प्रवासी नेपाली एकता मञ्चका नेताहरुलाई प्रशिक्षण


लण्डन ।प्रवासी नेपाली एकता मञ्च युके वैचारिक अनुसन्धान विभागद्वारा नेकपा एमाले समर्थित प्रवासमा रहेका नेताहरुलाई तथा कार्यकर्तालाई नेपालको समसामायिक राजनीति तथा जनताको बहुदलीय जनवाद र मार्क्सवादी दृष्टिकोणवाट ,समृद्ध नेपाल सुखी नेपाली,को बारेमा प्रशिक्षण दिइएको छ । मंच युके अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा आइतबार जुम मार्फत भर्चुअल रुपमा भएको कार्यक्रममा नेकपा एमालेका नेताहरु राजेन्द्र गौतम, रामबहादुर राउत र बालकृष्ण भुसालले प्रशिक्षण दिएका हुन ।

नेकपा (एमाले)का सांसद तथा केन्द्रीय नेता राजेन्द्र गौतमले प्रमुख अतिथिका रुपमा बोल्दै मार्क्सवाद र लेनिनबादमा आधारित एमालेको पाँचौ महाधिवेशनबाट स्वर्गीय जननेता मदन कुमार भण्डारीले प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवादको बारेमा बिस्तृत व्याख्या गरे । उनले जुन पार्टीको छैठौं महाधिवेशनबाट मार्गनिर्देशक सिद्दान्तको रूपमा पास भएको बताए । गत २०७४ मा नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रको एकिकरण सैदान्तिक र वैचारिक जग अत्यन्तै कमजोर रहनुका बताउदै उनले पार्टीको हितलाई केन्द्रमा राखेर सरकारलाई निती निर्देशन र सहयोगको सट्टा बिशेषत उच्च नेतृत्व आफूअनुकुलका स्वार्थमा लिप्त हुँदा पार्टी भित्र गम्भीर संकट पैदा भई झन्डै दुई तिहाईको संसद बिघटन गर्न बाध्य भएको तथ्य प्रस्टाएका थिए । सर्वोच्च अदालतबाट प्रतिनिधी सभाको पुनर्बहाली पश्चात पुनः फाल्गुण २३ को फैसलाले तत्कालीन् नेकपा एमाले र नेकपा माओवादीलाई बिउँताए पनि लामो समय देखि नेकपा एक हुँदाको मतभेद नेकपा एमाले भित्र सरेकाले यसको एकतामा संकट कायमै रहेको अबगत गराए।तथापी पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओलीले गुट र समुहलाई कुनै पनि हालतमा मान्यता नदिई गुटलाई सँधैका लागि अन्त्य गर्ने चट्टानी अडान लिएको उनको दावी छ ।

नेता गौतमले राज्यसत्ता जनताको अभिमतबाट र पार्टीको नेतृत्व कार्यकर्ताहरूको अभिमतबाट मात्रै बैधानिक तवरले प्राप्त गर्नु पर्दछ भन्ने मुख्य सिद्दान्त रहेकोले कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भन्ने आरोपलाई जनताको बहुदलीय जनवादले सहजै परास्त गरेको बताए । नेता गौतमले भारत र चीनको वीचमा राष्ट्रिय स्वाधिनता बचाउदै आत्मानिर्भर तर्फ जाने जनताको बहुदलीय जनवादको मुख्य रणनीति रहेको जानकारी दिए ।
एमालेका केन्द्रिय नेता राम बहादुर राउतले ओली सरकारले योजना आयोग मार्फत बिभिन्न ३४ वटा समृद्धिका र २१ वटा सुखका सुचांकहरूको छनोट गरि अघि बढिरहेको बताए ।
कार्यक्रमको संचालन बिभागका संयोजक बालकृष्ण भुसाल भने प्रशिक्षणमा सहभागी कार्यकर्तालाई महासचिव सुरेश जंग शाहले स्वागत गरेका थिए । प्रशिक्षणको संलेषणसहित मञ्च युकेका सल्लाहकारहरु कर्ण शाही र दिनेश घिमिरेले टिप्पणी प्रस्तुत गरेका थिए । प्रशिक्षणमा प्रवासमा रहेका मंचका अध्यक्ष तथा नेताहरु सहभागी थिए । जसमा कतार, आयरल्याण्ड,अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरब, पोर्चुगल, मलेसिया, फ्रान्सलगायत १ सय ५० भन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री