली कम्युनिटीका पाँच सदस्सीय आएर मेरो काम हेरेर सन्तुष्ट नहुञ्जेल म सन्तुष्ट हुन सकिनँ । उहाँहरु फर्केर गएपछि पनि मैले अझै राम्रो बनाउन केही सुधारहरु गरेँ । कुलवीर थापाले २५ सेप्टेम्बर १९१५ मा लेस्टरसायर रेजिमेण्टका सैनिकलाई उद्धार गरेका थिए । उनी आफैँ पनि त्यतिबेला घाइते भएका थिए । लेस्टरसायर रेजिमेण्टका सैनिकलाई उद्धार गर्नुअघि नै अर्का एक गोरखालाई पनि उद्धार गरेका थिए । अनुहारमा त्यो वीरता ल्याउन सजिलो थिएन । फेरि शालिक भनेको सबैतिरबाट हेर्दा देखिने हुनुपर्छ । दुईवटा व्यक्ति भएको शालिक त्यसरी राख्न झनै चुनौतीपूर्ण हुन्छ । त्यसैले पटकपटक त्यो ठाउँमा जाने नाप्ने गरेँ । यसरी मसित भएका सामग्रीहरु, फोटोहरु सबैकुरा मिलाउनु पर्यो । भाग्यवश गोरखा म्यूजियमले मलाई तीनवटा फोटो दिएको थियो तर पहिलो विश्वयुद्धको पोशाक दिन मानेन । त्यसैले मैले पुरानो फोटोको सहारा लिनुपर्यो ।

कुलवीर थापाले पहिलो विश्वयुद्धमा भिसी पाउनुभयो । त्यो एकसय वर्षभन्दा पनि अगाडीको कुरा थियो । धेरै पहिलेको कुरा थियो । त्यतिबेलाको सन्दर्भलाई उतार्न कसरी अनुसन्धान गर्नुभयो ।
महामारी शुरु हुनुअघि म क्यामेरा लिएर गोरखा म्यूजियम विन्चेष्टर गएको थिएँ । त्यहाँ प्रथम विश्वयुद्धका सामग्रीमा मेरो ध्यान थियो । म धेरैभन्दा धेरै सामग्री जम्मा गर्न चाहन्थें खासगरी पहिलो विश्वयुद्धको । सन् १९१५ तिरका । अनलाइन पनि एक महत्वपूर्ण स्रोत बन्यो । दुईजना सैनिकहरुले कुशलतापूर्वक मेरो मोडल बनिदिए । मैले धेरै किसिमको फोटोहरु छानेँ जसबाट सम्भावित प्रतिमा बनाउन सहयोग गरोस् । अन्त्यमा घाइते साथीलाई उद्धार गरिरहेको फोटो छानियो । यस योजनामा पहिले स्रोत सामग्री जम्मा गर्ने, त्यसपछि स्केच गर्ने, शुरुमा एकजनाको र पछि दुईजनाको गरियो । यहाँनिर बजेटको पनि ख्याल राख्नुपर्ने हुन्छ । कम्युनिटीले कोष संकलन गरिरहेको थियो । दुईवटा प्रतिमा बनाउनुपर्ने भएकाले खर्च धान्नसक्ने पनि हुनपथ्र्यो । साथै दुईजना सैनिकहरुले फरकफरक इतिहासका कथा भनिरहेका थिए । त्यो सन्देश पनि प्रवाह हुनुपथ्र्यो । समग्रमा यस्ता धेरै कुरामा ध्यान दिनुपरेको थियो ।

कुलवीर थापाको दुई तस्वीरलाई मिसाएर बनाइएको तत्कालिक अवस्थाको चित्रण गर्ने अनुहार । तस्वीर एमी गुडम्यान

अहिलेसम्ममा सो शालिक निर्माणमा कति प्रगति भएको छ ?
सानो स्केच स्वीकृत भएपछि गत अगष्टमा भित्र अड्याउने सामग्रीलाई वेल्डिङ गर्न शुरु गरेँ । यो शालिक सो गार्डेनमा रहेको एयर बोर्न सोल्जरकै आकारमा हुनेछ । यसमा ३५० किलो माटो हुनेछ दुवै सैनिकको वजन गरेर । त्यसैले मैले बलियोसँग जोड्नु पर्ने हुन्छ । भित्रबाट अन्यन्तै बलियो र सुरक्षित बनाएको छु । सानो मोडलबाट ठूलो बनाउँदा मैले कुलवीरलाई अगाडीतिर केही झुकेको बनाएँ । किनकि यसले त्यतिबेला उनले गरिरहेको संघर्षलाई जनाउँथ्यो । उनी आफैँ घाइते थिए र अर्का नराम्ररी घाइते सैनिकलाई उद्धार गरिरहेका थिए । कुलवीरको शक्ति र सामथ्र्य पनि यहाँ राम्ररी झल्किनु पथ्र्यो । माटोको मूर्ति बनाउन साढे चार महिना लाग्यो । यस्ता काममा निरन्तर लागिरहने हुँदैन । केही समय विश्राम लिएर नयाँ सोचका साथ पुनः काम गर्नपर्ने हुन्छ । यसबाट नयाँ कोणबाट हेर्न र केही सुधार गर्न सहयोग पुग्छ । गत सातादेखि माटोलाई ढाक्न शुरु भएको छ । अहिले मैले रबरले ढाकेको छु । माटोको नकारात्मक इम्प्रेसनलाई अहिले हटाइँदैछ । केही समयपछि माटोको मूर्तिबाट रबर हटाइनेछ । अर्को चरणमा तरल मैन राखिनेछ । त्यसपछि तामाले ढाकिनेछ । शालिक तयार गर्न अझै करिब चार महिना लाग्न सक्छ ।

आगामी सेप्टेम्बरमा सो सालिक प्रतिस्थापन गर्ने कार्यक्रम रहेको मैले बुझेको छु । के तपाईसित शालिक सम्पन्न गर्न प्रशस्त समय छ ?
हामीसित चाहिनेभन्दा प्रशस्त समय छ । खुशीको कुरा ग्रेटर रसमुर कम्यनिटी अत्यन्तै व्यवस्थित छ । हरेक कुराको समयतालिका छ । प्रोजेक्टको अनुमति लिनेदेखि लिएर कोष संकलन गर्ने हरेक कार्य समयमा गरिरहनुभएको छ । मैले मात्र होइन धेरैजनाले यस परियोजनालाई समयमै सफल पार्नका लागि काम गरिरहनुभएको छ ।

तपाईलाई भविष्यमा यो शालिक र शालिक रहेको ठाउँ परिचित होला ?
सर्वप्रथम त यो शालिकका लागि सहयोग गर्नुभएका दाताहरुलाई धन्यवाद दिन्छु । उहाँहरुको सहयोग अमूल्य छ र उहाँहरुको नाम पनि शालिकसँगै रहनेछ । मेरो विचारमा यो शालिक र यसको परिसर नेपाली मात्र नभई अरु समुदायका लागि पनि एउटा सम्झना योग्य स्थान हुनेछ । हामी सबै सहकार्य गर्न र सँगै बाँच्न पर्ने हुन्छ । यस्तो महत्वपूर्ण कार्यमा सहभागी हुन पाएकोमा मैले गौरव अनुभूति गरेको छु । ऐतिहासिक सामग्री राम्रो सन्दर्भमा प्रस्तुत भएकाले आउने पुस्ताले यसबाट धेरै कुरा सिक्न सक्छ ।

शालिक निर्माणका लागि छानिँदा र अहिलेसम्म आउँदा कस्तो अनुभूति भएको छ ?
पेशागत रुपमा अन्यन्तै चुनौतीपूर्ण रह्यो । मसित कुनै सन्दर्भ सामग्रीहरु थिएनन् । त्यसैले मैले गहिरो खोज गर्नुपर्यो । कतिपय बेला अन्तिम समयमा आएर पनि परिवर्तन गर्नुपर्यो । किनकि म भइरहेको अवस्थाबाट खुशी थिइनँ । म यदि त्यसले राम्रो परिणाम दिन्छ भने अन्तिम समयमै किन नहोस् परिवर्तन गर्न असजिलो मान्दिनँ । म शालिक निर्माणका हरेक चरणको फोटो लिन्छु । अनि शालिकमा काम नगरेको बखतमा त्यो फोटो हेरेर यसलाई कसरी राम्रो बनाउने भनेर सोच्छु । अहिलेसम्म मैले धेरै वटा सैनिकसम्बन्धी काम गरिसकेँ र म हरेकलाई कसरी विशेष बनाउने भनेर सोच्छु । समग्रमा कुलवीर थापाको शालिक बनाउनु मेरा लागि चुनौतीपूर्ण थियो तर म जबसम्म यो शालिक सफलतापूर्वक प्रतिस्थापित हुँदैन र मेरा ग्राहक ग्रेटर रसमुर नेपाली कम्युनिटी खुशी हुँदैन तबसम्म शान्तिसँग बस्न सक्दिनँ ।

शालिक निर्माणका क्रममा धेरैपटक गोरखाहरुसित सम्पर्क भयो । धेरै साहित्य पनि अध्ययन गर्नुभयो । गोरखाहरुप्रति तपाईको के धारणा छ ?
गोरखाहरु सधैँ उनीहरुको वफादारिता, बहादुरिता, व्यावसायिकता र समर्पणका लागि सुपरिचित छन् । कसैले पनि गोरखाहरुसित शत्रुता चाहँदैन । मैले गोरखाहरुसित काम गरेका धेरै सैनिकहरु भेटेको छु । यो शालिक निर्माणको शुरुवातको कोष संकलनमा म पनि नेपाली रेष्टुरेन्टमा गएको थिएँ । उहाँहरुले हार्दिकताकासाथ स्वागत र सत्कार गर्नुभएको थियो । यो शालिक बनाउँदा गोरखाबाहेक पनि धेरै मानिसहरुसित कुराकानी र भेट भयो । समग्रमा सबैको गोरखाहरुप्रति अत्यन्तै उच्च सम्मान पाएँ । अर्को कुरा जहिले पनि ग्रेटर रसमुर नेपाली कम्युनिटीसित बैठक हुन्छ त्यहाँ हरेकलाई आफ्नो कुरा राख्न मौका दिइन्छ । यो शैली मलाई मन पर्यो ।

भिसीको शालिकमा काम गर्दै एमी । तस्वीर एमी गुडम्यान

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री