अदालतमा पुग्यो एनआरएनए युकेको मुद्दा

लण्डन । गैरआवासी नेपाली संघ (एनआरएनए) युके आर्थिक घोटाला छानविन विवाद औपचारिक रुपमा बेलायतको अदालतभित्र प्रवेश गरेको छ । एनआरएनए युके कार्यसमितिको बहुमतले गठन गरेको आर्थिक छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेको एक साता नबित्दै चार उपाध्यक्षहरुले जारी राखेको कानुनी लडाई अदालत भित्र प्रवेश गरेको हो ।
एनआरएनए युकेका उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, नारायण कंडेल, पुर्वउपाध्यक्ष शेर सुनार र इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष लालवहादुर गुरुङले संस्था भित्र भएका आर्थिक अनियमितताको छानविन गर्न कानुनी प्रक्रिया अघि बढाएका थिए । उनीहरुकै उजुरीका आधारमा ७ अप्रिलमा काउन्टी कोर्टमा आर्थिक अनियमितताको मुद्दा दर्ता भएको एनआरएनए युके उच्च स्रोतले वीनेपालीलाई जानकारी दिएको छ । आर्थिक मुद्दा अदालतमा औपचारिक प्रवेश गरेपछि अध्यक्ष पुनम गुरुङले कार्यसमितिको बैठक चाडै बोलाउने जानकारी सदस्यहरुलाई दिइएकी छिन ।
संस्थापन पक्षले पनि चार उपाध्यक्षहरुका विरुद्ध कानुनी लडाईका लागि ग्रीनवीच सोलिसिर्टस सँग परामर्श गर्ने जिम्मा अध्यक्ष पुनम गुरुङलाई दिएको थियो । दुवै पक्षवीच कानुनी प्रक्रिया अघि बढदै जादा चारै जनालाई स्पष्टीकरण सोधिएको थियो ।
यसअघि बसेको कार्यसमिति बैठकमा चार उपाध्यक्षहरुसहित ६ जनाले संस्थापन पक्षले विधान विपरीत तीन सदस्यीय संस्था भित्रको आर्थिक छानविन गर्न समिति गठन गरेको भन्दै गहामगर र कंडेलले फरक मत दर्ज गराएका थिए । संस्थापन पक्षले बहुमतका आधारमा गठन गरेको एनआरएनए युके आर्थिक अनियमितता छानविन समितिले समेत संस्थाभित्र आर्थिक अपचलन भएको स्वीकार गरेको थियो । चार उपाध्यक्षका असहमतिका बावजुद गठन गरिएको समितिले व्यक्तिको नाम किटान नगरेपनि संस्था भित्र आर्थिक अनियमितता देखिएको ठहरसहितको प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

समितिमा चार्टर एकाउन्टेन्ट एलएन पाण्डे संयोजक, डा. मुकुन्द बास्तोला र बुद्धि गुरुङ सदस्य छन । उक्त प्रतिवेदनले मुख्य दोषीका रुपमा स्पष्ट रुपमामा कसैलाई किटान नगरि गोलमटोल जवाफ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री